नेभिगेशन
अर्थतन्त्र
नेपाल–पोर्चुगल परामर्श बैठक

व्यापार, लगानी र नवीकरणीय ऊर्जामा सहकार्यलाई प्राथमिकता

बैठकमा व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा तथा विज्ञान–प्रविधि क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने सहमति

काठमाडौं । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को पहिलो बैठक पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । बैठकले द्विपक्षीय व्यापार, लगानी र नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य विस्तारलाई प्राथमिकता दिएको छ ।
लिस्बनस्थित परराष्ट्र मन्त्रालयमा शुक्रबार सम्पन्न बैठकमा व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा तथा विज्ञान–प्रविधि क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने सहमति भएको छ । दुवै पक्षले आर्थिक सहकार्यलाई परिणाममुखी बनाउने, निजी क्षेत्रबीच सम्पर्क बढाउने र लगानी प्रवद्र्धनमा सहजीकरण गर्ने विषयमा जोड दिएका छन् ।
बैठकमा नेपाल–पोर्चुगल सम्बन्धका राजनीतिक, आर्थिक तथा कन्सुलर पक्षहरूको समीक्षा गरिएको थियो । जलवायु परिवर्तन, क्षेत्रीय तथा बहुपक्षीय आर्थिक चासोका मुद्दामा पनि विचार–विमर्श भएको छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गरेका थिए । त्यस्तै पोर्चुगलका परराष्ट्र तथा सहकार्य मामिला सचिव डा. आना इसाबेल जेभियरले पोर्चुगिज पक्षको नेतृत्व गरेका थएि । नेपाली टोलीमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, परराष्ट्रका सहसचिव एवं युरोप महाशाखा प्रमुख गणेशप्रसाद ढकाल, उपसचिव उत्तम घिमिरेलगायतको सहभागिता थियो ।
राजदूत पौडेलका अनुसार बैठकमा द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढ गर्ने, लगानीका नयाँ क्षेत्र पहिचान गर्ने तथा पोर्चुगलवासी नेपालीले भोगिरहेका कागजात प्रमाणीकरणसम्बन्धी समस्याको समाधानका लागि सहजीकरण गर्न आग्रह गरिएको छ । नेपालमा पोर्चुगलको दूतावास स्थापना गर्न पनि अनुरोध गरिएको उनले जानकारी दिए ।
बैठकका क्रममा परराष्ट्र सचिव राईले पोर्चुगिज व्यापार तथा लगानी एजेन्सीका अधिकारीसँग अन्तक्र्रिया गर्दै नेपालमा नवीकरणीय ऊर्जा, विशेषगरी जलविद्युत् उत्पादन, प्रसारण र वितरण क्षेत्रमा लगानीका सम्भावना प्रस्तुत गरे । उनले पोर्चुगिज लगानीकर्तालाई नेपालको लगानी बोर्डसँग छलफल गर्न सुझाव दिए ।
यसअघि सचिव राईले पोर्चुगलको परराष्ट्र मन्त्रालयका महासचिव फ्रान्सिस्को मारिया डि सौसा रिबेरो टेलेससँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटमा द्विपक्षीय आर्थिक तथा कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।

नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र सन् २०१८ मा स्थापना भएको हो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्