नेभिगेशन
अर्थतन्त्र

इनड्राइभको ‘काठमाडौं क्लिन एयर डायलोग’

काठमाडौं । राइड–हेलिङ सेवाप्रदायक इनड्राइभले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि बहुपक्षीय सहकार्यको नयाँ पहल अघि सारेको छ । इनड्राइभले ‘काठमाडौं क्लिन एयर डायलोग’ आयोजना गरी यस्तो पहल गरेको हो ।
संवादको मूल उद्देश्य वायु प्रदूषणलाई एकल संस्थाको नभई साझा जिम्मेवारीको विषयका रूपमा स्थापित गर्नु रहेको आयोजकले जनाएको छ । त्यसका लागि सरकारी निकाय, विकास साझेदार, अनुसन्धान संस्था र निजी क्षेत्रबीच स्पष्ट भूमिका तथा जिम्मेवारी निर्धारण गर्दै प्रभावकारी समन्वय संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
कार्यक्रममा काठमाडौं उपत्यकाको वर्तमान वायु गुणस्तर अवस्थाबारे समग्र समीक्षा पनि गरिएको थियो । यातायातका सवारीसाधन, औद्योगिक गतिविधि, निर्माण कार्य तथा घरेलु इन्धन प्रयोगजस्ता प्रमुख प्रदूषण स्रोतहरूको विश्लेषण गर्दै हाल लागू गरिएका नीति तथा कार्यक्रमहरूको प्रभावकारिता मूल्यांकन गरिएको छ । यस क्रममा तथ्यमा आधारित निर्णय प्रणाली विकास नगरी प्रभावकारी हस्तक्षेप सम्भव नहुने निष्कर्ष सहभागीहरूले निकालेका छन् ।
छलफलका क्रममा नीतिगत, संरचनागत तथा व्यवहारगत अवरोधहरू पहिचान गर्दै तिनका व्यावहारिक र चरणबद्ध समाधानतर्फ उन्मुख हुनुपर्ने आवश्यकता औँल्याइएको छ । कार्यान्वयन कमजोर हुनु, अनुगमन प्रणाली पर्याप्त नहुनु तथा जनस्तरमा सचेतना अभावजस्ता चुनौती समाधान नगरेसम्म दीर्घकालीन सुधार कठिन हुने धारणा व्यक्त गरिएको छ । त्यसका लागि पारदर्शी अनुगमन संयन्त्र, विश्वसनीय तथ्यांक संकलन र उत्तरदायी निकायबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरिएको छ ।
प्रविधिमैत्री समाधान, नवप्रवर्तन तथा विद्युतीय र दिगो यातायात प्रणाली विस्तारमार्फत निजी क्षेत्रलाई वायु प्रदूषण न्यूनीकरण अभियानमा सक्रिय रूपमा सहभागी गराउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ । निजी क्षेत्रको लगानी, प्रविधि र व्यवस्थापन क्षमताले सरकारी प्रयासलाई पूरक भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री माधव चौलागाईंले सरकारका हालसम्मका पहलहरू उल्लेख गर्दै आगामी दिनमा अझ तीव्र, समन्वित र परिणाममुखी कदम चाल्नुपर्ने आवश्यकता औंल्याए । उनले स्वच्छ हावाका लागि साझा लक्ष्य निर्धारण गरी सबै सरोकारवालालाई एउटै मञ्चमा ल्याएकोमा इनड्राइभ तथा अलमाइटी एयर इनिसिएटिभको प्रशंसा गरे ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्