नेभिगेशन
दृष्टिकोण

के प्रेमको अवसान भएको हो ?

सुरुवाती दिनहरूमा प्रेम एउटा जादुमयी कुहिरो जस्तो हुन्छ, जहाँ सबै कुरा स्पष्ट देखिँदैन तर महसुस भने असाध्यै सुखद हुन्छ । दुई व्यक्ति जब पहिलोपटक जोडिन्छन्, उनीहरूलाई लाग्छ कि संसारमा उनीहरू जत्तिको जोडिएको कोही छैन । तर समयको गतिसँगै जब घरभित्र बालबच्चाको रुवाइ सुनिन्छ, करियरको दौडधुपले थकाइ लाग्छ र बैंकको किस्ता तिर्ने चिन्ताले सताउँछ तब त्यो गहिरो आत्मीयता बिस्तारै धमिलो हुन थाल्छ । कतिपय दम्पतीका लागि त एक समय यस्तो आउँछ, जहाँ उनीहरू एउटै ओछ्यानमा भएर पनि हजारौँ माइल टाढा भएको महसुस गर्छन् । ‘अब हाम्रा बीच पहिले जस्तो माया बाँकी रहेन’ भन्ने वाक्य धेरैका मुखमा झुन्डिन पुग्छ । तर के प्रेम साँच्चै मर्छ ? कि यो केवल एउटा चरणबाट अर्को चरणमा रूपान्तरण भइरहेको हुन्छ ?
भावनात्मक एकाकारको पासो
पारिवारिक प्रणाली सिद्धान्तका प्रतिपादक मरे बोवेन र पछि यसलाई व्याख्या गर्ने डेभिड स्नार्चले एउटा रोचक अवधारणा अघि सारेका छन्– ‘इमोसनल फ्युजन’ वा भावनात्मक एकाकार । सुन्दा यो शब्द सकारात्मक जस्तो लाग्छ तर सम्बन्धको गहिराइमा यो एउटा गम्भीर समस्या हुन सक्छ ।
सम्बन्धको सुरुमा दम्पतीहरू हामी बन्ने धुनमा आफ्नो मलाई बिर्सिन्छन् । घरमा शान्ति कायम राख्न, पार्टनरलाई खुसी पार्न वा कलहबाट बच्नका लागि एकजनाले वा दुवैले आफ्ना इच्छा, रुचि र व्यक्तित्वको केही अंशलाई दबाउन थाल्छन् । यसलाई ‘टुगेदरनेस’ को एउटा यस्तो अवस्था मानिन्छ जहाँ व्यक्तिले आफ्नै अस्तित्व गुमाउन पुग्छ । वर्षौँसम्म आफ्नो खुसीलाई दबाउँदा एउटा विन्दुमा पुगेपछि विस्फोट हुन्छ । कुनै ठुलो संकट आउँदा, जस्तै जागिर छुट्नु वा बिरामी पर्नु, त्यो दबिएको व्यक्तित्व बाहिर निस्कन खोज्छ । यस्तो बेला एक पार्टनरलाई लाग्छ कि उनीहरू अदृश्य भएका छन्, उनीहरूमाथि नियन्त्रण गरिएको छ वा उनीहरू सधैँ अतृप्त छन् । यस्तो अवस्थामा सम्बन्धबाट बाहिरिनु नै फेरि स्वतन्त्रतापूर्वक सास फेर्ने एक मात्र उपाय जस्तो देखिन्छ ।
प्रेमको जीवविज्ञानः हर्मोनको खेल
प्रसिद्ध मानवशास्त्री हेलेन फिसरले आफ्नो पुस्तक ‘एनाटोमी अफ लभ’ मा प्रेमलाई तीनवटा भिन्न तर अन्तरसम्बन्धित जैविक प्रणालीहरूमा विभाजन गरेकी छन् । हामीले जसलाई प्रेम भन्छौँ, त्यो वास्तवमा मस्तिष्कमा भइरहेको हर्मोनहरूको एउटा जटिल नाच हो ।
