नेभिगेशन
राजनीति

‘भावी प्रधानमन्त्री’का उम्मेदवारको क्षेत्रगत घोषणापत्र

काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले ‘भावी प्रधानमन्त्री’ घोषणा गरेका गगन थापा र बालेन शाहले आ–आफ्नो निर्वाचन क्षेत्र केन्द्रित घोषणापत्र सार्वजनिक गरेका छन् । सर्लाही–४ मा उम्मेदवार रहेका कांग्रेस सभापति थापा र झापा–५ मा उम्मेदवार रहेका रास्वपाका वरिष्ठ नेता शाहले सोमबार क्षेत्रगत घोषणापत्र सार्वजनिक गरेका हुन् । 
बालेनले आफ्नो चुनावी वाचापत्रमा भूमिको मुद्दामा विशेष जोड दिएका छन् । उसो त झापा–५ मा निर्णायक मत भूमिहीन र सुकुम्वासीहरुको रहेको मानिन्छ । शाहले वाचापत्र मार्फत काठमाडौंमा आफूले सुकुम्वासी हटाएको भन्दै लाग्ने गरेको आरोप चिर्न वाचापत्रमार्फत प्रयास मात्र गरेका छैनन्, सुकुम्वासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्न समयसीमा नै तोकेका छन् । 
उनले भूमि व्यवस्थापन गर्न एक सय दिनमा आयोग बनाउने र एक हजार दिनमा समस्याको समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ‘झापा–५ का भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग, १००० दिनमा समाधान नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोगमार्फत समयसीमाभित्र कार्य सम्पन्न गरिनेछ,’ शाहको वाचापत्रमा छ । 
त्यस्तै, बाँझो जमिन सदुपयोग गर्नका लागि उनले ‘ल्याण्ड बैंक’ को व्यवस्था गर्ने बताएका छन् । वाचापत्रमा भनिएको छ, ‘बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्दै जग्गा चक्लाबन्दी तथा एकीकरण प्रवद्र्धनका लागि ल्याण्ड बैंकको व्यवस्था गरिनेछ ।’  ऐलानी जग्गा सम्बन्धित उचित व्यवस्था एवं नक्सांकन अभिलेख नभएका जमिनहरूको नापी नक्सा अभिलेखिकरण गर्ने कार्य सम्पन्न गरिने पनि उनको प्रतिबद्धता छ । 
१ लाख ६३ हजारभन्दा बढी मतदाता रहेको झापा–५ मा ठूलो संख्यामा सुकुम्बासी परिवार र उनीहरुका आफन्त मतदाता छन् । सुकुम्बासीको मत निर्णायक हुने भएकाले दलका उम्मेदवारहरू अहिले उनीहरुलाई आकर्षित गर्ने योजना ल्याइरहेका छन् । 
झापा–५ मा दुई नगरपालिका र दुई गाउँपालिका पर्छन् । दमक नगरपालिकामा मात्र साढे ६ हजारभन्दा बढी र कमल गाउँपालिकामा २ हजारभन्दा धेरै सुकुम्बासी परिवार छन् । गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा पनि सुकुम्बासीको बसोबास छ । यसअघि १६ हजारभन्दा बढी परिवारले धनीपूर्जा माग गर्दै निवेदन दिए पनि हालसम्म पनि लालपुर्जा पाउन नसकेको गुनासो उनीहरुले उम्मेदवारहरुसँग राखिरहेका छन् । यसअघि कमल गाउँपालिकामा रहेको सुकुम्बासी बस्तीमा पुग्दा शाहले काठमाडौंमा नदि किनारमा बस्ने सुकुम्बासीलाई बाढीबाट जोगाउन खोजेको बताएका थिए । 
उसो त झापा–५ मा उम्मेदवार रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले क्षेत्रगत ४२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै  सुकुम्बासी र भूमिहीनको मुद्दा समबोधन गर्ने दाबी गरेका थिए । ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गाको स्वामित्व (लालपूर्जा) प्रदान गर्ने कार्यलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । विगतमा आफ्नै नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधानका लागि आयोग बनाएर काम अघि बढाएको दाबी गर्दै उनले बीचमा रोकिएका कामहरू पूरा गर्ने आश्वासन दिएका छन् । सुकुम्बासी समस्यालाई राष्ट्रिय समस्याको रूपमा परिभाषित गर्दै यसलाई स्थायी रूपमा समाधान गर्न आगामी ५ वर्षभित्र सबै भूमिहीनलाई जमिनको मालिक बनाउने ओलीको योजना छ । झापा–५ मा एमाले अध्यक्ष ओली र रास्वपाका शाहलाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ । 
बालेनको वाचापत्रमा के छ ? 
