नेभिगेशन
राजनीति

अर्काको आस्थामा चोट पु-याउने काम नगर्न कांग्रेसको आग्रह

काठमाडौँ ।  नेपाली कांग्रेसले अर्काको आस्थामा चोट पुर्याउने काम नगर्न आग्रह गरेको छ । पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भएका घटनामाथि टिप्पणी गर्दै कांग्रेसले उक्त आग्रह गरेको हो । 
पार्टी कार्यालय बीपीनगर सानेपामा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले शान्तिपूर्ण, भयरहित, निस्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउँदै कुनै पनि अप्रिय गतिविधिले कसैको हित नहुने बताए । उनले भने, ‘जनता जनताबीचको सामाजिक सद्भाव, धार्मिक सहिष्णुतामा असर पुर्याउने काम कहीँ कतैबाट हुनुहुँदैन्,  सामाजिक विद्धेष फैलाउने, घृणायुक्त अभिव्यक्ति कुनै पनि पार्टीबाट हुनु श्रेष्यकर हुँदैन ।’
कतिपय जिल्लाहरूमा फरक पार्टीका कार्यकर्ताले पार्टीको झण्डा जलाउनेलगायत अवाञ्छित हर्कतप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ । ‘कसैको पनि आस्थामा चोट पुर्याउने अभिव्यक्ति, व्यक्तिगत निन्दा र पार्टीका झन्डा जलाउने गतिविधिलाई नेपाली कांग्रेस निन्दनीय कार्य ठान्दछ । यस्ता गतिविधिहरू तत्काल बन्द गरिनुपर्छ,’ उनले भने ।
नेपाली कांग्रेसले बहुमत ल्याउने गरी चुनावी माहोल अघि बढाएको प्रवक्ता एवं प्रचार समिति संयोजक चालिसेले बताए । ‘लोकतन्त्रको स्थापना, सम्बर्धनन र दिगो भविष्यमार्फत लोककल्याणकारी शासन व्यवस्थालाई सबलीकरण गर्न वर्तमान परिस्थितिमा कांग्रेसलाई पहिलो पार्टी बनाएर सरकारको नेतृत्व गर्ने स्थानमा पु¥याउने जनताको भावना रहेको छ,’ उनले भने । 

फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको उत्साहमा रहँदा लोकतन्त्र एवम् आमजनताको स्वतन्त्रता र समृद्धिसँग अविछिन्न जोडिएको कांग्रेसले चुनावी अभियानलाई सशक्त रूपमा अघि बढाएको उनले बताएका छन् ।
निर्वाचन नजिकिँदै जाँदा कांग्रेसप्रति आकर्षण चुलिँदै गएको उनको दाबी छ । विभिन्न पार्टीका शीर्ष नेतृत्वदेखि अन्य नेताकार्यकर्ताहरू नेपाली कांग्रेस आबद्ध हुने लहर देशभर चलेको प्रवक्ता चालिसेको दाबी छ । ‘हामी सबैलाई सम्मानजनक ढंगले पार्टीमा भित्र्याएर लोकतन्त्रको हकदार बनाउन चाहन्छौं,’ उनले भने, ‘हामी पुनः आह्वान गर्दछौँ, घर छाडेका साथीहरू घर फर्कनु होस् । अन्य पार्टीमा रहेका साथीहरू नेपाली कांग्रेसमा जोडिनुहोस् र मुलुकको नवनिर्माणमा सरिक हुनुहोस् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्