काठमाडौं । राजनीतिक दलहरूले फागुन २१ को चुनावका लागि घोषणापत्र जारी गर्दै आफ्ना नीतिहरु मतदातामाझ पु¥याइरहेका छन् । शिक्षा, स्वास्थ्य,रोजगारी देखि विदेश नीतिसम्म उनीहरुले आआफ्नो दृष्टिकोण अघि सारेका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा परराष्ट्र नीतिलाई विशेष प्राथमिकता दिएका छन् ।
बदलिँदो वैश्विक राजनीति र शक्ति राष्ट्रहरूको चासोका बीच नेपालका दलहरूले ‘असंलग्नता’ लाई मूल मन्त्र बनाए पनि छिमेकी र मित्र राष्ट्रहरूसँगको सम्बन्ध सञ्चालनमा भने फरक–फरक शैली अपनाउने संकेत गरेका छन् ।
पारस्परिक हित र आर्थिक साझेदारीः कांग्रेस
नेपाली कांग्रेसले मित्रराष्ट्रहरूसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित हुने र यस्तो सम्मानलाई पारस्परिक हित र आर्थिक साझेदारीको आधारमा अगाडि बढाउने प्रतिज्ञा गरेको छ । नेपाल कुनै पनि शक्ति राष्ट्रहरूको सैन्य वा सामरिक प्रतिस्पर्धामा सहभागी नहुने र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै स्वतन्त्र निर्णय लिने कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख छ ।
कूटनीतिक सम्बन्धलाई केवल राजनीतिक संवादमा मात्र सीमित नगरी ‘आर्थिक साझेदारी’ मा बदल्ने, नेपाली नियोगहरूलाई ‘डिजिटल ट्रेड प्रमोशन सेन्टर’ का रूपमा विकास गरी नेपालको सफ्टवेयर र डिजिटल सेवाको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उसले लक्ष्य राखेको छ । ‘भारत र चीन दुवै छिमेकीसँगको सम्बन्धलाई समानता, आपसी सम्मान र विश्वासको आधारमा सुदृढ बनाउने र आपसी लाभका क्षेत्रहरूमा सहकार्य गर्दै सीमा लगायतका समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने,’ कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख छ ।
कांग्रेसले कुनै पनि सैन्य वा सामरिक गठबन्धनमा सहभागी नहुने स्पष्ट पार्दै ‘भिजन टेन’ मार्फत आर्थिक कूटनीतिलाई जोड दिएको छ । राष्ट्रिय हित सर्वोपरी राख्दै समानता र आपसी सम्मानका आधारमा छिमेकीसँगको सम्बन्ध विस्तार गर्ने कांग्रेस नीति छ । कांग्रेसले परम्परागत रूपमा लोकतान्त्रिक विश्वसँगको सम्बन्ध र छिमेकीहरूसँग सौहार्दपूर्ण सम्बन्धलाई प्राथमिकता दिँदै आएको छ ।
सबैसँग मित्रता र ‘देश पहिला’: एमाले
एमालेले ‘देश पहिला’ को मूल मन्त्रमा आधारित रहेर घोषणापत्र ल्याएको छ । छिमेकी राष्ट्रहरूसँग मित्रवत् सम्बन्ध, विश्व शान्ति र आर्थिक कूटनीतिलाई एमालेले प्राथमिकता दिएको छ । ‘सार्वभौम समानता,स्वाधीनता र भौगोलिक अखण्डताको सम्मान गर्दै विश्व शान्ति,सहअस्तित्व र सबैसँग मित्रतामा आधारित परराष्ट्र नीतिप्रति प्रतिवद्ध हुनेछौं ।
छिमेकी देशहरुसँगको सम्बन्धलाई अझ विश्वासिलो र मित्रवत् बनाउनेछौं,’ घोषणापत्रमा एमालेले भनेको छ । ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’लाई एमालेले विदेश सम्बन्ध सञ्चालनको आधारभूत नीतिका रुपमा अघि सारेको छ ।
प्रत्यक्ष वैदेशिक लगानी भित्राउन कूटनीतिक नियोगहरुलाई सक्रिय बनाउने, बाह्य ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगाउने, श्रम कूटनीतिमार्फत श्रम सम्झौताहरूलाई व्यवस्थित गर्ने बताएको छ ।
स्वाधीनता, र असमान सन्धिहरूको पुनरावलोकनः नेकपा
नेकपाले आफ्नो परराष्ट्र नीतिको मुख्य नारा नै ‘स्वतन्त्र नेपाल, सन्तुलित कूटनीति’ राखेको छ । यसले कुनै पनि शक्ति राष्ट्रको सैन्य रणनीतिको हिस्सा नबन्ने र नेपालको निर्णय प्रक्रियामा पूर्ण स्वायत्तता कायम गर्ने प्रतिबद्धता जनाएको छ ।
