नेभिगेशन
मनोरञ्जन

‘मधेशमा दर्शकको कमी छैन’

धनुषा । नेपाली चलचित्र क्षेत्रको अन्तरराष्ट्रियकरण, बजार प्रवद्र्धन, सम्भावना र अवसरको खोजी गर्ने उद्देश्यका साथ शुक्रबारदेखि ‘दोस्रो जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ सुरू भएको छ । 
संवाद फाउण्डेशनको आयोजनामा यही फागुन ११ गतेसम्म जनकपुरस्थित मैथिली भवनमा सञ्चालन भइरहेको महोत्सवमा मैथिली, नेपालीसहित विदेशी भाषाका ६० चलचित्र प्रदर्शन, समूहगत छलफललगायत गतिविधि हुने महोत्सवका अध्यक्ष कुमार भास्करले जानकारी दिए ।
उनले भने, ‘जनकपुरले मिथिलाञ्चललाई प्रतिनिधित्व गर्छ, महोत्सवले यसलाई उजागर गर्नेछ । हामी हाम्रो सभ्यता र संस्कृति विश्वलाई देखाउन र बुझाउन चाहन्छौँ । यो महोत्सवले मैथिली भाषालाई नेपाली चलचित्रसँग जोड्ने छ ।’ उनले नेपाली चलचित्रको अन्तरराष्ट्रियकरण, युवा चलचित्रकर्मीलाई उत्प्रेरित गर्ने र सांस्कृतिक विविधताको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिए ।
महोत्सवको पहिलो दिन उद्घाटन समारोहमा राजर्षिजनक विश्वविद्यालयका उपकुलपति अमरप्रसाद यादवले महोत्सवले चलचित्रमा आफ्नो भविष्य देख्नेलाई गन्तव्य दिने बताए । ‘हामीले आफ्नो पाठ्यक्रममा चलचित्रलाई राखेर यससम्बन्धी रुची राख्नेलाई शिक्षा दिन छलफल गरिरहेका छौँ । यस किसिमका महोत्सवले हामीलाई नेपालमा बनेका चलचित्रसँगै विश्वभर बनिरहेका चलचित्रको बारेमा जानकारी दिन्छ । साथै, स्वदेशीसँगै विदेशी चलचित्रकर्मी ल्याएर यहाँ जनकपुरमा कार्यक्रम गर्नु पर्यटकीय हिसाबले हामीलाई फाइदा पुगेको छ,’ उनले भने ।  
चलचित्र समीक्षक समाजका अध्यक्ष समीप्यराज तिमल्सेनाले उपत्यकाबाहिर हुने महोत्सवले बजार प्रवद्र्धनमा सघाउने बताए । ‘तराईमा चलचित्रको राम्रो दर्शक छन्, यहाँ चलचित्र भवनको संख्या पनि राम्रो छ, तर हामीले स्वदेशी चलचित्रमा ती दर्शक पाउन सकेका छैनौँ । यस्ता महोत्सवले यहाँ मैथिली चलचित्रसँगै अन्य स्वदेशी भाषाका चलचित्रप्रति स्थनीयलाई आकर्षित गर्छ, त्यसैले यस्ता महोत्सवको महत्व छुट्टै हुन्छ । मैथिली भाषाका चलचित्रमा काम गरिरहेकालाई यस्ता महोत्सवले ज्ञान र प्रेरणा दिन्छ,’ उनले भने । 
महोत्सवको सुरुआत नानीसरा वाकरद्वारा निर्देशित चलचित्र ‘शक्ति’ प्रदर्शन गरिएको थियो । महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी ६० चलचित्र प्रदर्शनी, विभिन्न समूहगत छलफल, चलचित्रसम्बन्धी प्रशिक्षण कार्यशालालगायत गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्