एमाले अध्यक्ष ओलीले न जेनजी विद्रोहको मुख्य कारक आफू हुँ भने, न त भदौ २३ मा प्रहरीको गोलीले १९ जना मारिँदाको दोष आफ्नो सरकारको भनेर स्वीकारे । बालेनसँग उनको पहिल्यैदेखि नै मतभेद चल्दै आएको थियो । अचानक मुलुक मध्यावधि निर्वाचनमा जाँदा उनै ओलीलाई उनकै क्षेत्रबाट पराजित गर्ने चुनौती दिँदै बालेन झापा पुगेका हुन् । 
उनी झापा त गए तर त्यहाँका मतदातालाई कसरी रिझाउने भन्नेमा ठूलै जुक्ति लगाउनुपर्ने भएको छ । एमालेको राम्रो मताधार रहेको क्षेत्र भएकाले बालेनले सुकुम्बासी रिझाउने जुक्ति लगाएका हुन् । नत्र पार्टीले करारपत्र, वाचापत्र ल्याउँदा ल्याउँदै छुट्टै आश्वासनका सूची सार्वजनिक गर्नैपर्ने बाध्यता थिएन ।  


बालेनले शिक्षा, सुशासन र विकासका मुद्दालाई निर्वाचन क्षेत्रको वाचापत्रमा प्राथमिकतामा राखेका छन् । उनले काठमाडौं महानगरपालिकामा सफल मानिएको ‘शिक्षामा सीप कार्यक्रम’ झापा–५ मा पनि लागू गर्ने प्रतिबद्धता जनाएका छन् । यसबाट विद्यार्थीहरूको विदेश पलायन हुने बाध्यता न्यूनीकरण हुने उनको विश्वास छ ।
यस्तै, गौरीगञ्जको ऐतिहासिक त्रिभुवन पुस्तकालयलाई डिजिटल अध्ययन तथा अनुसन्धान केन्द्र बनाउने, लखनपुरमा ‘कोशी आयुर्वेद प्रतिष्ठान’ स्थापना गर्ने र दमकको साइन्स पार्कलाई व्यवस्थित गर्ने उनको योजना छ । 
विद्यालय छाड्ने दरलाई शून्यमा झार्ने र स्थानीय भाषा–लिपिलाई पाठ्यक्रममा समावेश गर्ने कार्यक्रम ल्याउने उनको वाचापत्रमा उल्लेख छ । स्वास्थ्यसँग सम्बन्धमा उनले दमक अस्पताललाई पहिलो चरणमा ३०० शड्ढयाको अस्पतालको रूपमा स्तरोन्नति गर्ने बाचा गरेका छन् । विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शड्ढयाको १० प्रतिशत छुट्याएर निःशुल्क उपचार अनिवार्य रूपमा उपलब्ध गराउने कानुनी व्यवस्थालाई सशक्त रूपमा कार्यान्वयन गर्ने बाचापत्रमा छ ।
‘राष्ट्रिय नीति तथा बजेटमा झापा–५ का विकासका मुद्दाहरू सशक्त रूपमा उठाउनेछु । संघ, प्रदेश र स्थानीय तहका विकास योजनाको प्रभावकारी अनुगमन गर्नेछु । स्थानीय जनताका समस्या र आवाज संसदमा निरन्तर रूपमा प्रस्तुत गर्नेछु ,’ वाचापत्रमा उनले भनेका छन्, ‘नेपाल सरकार र जेएन–जी बीच भएका सम्झौताहरूको पूर्ण, पारदर्शी र समयमै कार्यान्वयन सुनिश्चित गर्नेछु ।  स्थानीय तथा प्रदेश सरकारका योजनाहरू संघीय तहबाट छिटो र परिणाममुखी रूपमा कार्यान्वयन हुने वातावरण सिर्जना गर्नेछु ।’