त्यस्तै, नेकपाले नेपालको नयाँ नक्सामा समेटिएका भूभागहरूको विवाद कूटनीतिक संवाद र अन्तर्राष्ट्रिय कानुनका आधारमा समाधान गर्ने कुरालाई उच्च प्राथमिकतामा राखेको छ । १९५० को सन्धि लगायतका पुराना र ‘असमान’ भनिएका सन्धि–सम्झौताहरूलाई देशको हित अनुकूल हुने गरी पुनरावलोकन गर्ने एजेण्डा दोहो¥याएको छ ।
भारत र चीनसँगको सम्बन्धलाई ‘आपसी सम्मान, विश्वास र लाभ’ का आधारमा अगाडि बढाउने उसको नीति छ । छिमेकी राष्ट्रहरूको सुरक्षा चासोप्रति संवेदनशील रहने तर आफ्नो भूमि कसैको विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको छ । वैदेशिक सहयोग र लगानीलाई उत्पादनमूलक क्षेत्रमा मात्र परिचालन गर्ने नेकपाको नीति छ ।
संयुक्त राष्ट्र संघ, सार्क र बिमस्टेक जस्ता क्षेत्रीय र अन्तर्राष्ट्रिय संगठनहरूमा नेपालको उपस्थिति सक्रिय र प्रभावकारी बनाउने र सार्कलाई पुनर्जीवन दिन नेपालले नेतृत्वदायी भूमिका खेल्ने उल्लेख छ ।
विभिन्न कम्युनिष्ट घटक मिलेर बनेको नेकपाले यसपटक आर्थिक आत्मनिर्भरता र डिजिटल कूटनीतिलाई पहिलेभन्दा व्यावहारिक रूपमा व्याख्या गरेको छ । उत्पादनमा आधारित परराष्ट्र सम्बन्धमा जोड दिएको छ ।
सन्तुलित र गतिशिल कूटनीतिः रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वाचापत्रमार्फत आफ्नो परराष्ट्र नीति सार्वजनिक गर्दै नेपाललाई दुई छिमेकी मुलुकबीचको ‘गतिशिल आर्थिक पुल’ बनाउने लक्ष्य राखेको छ । रास्वपाले परम्परागत ‘बफर स्टेट’ को भाष्यलाई बदल्दै गतिशील र व्यावसायिक कूटनीतिको नयाँ मार्गचित्र प्रस्तुत गरेको हो ।
छिमेकी राष्ट्रहरूको विकासबाट नेपालले लाभ लिनुपर्ने रणनीतिक योजना पनि ल्याएको छ । भारतको ‘डिजिटल सार्वजनिक पूर्वाधार’ र चीनको ’विश्वस्तरीय भौतिक पूर्वाधार’ निर्माणको मोडलबाट नेपालले फाइदा लिनुपर्ने रास्वपाको योजना छ । त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीमार्फत मुलुकलाई समृद्ध बनाउने वाचापत्रमा उल्लेख छ ।
त्यस्तै, सीमा सुरक्षामा प्रविधि र ’बोर्डर आइडी’को अवधारणा रास्वपाको छ । सीमा व्यवस्थापनका लागि रास्वपाले ‘बोर्डर इकोनोमिक गेटवे’ को अवधारणा ल्याएको छ । सशस्त्र प्रहरी बललाई आधुनिक प्रविधि (ड्रोन, नाइट भिजन क्यामेरा र डिजिटल रेकर्डिङ) सहितको ’बोर्डर सेक्युरिटी फोर्स’ मा रूपान्तरण गर्ने, सीमा क्षेत्रका बासिन्दालाई विशेष परिचयपत्र वितरण गरी शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा सहुलियत दिने रास्वपाको प्रस्ताव छ । कुनै पनि शक्ति राष्ट्रको सैन्य वा सामरिक प्रतिस्पर्धामा सहभागी नहुने रास्वपाको वाचापत्रमा उल्लेख छ ।
पृथ्वीपथको अनुशरण, दिव्योपदेशमा जोडः राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ लाई आधुनिक परराष्ट्र नीतिको मुख्य आधार मान्दै ‘दुई ढुङ्गाबीचको तरुल’ को संवेदनशीलतालाई आत्मसात् गरेको छ । ‘असंलग्न परराष्ट्र नीतिलाई सुदृढ गर्ने र नेपालको आन्तरिक मामिलामा हुने जुनसुकै बाह्य हस्तक्षेपलाई पूर्ण रूपमा निषेध गर्ने,’ राप्रपाको नीति छ । राजसंस्थालाई एकताको प्रतीक र परराष्ट्र मामिलामा एक स्थिर अभिभावकका रूपमा प्रस्तुत गर्दै छिमेकीहरूसँग सन्तुलित सम्बन्ध राख्ने राप्रपाको नीति छ । त्यस्तै, राप्रपाले आर्थिक र सांस्कृतिक कूटनीतिमा जोड दिएको छ । नेपाललाई ‘वैदिक सनातन हिन्दू राष्ट्र’ का रूपमा स्थापित गरी धार्मिक र सांस्कृतिक कूटनीतिमार्फत विश्वसँग जोड्ने राप्रपाको नीति छ ।