नेभिगेशन
राजनीति

एमालेद्वारा निर्वाचन सुरक्षाप्रति चिन्ता व्यक्त, झण्डा जलाएकोमा आपत्ति

काठमाडौं । नेकपा एमालेले  प्रतिनिधि सभा निर्वाचनको वातावरण सन्त्रासमय बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । सरकारले शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउन नसकेको र विपक्षी दलहरूबाट उम्मेदवारमाथि भौतिक तथा मानसिक आक्रमण सुरु भएको एमालेको आरोप छ ।
पार्टीका चुनाव प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले शनिबार न्यूज २४ टेलिभिजनको कार्यक्रम ‘२४ टक’मा कुरा गर्दै निर्वाचन नजिकिँदै जाँदा मुलुक थप भयभीत बन्दै गएको बताए । 
उनले जेनजी आन्दोलन हाइज्याक गर्न खोज्नेहरु भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गतिविधिमाथि गम्भीर प्रश्न उठाएका छन् । कार्यक्रममा एमाले बहाना बनाएर चुनावबाट भाग्न खोजेको हो ? भन्ने प्रश्नको जवाफमा उनले आफूहरुले चुनाव चाहेको भन्दै रास्वपा निर्वाचन भाँड्ने खेलमा लागेको आरोप बताए । उनले सिंहदरबार जलाउनेहरुलाई जनताले चिनेको भन्दै फागुन २१ को निर्वाचनमा मतमार्फत त्यसको जवाफ दिने भन्दै आफुहरु अराजकताको पक्षमा नरहेको बताए । 
उनले शनिबार विज्ञप्ति जारी गर्दै देश जलाउनेहरुले नै आफ्नो पार्टीको झण्डा जलाएको बताएका छन् । ‘लाखौं जनतामा लोकप्रिय हाम्रो पार्टीको आस्थामा चोट पु¥याउने गरी झण्डामा आगो लगाउनेहरू उनै देश जलाउनेहरू हुन् भन्ने यो घटनाले पुष्टि गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । एमालेले यसलाई लोकतन्त्रको परिधिबाहिरको कार्य भन्दै रास्वपाको पछिल्ला गतिविधिले मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने र चुनावी द्वन्द्व निम्त्याउने प्रयास गरेको आरोप लगाएको छ । एमालेले आफू अनुशासित पार्टी भएको तर संयमतालाई कमजोरी नठान्न चेतावनी समेत दिएको छ । 
तर, रास्वपाले भने कुनै पनि पार्टीको झण्डा जलाउने आफुहरुको नीति नभएको प्रष्ट पारेको छ । त्यस्ता कार्यमा संलग्नमाथि कारवाही गर्न रास्वपाले पनि माग गरेको छ । एमालेको झण्डा जलाएपछि दाङमा एमाले कार्यकर्ताहरुले रास्वपाको कार्यालय तोडफोड प्रयास गरेका थिए । दाङमा उत्पन्न परिस्थितिपछि पोखरा र भैरहवामा गर्ने तय भएको सभा रास्वपाले स्थगित गरेको  छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्