पहिलो चरण हो— कामवासना । यसको मुख्य उद्देश्य शारीरिक मिलनको चाहना जगाउनु हो । यो टेस्टोस्टेरोन र एस्ट्रोजेन हर्मोनद्वारा सञ्चालित हुन्छ । यस चरणमा मानिस कुनै एक व्यक्तिप्रति मात्र केन्द्रित नहुन पनि सक्छ; यो केवल एउटा शारीरिक आवश्यकताको खोजी हो । दोस्रो चरण हो— आकर्षण । यसलाई हामी रोमान्टिक लभ भन्छौँ । यहाँ आएपछि मानिसको ध्यान एउटै व्यक्तिमा केन्द्रित हुन्छ । त्यो प्रिय व्यक्ति संसारकै अद्वितीय र अपरिवर्तनीय लाग्न थाल्छ । मस्तिष्कमा डोपामाइन र नोरेपिनेफ्रिनको बाढी आउँछ भने सेरोटोनिनको मात्रा घट्छ । यो अवस्था ठ्याक्कै कुनै नशा लागेजस्तै हुन्छ । दिमागको रिवार्ड सिस्टम यति धेरै सक्रिय हुन्छ कि मानिस आफ्नो प्रेमीको बारेमा सोच्नबाहेक अरू केही गर्न सक्दैन । तेस्रो र अन्तिम चरण हो— लगाव । जब आकर्षणको तीव्र नशा बिस्तारै ओरालो लाग्छ, तब सम्बन्धलाई टिकाइराख्न लगावको जन्म हुन्छ । यो अक्सिटोसिन र भासोप्रेसिन हर्मोनसँग जोडिएको हुन्छ । यो चरण रोमान्टिक आकर्षणजस्तो उत्तेजक हुँदैन, बरु शान्त, सुरक्षित र स्थिर हुन्छ । विशेष गरी सन्तान हुर्काउनका लागि यो हर्मोनल सुरक्षा प्रणाली अनिवार्य मानिन्छ ।
धेरै दम्पतीहरू यहीँ झुक्किन्छन् । जब आकर्षणको तीव्र डोपामाइन घट्छ र लगावको शान्त अक्सिटोसिन सुरु हुन्छ, उनीहरूलाई लाग्छ कि अब माया सकियो । तर सत्य यो हो कि प्रेमले आफ्नो स्वरूप मात्र बदलेको हो ।
सम्बन्धका विकासात्मक चरणहरू
मनोवैज्ञानिक एरिक एरिक्सनले व्यक्तित्व विकासका चरणहरू बताए जस्तै, हरेक सम्बन्ध पनि निश्चित चरणहरूबाट गुज्रिन्छ । सिम्बायोसिसः यो प्रेमको सुरुवाती हनिमुन चरण हो । यहाँ दुई व्यक्तिबीच कुनै भिन्नता देखिँदैन। सबै कुरा जादुमयी लाग्छ । विभेदः यो सबैभन्दा कठिन र महत्त्वपूर्ण चरण हो । यहाँ आएपछि पार्टनरका कमजोरीहरू देखिन थाल्छन् । एकअर्काका भिन्नताहरू प्रस्ट हुन्छन् र मोहभंग सुरु हुन्छ । धेरैजसो सम्बन्धहरू यही चरणमा आएर टुट्छन् । तर, यदि यो चरणलाई सफलतापूर्वक पार गर्ने हो भने मात्र वास्तविक र परिपक्व प्रेमको जग बस्छ । अन्वेषणः यहाँ पार्टनरहरूले आफ्नो गुमेको व्यक्तिगत पहिचान र रुचिहरूलाई फेरि खोज्न थाल्छन् । पुनःमिलन र सिनर्जीः यो अन्तिम चरण हो जहाँ दम्पतीहरू एकअर्काको स्वतन्त्र अस्तित्वलाई स्वीकार्दै साझा उद्देश्यका लागि अघि बढ्छन् ।
बाह्य संकटको छाया
कहिलेकाहीँ सम्बन्धमा आएको शून्यता सम्बन्धको कारणले नभएर व्यक्तिको निजी जीवनको संकटले गर्दा पनि हुन सक्छ । गम्भीर बिरामी, आमाबुबाको मृत्यु, जागिरको तनाव वा मिडलाइफ क्राइसिस (मध्य–उमेरको मानसिक तनाव) ले गर्दा जीवन स्थिर र गुम्सिएको जस्तो महसुस हुन्छ । यस्तो बेला व्यक्तिले आफ्नो जीवनको त्यो रिक्तता वा निराशालाई वैवाहिक सम्बन्धमा प्रक्षेपण गर्छ । उसलाई लाग्छ कि उसको जीवनको सबै समस्याको जड उसको पार्टनर हो । सम्बन्धमा कुनै ठुलो झगडा वा धोका नभए पनि भित्रभित्रै भावना मरेको महसुस हुन सक्छ । यस्तो अवस्थामा पार्टनर बदल्नुभन्दा पनि आफ्नो जीवनको त्यो संकटलाई सामना गर्नु बुद्धिमानी हुन्छ ।
