नेभिगेशन
प्रदेश

रौतहटको साम्प्रदायिक तनावको प्रभाव वीरगञ्जमा

श्रीपुरमा हिंसात्मक घटना, सुरक्षा सतर्कता उच्च

 

वीरगंज (पर्सा) । रौतहटको गौरमा दुई समुदायबीच जारी तनावको प्रभाव वीरगंजमा पनि देखिन थालेको छ । वीरगंज महानगरपालिका वडा नं. ११, श्रीपुर क्षेत्रमा आइतबार साँझ करिब ६ः३० बजेको समयमा एक हिंसात्मक घटना भएको बताइएको छ । प्रारम्भिक विवरण अनुसार यहाँ तरवार प्रहारसमेत भएको छ र एक जना घाइते भएका छन् । प्रहरी प्रशासनले घटनालाई गम्भीरतापूर्वक लिएर नियन्त्रणका उपायहरू अघि सारेको छ । वीरगंजमा समेत साम्प्रदायिक घटनाको जोखिम बढेको र स्थिति संवेदनशील रहेको देखिएको छ । 
घटनाको कारण, जिम्मेवार व्यक्ति वा समूहहरूको पहिचान हाल भइरहेको छ भने थप विवरण आउन बाँकी रहेको छ । उत्पन्न तनाव थप उग्र हुन नदिनका लागि तत्कालै श्रीपुर क्षेत्रमा नेपाली सेनाको गस्ती शुरु गरिएको छ । नेपाली सेना उक्त क्षेत्रमा गस्ती शुरु गरेसँगै अहिले तनाव केही शान्त बनेको छ । उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । 
वीरगंजका स्थानीय प्रशासन र प्रहरीलाई अलर्टमा राखिएको छ । सबै नागरिकलाई संयम रहन र बाह्य उत्प्रेरकका प्रभावमा नपर्न प्रशासनले आव्हान गरेको छ । यसअघि पनि धनुषा जिल्लामा भएको साम्प्रदायिक घटनाको प्रभाव वीरगंजमा परेको थियो । त्यतिबेला हिन्दु मुस्लिम समुदायबीच तनाव उत्पन्न भई प्रशासनले कफर््यू आदेश समेत जारी गरेको थियो, जसले स्थानीय शान्ति सुरक्षामा चुनौती प्रस्तुत गरेको थियो ।
निर्वाचन नजिकिँदै गर्दा यस प्रकारको हिंसा राजनीति र सामाजिक स्थिरताका लागि ठूलो खतरा हो । रौतहटमा भएका घटनाले समुदायबीच अस्वस्थ माहोल सिर्जना गरिरहेको अवस्थामा वीरगंजमा पनि हिंसात्मक गतिविधि हुन थालेको देखिनुले प्रशासनको सतर्कता र तत्कालीन कदमको आवश्यकता बढाएको छ । स्थानीय प्रहरी र प्रशासनले सर्वसाधारणसँग सहकार्य गरी परिस्थिति नियन्त्रणमा राख्ने योजना बनाएको छ । घटनास्थल वरिपरि सुरक्षा कडा गरिएको छ र समुदायबीच संवाद र समझदारी कायम गर्न पहल भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्