सर्लाही–४ मा गगनको प्रतिज्ञाः ‘जनता दलान’ देखि ‘दशगजा उज्यालो’ सम्म
कांग्रेसका सभापति एवम् सर्लाही–४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन थापाले पनि आफ्नो निर्वाचन क्षेत्रका लागि ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गरेका छन् । प्रतिज्ञा पत्रमा थापाले पूर्वाधार विकास, कृषि सुधार, र सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखेका छन् । सीमा क्षेत्रका नागरिकको सुरक्षा र विकासका लागि ‘दशगजा उज्यालो अभियान’ मार्फत हाई–मास्ट लाइट जडान र विशेष विकास प्याकेज कार्यान्वयन गर्ने उनको योजना छ ।
काठमाडौं–४ छाडेर मधेश झरेका थापालाई त्यहाँका मतदाता रिझाउन ठूलो चुनौती छ । हरेक पटकका गठबन्धनमा उनी जिम्मेवार थिएनन्, तर पार्टी सरकारमा गएकै हो, लामो समय बसेकै हो । अघिल्ला सरकारका अपजसहरुमा उत्तर दिनुपर्ने प्रश्न आउँदा थापा सतर्क देखिएका छन् । पार्टीको निर्वाचन घोषणापत्रपछि छुट्टै आश्वासनका सूची ल्याउनु आफूले पछि काम गर्न सजिलो बनाउने कार्यसूचीसँगै मतदाता रिझाउने उपायका रुपमा हेर्न सकिन्छ ।    
किसान र पूर्वाधारमा विशेष प्याकेज
थापाले सर्लाही–४ को मुख्य समस्याको रूपमा रहेको कृषि र पूर्वाधारलाई सम्बोधन गर्न ‘कृषि उत्थान, किसान गौरव अभियान’ घोषणा गरेका छन् । उनले उखु किसानको समयमै भुक्तानी, मल र बीउको सहज उपलब्धता तथा सिँचाइ विस्तारको ग्यारेन्टी गर्ने प्रतिज्ञा गरेका छन् ।  किसानहरूलाई विनाधितो ऋण उपलब्ध गराउन विशेष अभियान चलाउने र दुग्ध तथा तरकारी खेतीको बजारीकरणका लागि ‘कोल्ड स्टोरेज’ निर्माण गर्ने उनको योजना छ । पूर्वाधारतर्फ उनले जीर्ण पुलहरूको मर्मत, नयाँ सडक निर्माण र बागमती तथा मनुस्मरा नदीको कटान रोक्न पक्की तटबन्ध बनाउने प्रतिज्ञा गरेका छन् । 
शिक्षा र स्वास्थ्यमा योजनै योजना 
शिक्षा क्षेत्रमा ‘कापी कलम अभियान’मार्फत गणित, विज्ञान र अंग्रेजी शिक्षकको उपलब्धता सुनिश्चित गर्दै विद्यालयहरूलाई प्रविधिमैत्री बनाउने थापाको योजना छ । विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीका लागि छात्रवृत्ति र उच्च शिक्षाका लागि सुविधासम्पन्न क्याम्पस स्थापना गर्ने, छोरीहरूको शिक्षा र आर्थिक आत्मनिर्भरताका लागि ‘सबल छोरी अभियान’ सञ्चालन गर्ने प्रतिज्ञा पत्रमा भनिएको छ । 
