झापा । हिरण्यप्रसाद भट्टराई शान्त र संयमित छन् । साथमा भीड छैन । न त अघिपछि समर्थक छन् । झोलामा बोकेका पर्चा र घोषणापत्र छन् ।
प्रचार सामग्री बाँड्दै हिँडेका ८३ वर्षीय भट्टराई झापा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । गाउँबस्तीमा मत मागिरहेका उनी कोशी प्रदेशका १४ जिल्लाका प्रत्यक्षतर्फका उम्मेदवारमध्ये सबैभन्दा पाको उमेरका छन् ।
मेचीनगर–१ गाडागल्लीका भट्टराई नेपाल किसान मजदुर पार्टीबाट उठेका हुन् । मतदाताको घर आँगन डुलिरहेका छन् । ‘मेचीनगरका २२ हजार मतदाता रहेको बाहुनडाँगीमा पैदलै घरदैलो गरिसकेको छु,’ चुनावी चटारो बताउँदै उनी भन्छन्, ‘म उम्मेदवार भएको क्षेत्रमा दुई नगरपालिका र एउटा गाउँपालिकाका २१ वटा वडा छन् । सबैतिर पैदल हिँडेर सम्भव नहुने भएकाले अब चाहिँ गाडी चढेर भोट माग्ने विचार छ ।’
सेताम्य दाह्री–जुँघा भएका, ठाडो चन्दन लगाएको हुलियाले मात्र होइन, स्वभाव र व्यवहारका दृष्टिले उनी आध्यात्मिक व्यक्तित्व हुन् । धार्मिक र आयुर्वेद विज्ञानमा विशेष रुचि राख्दै आएका उनका जडीबुटीसम्बन्धी १४ पुस्तक प्रकाशित छन् ।
‘नेपाली परम्परा र रीतिथितिको मौलिकताको जगेर्ना हुनुपर्छ भन्ने अभियानमा लाग्दै आएको थिएँ,’ उनी भन्छन्, ‘तपाईं उम्मेदवार बनेर संसद्मा जानुपर्छ भनेर पार्टीबाट अनुरोध आयो, मैले नकार्न सकिन र उम्मेदवार बनें ।’
झापा–१ का एक लाख ३१ हजार ६७ जना मतदातासँग मत माग्दै यतिबेला भट्टराईसँगै १३ दलका र दुई स्वतन्त्र गरी १५ जना उम्मेदवार घरदैलोमा व्यस्त छन् । यस क्षेत्रमा मेचीनगर नगरपालिकाको १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७, भद्रपुर नगरपालिकाको ९ र १० नम्बर वडासहित जम्मा २१ वटा वडा छन् ।
२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका विश्वप्रकाश शर्मा ३९ हजार ६२४ मतका साथ विजयी भएका थिए । निकटतम प्रत्यासी एमालेका अग्निप्रसाद खरेलले २५ हजार ३४९ मत पाएका थिए । तेस्रोमा रास्वपाका ओमनाथ भण्डारीले ८ हजार ५६४ मत पाएका थिए । यसपटक विश्वप्रकाश मैदानमा छैनन् । उनको ठाउँमा केशवराज पाण्डे छन् । एमालेबाट रामचन्द्र उप्रेती, नेकपाबाट अशेष घिमिरे, रास्वपाबाट नीशा डाँगी, राप्रपाबाट हेमराज कार्की छन् ।
जेनजी मतदातादेखि वृद्धवृद्धाले मत दिने आश्वासन दिलाउने गर्दा पाको उमेर बिर्सिएर नयाँ जोश र जाँगर आउने गरेको भट्टराई बताउँछन् ।
‘बुढेसकालमा बा पनि उठ्नुभएछ, एउटा मत दिउँला भन्छन्, जेनजी नानीबाबु,’ घरदैलोमा मतदातासँगको संवाद सम्झिँदै उनी भन्छन्, ‘ज्येष्ठ नागरिक त झन् आफ्नै उमेरको हुनुहुँदोरहेछ भनेर जिताउने भन्नुहुन्छ । सबैले माया र विश्वास गर्नुभयो भने चुनाव जित्छु होला ।’ चुनावमा जितहार जे भए पनि आफूले सांसद बन्ने चुनावमा उठेर लोकतान्त्रिक अभ्यास गरेको उनको धारणा छ । उम्मेदवार बनेर ज्येष्ठ नागरिकको हक, हित र अधिकारको मुद्दा उठाएको उनले बताए ।
झापा जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ ९० जना उम्मेदवार चुनावी मैदानमा छन् । उनीभन्दा पाको उमेरका उम्मेदवार अर्को छैन । उनी आफूलाई फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको देशभरकै उम्मेदवारमध्ये सबैभन्दा पाको भएको दाबी गर्छन् ।
निर्वाचन आयोगले प्रकाशित गरेको कोशी प्रदेशका १४ जिल्लाका उम्मेदवारको सूची हेर्दा उनी प्रदेशकै सबैभन्दा पाको उम्मेदवार देखिन्छन् भने देशभरमा ८० नाघेका दोस्रा हुन् । निर्वाचन आयोगको सूचीअनुसार यसपटक मुलुकमै जेठा उम्मेदवार नेकपाका सर्लाही–२ का महिन्द्रराय यादव हुन्, जो ८८ वर्षका छन् । कोशी प्रदेशको दोस्रो पाको उम्मेदवारमा ओखलढुंगाका राष्ट्रिय जनमोर्चाका शेरबहादुर खत्री छन्, जसको उमेर ८० वर्ष छ । झापा–२ मा नेपाल जनमुक्ति पार्टीबाट उम्मेदवार मानवबहादुर पुलामी मगर ७५ वर्षका छन् ।
सत्तरीका १३ उम्मेदवार
महिन्द्र राय यादव (८८), सर्लाही–२, नेकपा
हिरण्यप्रसाद भट्टराई (८३), झापा–१, नेमकिपा
पूर्णबहादुर शिवाकोटी (७६), दोलखा–१, स्वतन्त्र
केपी शर्मा ओली (७४), झापा–५, एमाले
माधवप्रसाद न्यौपाने (७४), सिन्धुली–२, स्वतन्त्र
बालकृष्ण थापा (७३), भोजपुर, कांग्रेस
हरसलाल राजवंशी (७१), झापा–३, जनमत
नरहरि पौडेल (७१), सिन्धुली–२, स्वतन्त्र
रामचन्द्र झा (७१), धनुषा–२, नेकपा
पशुपतिनाथ ढकाल (७१), अर्घाखाँची, राजमो
केशरसिं राई (७०), संखुवासभा, जनमुक्ति
पूर्णबहादुर वाइवा तामाङ (७०), मोरङ–१ राप्रपा
चन्द्रवीर राई (७०), मोरङ–२ नेकपा