नेभिगेशन
राजनीति

चुनावको मुखमा लफडा सुरु, संयमता र सहिष्णुताका लागि गृहको अपिल

काठमाडौं । तराई–मधेसका केही जिल्लाहरूमा पछिल्लो समय देखिएका धार्मिक तथा सामाजिक सद्भाव बिथोल्ने घटनाप्रति गृह मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले सबै पक्षलाई संयमता अपनाउन र धार्मिक सहिष्णुता कायम राख्न सार्वजनिक अपिल गरेको हो ।
मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्य (सुवेदी) द्वारा जारी विज्ञप्तिमा कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नगर्न र नगराउन आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सबै धर्म र समुदायबीच पारस्परिक सम्मान र सहिष्णुता कायम राख्न सादर अनुरोध गरिन्छ ।’ 
यसैबिच, पछिल्लो समय सुरक्षा अवस्थामा चुनौति थपिने गरी भएका गतिविधिबारे समीक्षा गर्न शनिबार नै केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । बैठकले विशेष गरी रौतहट र दाङ लगायतका क्षेत्रमा भएका पछिल्ला गतिविधिहरूको विश्लेषण गर्दै राजनीतिक दलका झण्डा जलाउने जस्ता कानुनविपरीत कार्यहरू भइरहेको गृहले ठहर गरेको छ । यस्ता कार्यले सामाजिक मर्यादा र आपसी विश्वासमा गम्भीर आँच पु¥याएको भन्दै मन्त्रालयले सूक्ष्म निगरानी बढाइएको जनाएको छ ।
बैठकले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीलाई मधेस प्रदेशमा खटाउने निर्णय पनि गरेको छ । प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार एआईजी चतुर्वेदीले तराई क्षेत्रमा हुन सक्ने सम्भावित गतिविधिको विश्लेषण गरी प्रतिवेदन पेस गर्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्