नेभिगेशन
प्रदेश

गौरमा साम्प्रदायिक झडप, अनिश्चितकालीन कफ्र्यूबीच सेना परिचालन

रौतहट । गौर नगरपालिका–६ स्थित सवगढा गाउँमा दुई समुदायबीच सुरु भएको विवादले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले अनिश्चितकालीन कफ्र्यू जारी गर्दै नेपाली सेना समेत परिचालन गरेको छ । शुक्रबारबाट सुरु भएको तनाव शनिबार झन् चर्किएपछि दिउँसो १ बजेदेखि कफ्र्यू आदेश लागू गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालयसम्मको क्षेत्र कफ्र्यूको घेराभित्र परेको छ । कफ्र्यू अवधिमा घरबाहिर निस्कन, भेला–जुलुस गर्न, सभा–प्रदर्शन गर्न तथा आवतजावत गर्न पूर्ण निषेध गरिएको छ ।
घटनाको जरो शुक्रबार साँझ भएको एक विवाह समारोहसँग जोडिएको छ । रौतहटको बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सत्यनारायण साहकी छोरीको जन्ती गौर–६ सवगढा पुगेको थियो । सो क्रममा मस्जिद अगाडि बाजा बजाइएको विषयलाई लिएर मुस्लिम समुदाय र जन्ती पक्षबीच वादविवाद भएको थियो । सामान्य भनिएको विवाद केही समयमै ढुंगा हानाहानमा परिणत हुँदा ६ जना घाइते भएका थिए ।
त्यसपछि शुक्रबार नै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालको नेतृत्वमा सर्वपक्षीय बैठक बसेर भविष्यमा यस्ता घटना नदोहोर्याउने सहमति गरिएको थियो । तर सहमति एक दिन पनि टिक्न सकेन । शनिबार बिहान ९ः१५ बजेदेखि पुनः दुवै पक्षका करिब ४–५ सय मानिस भेला भई झडप सुरु भएको प्रहरीले जनाएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड ब्ल्याङ्क फायर र ४० सेल अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए । झडपका क्रममा प्रदर्शनकारीहरूले ६ वटा मोटरसाइकल र २ वटा जिपमा आगजनी गरेका छन् भने केही घरमा तोडफोड भएको छ । शनिबारको झडपमा २ प्रहरीसहित ८ जना घाइते भएका छन् । प्रहरीले २० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना बख्तरबन्द गाडीसहित परिचालित गरिएको छ । राजमार्गको अवस्था सामान्य भए पनि भित्री गाउँहरूमा तनाव कायमै रहेको स्थानीय स्रोतले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी भूसालले दुवै पक्षलाई वार्तामा ल्याएर स्थिति सामान्य बनाउन प्रयास भइरहेको बताए । जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको र केन्द्रीय सुरक्षा समितिसँग पनि समन्वय भइरहेको उनको भनाइ छ । ‘अब थप घटना हुन नदिन चनाखो भएर काम गरिरहेका छौं,’ उनले भने ।
रौतहट तथा तराई–मधेसका केही जिल्लामा यसअघि पनि धार्मिक पर्वका क्रममा यस्ता झडप दोहोरिँदै आएका छन् । विशेषगरी सरस्वती पूजा, दुर्गा पूजा, विश्वकर्मा पूजाको मूर्ति विसर्जनका बेला तथा होली जस्ता पर्वमा हिन्दु–मुस्लिम समुदायबीच तनाव उत्पन्न हुने गरेको छ । विसर्जन टोली मुस्लिम बस्ती हुँदै जाने क्रममा अवरोध र ढुंगा प्रहार भएको आरोप हिन्दु समुदायले लगाउँदै आएको छ भने मुस्लिम समुदायले मस्जिद अगाडि चर्को ध्वनिमा गीत बजाएर उतेजना फैलाउने गरिएको गुनासो गर्दै आएको छ ।
जानकारहरूका अनुसार सानोतिनो विषयलाई साम्प्रदायिक रंग दिँदा परिस्थिति छिट्टै विस्फोटक बन्ने गरेको छ । नेपाल पत्रकार महासंघ रौतहटका पूर्व अध्यक्ष शैलेन्द्र गुप्ताले धर्मको नाममा देखाइने कट्टरताले समाजमा विभाजन गहिरिँदै गएको टिप्पणी गरे । मुस्लिम अगुवा शेष करिमुल्लाहले केही स्वार्थी तत्वहरूले राजनीतिक लाभका लागि धर्मलाई हतियार बनाउने प्रवृत्तिका कारण यस्ता घटना दोहोरिने गरेको बताए ।
सामान्य देखिएको एक विवाह समारोहबाट सुरु भएको विवादले पुनः रौतहटलाई साम्प्रदायिक तनावको केन्द्रमा पु¥याएको छ । प्रशासनले शान्ति कायम गर्न कफ्र्यू र सुरक्षा परिचालन कडा पारेको छ, तर स्थायी समाधानका लागि समुदायबीच विश्वास पुनःस्थापना र संवेदनशील विषयमा संयमता आवश्यक रहेको स्थानीय अगुवाहरूको धारणा छ ।
उता काठमाडौंमा यस घटनापछि प्रधानमन्त्री सुशीला कार्कीले सद्भाव भड्काउने जो कोहीलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्ने प्रतिक्रिया दिएकी छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्