नेभिगेशन
अर्थतन्त्र

देश निर्वाचनमय, शेयरबजार भने लाग्यो ओह्रालो

काठमाडौं । देश निर्वाचनमय भएका बेला पनि शेयरबजार निरन्तर ओरालो लागेको छ । आम रुपमा चुनावी वर्षमा बजारमा उत्साह बढ्ने अपेक्षा गरिए पनि यसपटक भने लगानीकर्तामा अन्योल र सतर्कता देखिएको छ ।
दलहरुले उदार अर्थतन्त्र र खुला बजारमा जोड दिँदै आआफ्ना चुनावी वाचा सार्वजनिक गरिरहँदा पनि लगानीकर्ता उत्साहित देखिएका छैनन् । लामो बिदा पनि खुलेको बजारमा लगानीकर्ता किनबेचमा सावधान रहेको संकेत सूचकले गरेको छ ।  
साताको पहिलो दिन नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ को  विनदुमा रह्यो । गत साता सोमबार र मंगलबारमात्रै कारोबार भएर सार्वजनिक बिदापछि आइतबार खुलेको बजारमा सूचकसँगै कारोबार रकम घटेको हो । 
गत सोमबार बजार सूचक ८.१६ अंकले घटेर २६६२.९१ विन्दुमा रहँदा ७ अर्ब ९४ करोड २७ लाख रुपैयाँको कारोबार भएको थियो । त्यसको भोलिपल्ट मंगलबार २०.७५ अंकले घटेको बजारमा ८ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको थियो ।  
आइतबार ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता शेयर किनबेच भएको हो ।
नेप्सेमा सूचीकृत सबै समूह राताम्मे भएका छन् । सबैभन्दा धेरै व्यापार उपसमूह ३.६१ प्रतिशतले घटेको छ । त्यस्तै, जलविद्युत १.८१ र विकास बैंक १.४१ प्रतिशतले घटेको छ । अन्य ०.८५, निर्जीवन बीमा ०.४२, म्युचुअल फण्ड ०.२२, लघुवित्त ०.४८, उत्पादन तथा प्रशोधन १.०२, जीवन बीमा ०.७३, लगानी ०.९४, होटल तथा पर्यटन १.०९, वित्त ०.५६ र  बंैकिङ समूह ०.५२ प्रतिशतले घटेका छन् । 
कुल ३४ कम्पनीको शेयर मूल्य बढ्दा २२० वटाको घटेको छ भने ७ वटाको शेयरमूल्य स्थिर रह्यो ।
घटेका कम्पनीमा जलविद्युतका लगानीकर्ता बढी नोक्सानमा परेका छन् । बुद्धभूमि नेपाल हाइड्रोपावर ८.९२, रिडी पावर ८.३३ र आँखुखोला जलविद्युत ८.२८ प्रतिशतले घटेका छन् । यस्तै नारायणी विकास बंैक ६.९१ र सागर डिस्टिलरी ६.२३ प्रतिशतले घटेको छ ।
शेयर मूल्य बढेका कम्पनीमा बढेका हालै आइपीओ जारी गरेर दोस्रो बजार कारोबारमा आएको सालपा विकास बंैकको शेयरमा सकारात्मक सर्किट लागेको छ । सालपा प्रति कित्ता ३९९ रुपैयाँ ३० पैसा पुगेको छ । यस्तै रिलायन्स स्पिनिङ मिल्स ९.२६, कालिका लघुवित्त ५.१७, मञ्जुश्री फाइनान्स ४.४२ र सुपरमादी हाइड्रोपावर ४.१६ बढेका छन् । 
सर्वाधिक कारोबार हुने कम्पनीमा आँखुखोला जलविद्युत् छ । उक्त कम्पनीको ६३ करोड ४२ लाख ४० हजार रुपैयाँको शेयर कारोबार भएको छ । 
यस्तै रिडी पावरको ३७ करोड ६० लाख २७ हजार, एसवाइ प्यानल नेपालको ३१ करोड ७७ लाख ८० हजार ङादी गु्रप पावरको १९ करोड ४१ लाख ७९ हजार र राधि विद्युत कम्पनीको १७ करोड ९८ लाख ६९ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।
कारोबारको परिदृश्यले चुनावी गतिविधि र बजारको व्यवहारबीच सधैं सकारात्मक सम्बन्ध नहुने संकेत गरेको छ । राजनीतिक दलका उदार अर्थतन्त्रका वाचा भए पनि लगानीकर्ताले नीतिगत स्थायित्व, कार्यान्वयन क्षमता र मौद्रिक वातावरणलाई बढी महŒव दिएका देखिन्छन् । ब्याजदरको दिशा, तरलताको अवस्था र नियामकीय स्पष्टता जस्ता कारकले जोखिमप्रतिको धारणा निर्धारण गरिरहेका छन् । लामो बिदापछि खुलेको बजारमा कारोबार रकम घट्नुले पनि सहभागीहरू प्रतीक्षारत रणनीतिमा रहेको बुझिन्छ ।
समूहगत रूपमा सबै सूचक रातो हुनु व्यापक मनोवैज्ञानिक दबाबको द्योतक हो । विशेषगरी जलविद्युत क्षेत्रमा उच्च गिरावटले नाफा सुरक्षित गर्ने प्रवृत्ति र मूल्यांकनप्रतिको पुनर्विचार झल्काउँछ । केही कम्पनीमा देखिएको सकारात्मक सर्किटले भने अवसर खोज्ने सीमित तर सक्रिय पुँजी अझै उपस्थित रहेको देखाउँछ । आगामी दिनमा प्रष्ट नीति घोषणा, ब्याजदरको स्थिरता र संस्थागत लगानीकर्ताको सहभागिताले बजारको दिशा निर्धारण गर्न सक्छ । यस्तो अवस्थामा विवेकपूर्ण पोर्टफोलियो सन्तुलन, जोखिम व्यवस्थापन र दीर्घकालीन दृष्टिकोण झन् आवश्यक देखिन्छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्