के हराएको भावना फिर्ता आउँछ ?
म कसरी माया गरूँ जब मलाई भित्रबाट माया नै महसुस भइरहेको छैन ? यो प्रश्न धेरैको हुन्छ । तर मनोविज्ञानमा एउटा बलियो अवधारणा छ— बिहेभियरल एक्टिभेसन । डिप्रेसनको उपचारमा प्रयोग गरिने यो प्रविधिले भन्छ कि कहिलेकाहीँ भावना व्यवहारको पछि लाग्छ । यदि हामीले मन नलागी–नलागी पनि ती कामहरू गर्न थाल्यौं जुन हामीले प्रेममा हुँदा गथ्र्यौं– जस्तै सँगै घुम्न जाने, एकअर्कालाई प्रशंसा गर्ने, ससाना उपहार दिने वा शारीरिक सामिप्यता बढाउने– भने बिस्तारै मस्तिष्कमा ती पुराना न्युरल पाथवेहरू सक्रिय हुन थाल्छन् । भावनाहरू आदेश दिएर आउँदैनन् तर प्रेमिल व्यवहारले भावनाका लागि ढोका पक्कै खोल्न सक्छ ।
अवश्य पनि, यो कोशिस गर भन्ने कुरा सुन्दा जति सजिलो छ, गर्न त्यति नै कठिन छ । यदि मनमा गहिरो इबी, अविश्वास वा वर्षौँको तित्तता छ भने केवल बाहिरी व्यवहारले काम गर्दैन । त्यसका लागि आत्मचेतना र काउन्सिलिङको मद्दतले ती गहिरा घाउहरूलाई सम्बोधन गर्नुपर्छ ।
कुनै पनि सम्बन्ध सुधारको पहिलो सर्त इच्छा हो । विलियम डोहर्टी र बिल ह्यारिस जस्ता विज्ञहरूले एउटा गज्जबको प्रश्न सोध्छन्ः के तपाईँ आफ्नो पार्टनरलाई फेरि प्रेम गर्न चाहनु हुन्छ ? अहिले तपाईँको मनमा प्रेम नहुन सक्छ, आकर्षण नहुन सक्छ । तर, यदि कुनै जादुले तपाईँको मनमा त्यो पुरानो स्नेह र चाहना फर्काइदिन सक्छ भने, के तपाईँ त्यो उपहार स्वीकार गर्नुहुन्थ्यो ? यदि तपाईँको भित्री मनले हो भन्छ भने, त्यहाँ अझै आशा बाँकी छ ।
सुरुवाती प्रेम एउटा उपहार हो, तर दीर्घकालीन प्रेम एउटा सीप हो जुन समयसँगै सिक्नुपर्छ । सम्बन्धमा भावनाहरू हराउनु भनेको सम्बन्धको अन्त्य होइन बरु यो त सम्बन्धलाई अर्को गहिरो र परिपक्व स्तरमा लैजाने एउटा निमन्त्रणा हो । जब हामी भावनात्मक एकाकारको पासोबाट बाहिर निस्केर एकअर्काको भिन्नतालाई सम्मान गर्न सिक्छौँ, तब प्रेम फेरि नयाँ र अझ बलियो रूपमा पलाउन थाल्छ ।
०००
(साइकोलोजी टुडेबाट)

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
फागुन २१: दलहरूको अग्निपरीक्षा

फागुन २१: दलहरूको अग्निपरीक्षा

घोषणापत्रमा जनजातिका मुद्दा

घोषणापत्रमा जनजातिका मुद्दा

धर्म र अधर्म

धर्म र अधर्म