नेभिगेशन
प्रदेश

अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

बुटवल । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन बहिष्कारका नाममा हुने अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिएकी छन् । शनिबार बुटवलमा आयोजित सुरक्षा अधिकारीहरूको संयुक्त बैठकमा बोल्दै उनले बहिष्कारलाई ‘सजिलो व्यवसाय’ बनाएर चन्दा उठाउने र जनतालाई आतंकित पार्ने प्रवृत्ति देखिएको भन्दै यस्तो निर्देशन दिएकी हुन् । उनले सरकारको मुख्य कार्यदिशा निर्वाचन नै भएको बताउँदै यसैमा केन्द्रित हुन आग्रह गरिन् ।

‘अहिले बहिष्कार पनि एक प्रकारको सजिलो व्यवसायजस्तो भएको छ । जनतामा जानु नपर्ने, संगठन बनाउनु नपर्ने, तर दुई चार जना मिलेर बहिष्कारको हल्ला फिँजाउने र चन्दा असुली गर्ने प्रवृत्ति देखिएको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘राजनीति गर्ने हो भने जनतामा मत माग्न जानुपर्छ । यस्ता अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गरिनुपर्छ ।’ प्रतिनिधि सभाको निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न लुम्बिनी प्रदेशका सुरक्षा निकायलाई निर्देशन दिइन् ।  

बैठकमा सुरक्षा अधिकारीहरूले भारतीय सीमासँग जोडिएको ५१४ किलोमिटर खुला क्षेत्रलाई मुख्य सुरक्षा चुनौतीको रूपमा प्रस्तुत गरेका थिए । प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीका अनुसार निर्वाचनलाई सफल बनाउन सुरक्षा रणनीतिअनुसार क्षेत्रहरूलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरेर अघि बढ्ने निर्णय भएको छ ।

खुला सीमा क्षेत्रको सुरक्षाका लागि भारतीय अधिकारीहरूसँग समन्वय गर्ने योजना समेत बैठकमा तय गरिएको छ । सुरक्षा रिपोर्टिङ लिएपछि प्रधानमन्त्री कार्की लुम्बिनी भ्रमण गरी काठमाडौँ फर्किएकी छन् ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्