नेभिगेशन
अर्थतन्त्र

अलैंची निर्यात बढ्यो, चिया घट्यो

भद्रपुर (झापा) । मेची भन्सार कार्यालय हुँदै अलैंची निर्यात बढेको छ भने चिया घटेको छ ।  चालु आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्तको सात महिनामा अलैंची निर्यात ५९.८० प्रतिशतले बढेको हो । कार्यालयका अनुसार उक्त अवधिमा ८ अर्ब ६१ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । 
चालु आव ४  हजार १५३.१५ मेट्रिकटन अलैंची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आव २०८१÷८२ को सोही  अवधिमा ५ अर्ब ३८ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको तथ्यांक छ । 
चालु आवको हालसम्म चियाको निर्यात २६.७० प्रतिशतले घटेको छ । उक्त अवधिमा २ अर्ब ३२ करोड १२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको चिया निर्यात भएको छ । आव २०८१÷८२ को सोही अवधिमा ३ अर्ब १६ करोड ६२ लाख १३ हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए । 
पूर्वी नाकाबाट निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ९१.१०, छुर्पी ६३.३०, अदुवा, सुठो १०१.८०, काउली, ब्रोकाउली र बन्दाकोपी ३६.१० र मुसुरो दाल ३१६.२०, जडीबुटी ९२.९ प्रतिशतले वृद्धि भएको छ । 
यसैगरी प्लाउड ४०.९० र अम्रिसोको निर्यातमा २४.९० प्रतिशतले कमी आएको छ । मेची भन्सारबाट चालु आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्तसम्ममा १६ अर्ब ३ करोड १५ लाख ८३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्