त्यस्तै, पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले स्वास्थ्यतर्फ प्रत्येक स्थानीय तहमा चिकित्सकसहितको ‘स्वास्थ्य प्रवद्र्धन केन्द्र’ र आधुनिक उपकरणसहितको ‘मधेश मृगौला उपचार केन्द्र’ र जेष्ठ नागरिकको उपचारका लागि मोबाइल क्लिनिक’ मार्फत घरदैलोमै सेवा पु-याउने योजना उनले अघि सारेका छन् । 
दलित अधिकार र सामाजिक न्याय
थापाले मुसहर, चमार, डोम, पासवानदगायतका सर्लाही–४ का दलित समुदायको उत्थानका लागि ‘दलित अधिकार, समता र न्याय अभियान’ शुरु गर्ने प्रतिज्ञा गरेका छन् । उनले भूमिहीन दलितलाई भूमि र आवासको व्यवस्था गर्ने, पुख्र्यौली सीपलाई आधुनिक प्रविधिसँग जोड्न विनाधितो सहुलियत ऋण दिने र दलित विद्यार्थीलाई विश्वविद्यालय तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने बताएका छन् । महिला सशक्तिकरणका लागि २ प्रतिशत ब्याजमा ‘महिला उद्यम कर्जा’ र लखपति आमा उद्यमी अभियान जस्ता योजनाहरूले सर्लाही–४ को आर्थिक र सामाजिक चित्र बदल्ने उनको दाबी छ ।
त्यस्तै, सांसद र जनताबीचको दुरी कम गर्न थापाले सर्लाहीमै व्यवस्थित सांसद कार्यालय ‘जनता दलान’ स्थापना गर्ने घोषणा गरेका छन् । काठमाडौं जाँदा हुने सास्ती कम गर्न काठमाडौंमा ‘स्याटेलाइट जनता दलान’ सञ्चालन गरिने पनि उनको प्रतिबद्धता छ ।
मैथिली र बज्जिका संस्कृतिको संरक्षणका लागि ‘सांस्कृतिक केन्द्र’ निर्माण गर्ने र ऐतिहासिक मन्दिर, पोखरी तथा धर्मशालाहरूको सम्वद्र्धन गरी धार्मिक पर्यटन विकास गर्ने योजना थापाको छ । 
सर्लाही–४ मा यसअघि स्वतन्त्र उम्मेदवार अमरेश सिंह निर्वाचित भएका थिए । उनी यसपटक रास्वपाका उम्मेदवार बनेका छन् ।
बालेनको योजना
१.भ्रष्टाचार विरुद्धको अभियान ः संघीय संसदमा बेथिति र भ्रष्टाचारविरुद्ध अग्रपंक्तिमा रहेर आवाज उठाउने र सुशासन कायम गर्ने ।
२.शिक्षामा ‘सीप’ कार्यक्रम ः काठमाडौं महानगरमा सफल भएको ‘शिक्षामा सीप कार्यक्रम’ झापामा लागू गरी विद्यार्थीहरूको विदेशिनुपर्ने बाध्यता अन्त्य गर्ने ।
३. डिजिटल र आधुनिक शिक्षा ः गौरीगञ्जको ऐतिहासिक त्रिभुवन पुस्तकालयलाई ‘डिजिटल अध्ययन अनुसन्धान केन्द्र’ बनाउने र सामुदायिक विद्यालयमा स्मार्ट कक्षा तथा प्रयोगशाला स्थापना गर्ने ।
४.स्वास्थ्य र आयुर्वेद ः कमल (लखनपुर) मा ’कोशी आयुर्वेद प्रतिष्ठान’ र प्रादेशिक आयुर्वेद अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने ।
५.स्थानीय संसद सचिवालय ः झापा–५ मा व्यवस्थित संसद सचिवालय स्थापना गरी स्थानीय जनताका समस्या र सरोकारलाई सिधै सम्बोधन गर्ने ।
