नेभिगेशन
प्रदेश

धादिङमा बस दुर्घटना, १९ को मृत्यु, २५ घाइते

ट्राफिक प्रहरीको मृत्यु, २२ जना घाइते

काठमाडौं  । पोखराबाट काठमाडौं आइरहेको एउटा यात्रुबस धादिङको भैंसीगौंडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । माछापुछ्रे टुर्स एण्ड ट्राभल्सको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब १ः३० बजे बेनिघाट रोराङ गाउँपालिका–५ मा पृथ्वी राजमार्ग खण्डबाट त्रिशूली नदी किनारमा खसेको हो ।
घाइतेहरूलाई धादिङ र आसपासका स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घाइतेमध्ये १२ जनाको राष्ट्रिय ट्रमा सेन्टर र १० जनाको नेपाल नेशनल अस्पतालमा उपचार भइरहेको छ । उपचारमर्थ ल्याइएकामध्ये एक घाइतेको मृत्यु भएको छ भने केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमै मृत्यु हुने १७ मध्ये दुईजना विदेशी नागरिक छन् । मृत्यु हुनेमा गाडीधनी तनहुँका ३९ वर्षीय ओमकुमार श्रेष्ठ पनि परेका छन् । रात्रिबस भएकाले छुट्टै चालक राखेका ओम आफैं पनि गाडी चलाउँथे । गाडीमै काम गरेर साउदी अरब हान्निएका उनले आठ वर्षपछि फर्किएर आफ्नै बस किनेका थिए ।    
दुर्घटनालगत्तै तीनै सुरक्षा निकाय र स्थानीय बासिन्दाको समन्वयमा उद्धार कार्य सञ्चालन गरिएको थियो । अप्ठ्यारो भू–भाग र रातिको समयका कारण उद्धारमा चुनौती आए पनि अधिकांश घाइतेलाई सुरक्षित रूपमा बाहिर निकालिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालका गोताखोरसहितको टोली, नेपाल प्रहरी तथा स्थानीयले रातभर उद्धारमा खटिएका थिए । बसभित्र च्यापिएका ललितपुर इमाडोलका कृष्णराज मानन्धरलाई करिब पाँच घण्टापछि जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौंका अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उपचारलाई उच्च प्राथमिकता दिन चिकित्सक तथा अस्पताल व्यवस्थापनलाई उनले निर्देशन दिँदै उपचारमा कुनै कमी हुन नदिन आग्रह गरे । 
यसैबीच गृहमन्त्री अर्यालको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले दुर्घटनाको छानबिनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । गृह प्रवक्ता आनन्द काफ्लेका अनुसार कार्यदललाई दुर्घटनाको कारण, जिम्मेवार पक्ष तथा सुधारका उपायसहितको प्रतिवेदन शीघ्र पेस गर्न कार्यादेश दिइएको छ । बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित विभागका पदाधिकारी सहभागी थिए ।
बैठकले घाइतेहरूको उपचार प्रभावकारी बनाउने, मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने र सडक सुरक्षासम्बन्धी कानुन कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । 
प्रहरीका अनुसार मृतकहरूको सनाखत कार्य जारी छ । हालसम्म केही मृतकको पहिचान खुले पनि अधिकांशको पहिचान हुन बाँकी छ । शव परीक्षणका लागि धादिङ अस्पताल तथा गजुरी स्वास्थ्य केन्द्रमा राखिएको  छ । 
दुर्घटनाप्रति विभिन्न राजनीतिक दल तथा जनप्रतिनिधिले दुःख व्यक्त गरेका छन् । सरकारले राजमार्गको ट्राफिक व्यवस्थापन, निगरानी र अनुगमन सुदृढ गर्ने, सवारी साधनको प्राविधिक परीक्षण तथा चालक–सहचालकको तालिम र स्वास्थ्य परीक्षण प्रणाली कडा बनाउने प्रतिबद्धता जनाएको छ । सरोकारवालाले भने छानबिन प्रतिवेदनको प्रभावकारी कार्यान्वयनमै मुख्य ध्यान दिनुपर्ने बताएका छन् । ठूलो संख्याको हताहतीसहितको दुर्घटनाले पुनः सडक सुरक्षाको सवाललाई उठाएको छ ।
ट्राफिक प्रहरीको मृत्यु, २२ जना घाइते
छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । धनुषामा भएको दुर्घटनामा मोटरसाइकल चालक ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतोको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत महतोले चलाएको मोटरसाइकललाई  जनकपुर–४ मुरलीचोकमा विपरीत दिशाबाट आएको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले ठक्कर दिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख सूर्यबहादुर शाहीका अनुसार घटनामा सख्त घाइते महतोको मृत्यु भएको हो । शव प्रादेशिक अस्पताल, जनकपुर पठाइएको छ भने टिपर र चालक ट्राफिक प्रहरी कार्यालय जिरोमाइलले नियन्त्रणमा लिएको छ । 
यस्तै मदन भण्डारी सडक मार्गअन्तर्गत उदयपुरको उदयपुरगढी–७ अँधेरीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । कटारीबाट गाईघाटतर्फ आइरहेको बा२ख ६२५७ नम्बरको ओखलढुंगे डिलक्स बस गोलाइमा अनियन्त्रित भई सडकबाट तल खसेको डीएसपी निरञ्जन थापाले बताए ।  घाइतेमध्ये ६ जनालाई थप उपचारार्थ विराटनगरको न्युरो अस्पताल लगिएको छ भने बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै दाङको घोराही–३ चिसापानी मसोटनजिक लमहीबाट घोराहीतर्फ जाँदै गरेको लु २ ख ३२७७ नम्बरको बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । दाङका डीएसपी रेशम बोहराका अनुसार घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्