नेभिगेशन
प्रदेश

सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन सामग्री ढुवानी

काठमाडौं । निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र र अन्य निर्वाचन सामग्री ढुवानी गर्न थालेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सकेर ढुवानी थालिएको हो ।
हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र र निर्वाचन सामग्री ढुवानी भइसकेको आयोगले जनाएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ गरेर निर्वाचन क्षेत्रमा पठाइएको छ ।
आयोगले माघ २९ देखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरेको हो । त्यसपछि सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा ढुवानी थालिएको थियो । यस्तै, बागमतीसहित अन्य प्रदेशमा पनि मतपत्र तथा निर्वाचन सामग्री नियमित रूपमा ढुवानी भइरहेको आयोगले जनाएको छ । राजधानी काठमाडौँका मतदान केन्द्रमा पनि एक–दुई दिनमा मतपत्र पु¥याइसक्ने आयोगको तयारी छ ।
मतपत्रबाहेकका अन्य निर्वाचन सामग्री भने ढुवानी सम्पन्न भइसकेको छ । निर्वाचनका लागि ५१ प्रकारका सामग्री आवश्यक पर्ने आयोगले उल्लेख गरेको छ । मतपत्र छपाइतर्फ आयोगले तोकेको क्यालेन्डरअनुसार जनक शिक्षा सामग्री केन्द्रले पुस २२ बाट मतदाता शिक्षा प्रयोजनका लागि छपाइ सुरु भएको थियो । आयोगले १० लाख ९८ हजार २०० नमुना मतपत्र छापेको थियो ।
यस्तै, पुस २६ देखि माघ १३ सम्म समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छापेको हो । समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छापिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्