६.ड्रप–आउट शून्य बनाउने ः विद्यार्थी टिकाइराख्ने कार्यक्रममार्फत विद्यालय छोड्ने दरलाई शून्यमा झार्ने र फरक क्षमता भएका बालबालिकाका लागि विशेष नीति ल्याउने ।
७.पूर्वाधार विकास ः दमक बहुप्राविधिक शिक्षालयको भवन निर्माण सम्पन्न गर्ने र दमक–१० को साइन्स पार्कलाई थप व्यवस्थित गरी सञ्चालन गर्ने ।
८.भाषा र संस्कृति संरक्षण ः विद्यालयको पाठ्यक्रममा स्थानीय भाषा र लिपिलाई प्रारम्भिक शिक्षादेखि नै समावेश गर्न पहल गर्ने ।
९.तीन तहको समन्वय ः संघ, प्रदेश र स्थानीय सरकारका योजनाहरू बीच प्रभावकारी अनुगमन र समन्वय गरी विकास निर्माणलाई गति दिने ।
१०.सेवामुखी राजनीति ः राजनीतिलाई पेसा नभई सेवा बनाउने र जनताको विश्वासलाई इमानदारीपूर्वक काममा रूपान्तरण गर्ने ।
गगनका योजना 
१. जनता दलान (सांसद कार्यालय): मतदाताका गुनासो र समस्या प्रत्यक्ष सुन्न निर्वाचन क्षेत्रमा ‘जनता दलान’ र काठमाडौंमा ’स्याटेलाइट कार्यालय’ स्थापना गर्ने ।
२. कृषि उत्थान: उखु किसानको भुक्तानी सुनिश्चित गर्ने, समयमै मल–बीउ उपलब्ध गराउने र किसानलाई विना धितो ऋण दिन ‘किसान गौरव अभियान’ चलाउने ।
३. गुणस्तरीय शिक्षा: विद्यालयलाई प्रविधिमैत्री बनाउन अभियान सञ्चालन गर्ने र विपन्न तथा मुस्लिम समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने । 
४. सुलभ स्वास्थ्य: प्रत्येक स्थानीय तहमा ‘स्वास्थ्य प्रवद्र्धन केन्द्र’ र आधुनिक ‘मधेश मृगौला उपचार केन्द्र’ स्थापना गर्ने ।
५. महिला सशक्तिकरण:महिला समूहको जमानीमा २ प्रतिशत ब्याजमा ‘महिला उद्यम कर्जा’ उपलब्ध गराई ‘लखपति आमा’ अभियान सञ्चालन गर्ने ।
६. दलित अधिकार र न्याय:भूमिहीन दलितलाई आवासको व्यवस्था गर्ने र दलित विद्यार्थीलाई विश्वविद्यालय तहसम्म निःशुल्क शिक्षाको पहल गर्ने ।
७. दशगजा उज्यालो अभियान:सीमा क्षेत्रको सुरक्षाका लागि ’हाई–मास्ट लाइट’ जडान गर्ने र सीमावर्ती बस्तीका लागि विशेष विकास प्याकेज ल्याउने ।
८. रोजगारी र उद्यमशीलता:युवाहरूलाई विना धितो सहुलियत ऋण र मेन्टरसिप प्रदान गरी ‘पुँजीको मालिक’ बनाउने अभियान चलाउने ।
९. संस्कृति र पहिचानः मैथिली–बज्जिका भाषा र संस्कृतिको संरक्षणका लागि ‘सांस्कृतिक केन्द्र’ निर्माण गर्ने तथा धार्मिक क्षेत्रको पर्यटन विकास गर्ने ।
१०. पूर्वाधार विकासः बागमती र मनुस्मरा नदीको कटान नियन्त्रण गर्न पक्की तटबन्ध बनाउने र जीर्ण सडक तथा पुलहरूको मर्मत गर्ने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्