नेभिगेशन
अर्थतन्त्र

बालेन शाहको आर्थिक रूपान्तरणको प्रतिज्ञाः आईटी हबदेखि कृषि क्रान्तिसम्म

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा क्षेत्र नम्बर ५ का लागि महत्वाकांक्षी ‘बाचा पत्र’ सार्वजनिक गर्दै पूर्वाधार विकास, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, पर्यटन तथा उद्योग प्रवद्र्धन र कडा सुशासनमार्फत आर्थिक रूपान्तरणको खाका सार्वजनिक गरेका छन् । उनले सोमबार आफ्नो क्षेत्रका लागि चुनावी बाचापत्र सार्वजनिक गर्दै विकासका अधुरा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले दमकलाई पूर्वी नेपालको ‘आइटी हब’ बनाउनेसम्मका आर्थिक योजना अघि सारेका छन् । शाहले झापा–५ मा विभिन्न कारणले रोकिएका तथा अधुरा रहेका योजनालाई स्पष्ट समयसीमा तोकेर सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । दमक–रवि–चिसापानी सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउने, ‘हाम्रो रंगशाला, हाम्रो पहिचान’ अवधारणाअनुसार आदिवासी जनजाति रंगशाला निर्माण गर्ने तथा विराट बुद्ध पार्कलाई पूर्णता दिने योजना अघि उनले अघि सारेका छन् ।
यस्तै, दमक सभागृह र भ्युटावरजस्ता संरचनाहरूलाई उच्चतम नागरिक उपयोगितासहित सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउँदै शाहले रतुवा, मावा तथा सहायक खोलाहरूमा तटबन्ध निर्माण गरी कटान र डुबान नियन्त्रण गर्ने योजना पनि प्राथमिकतामा राखेका छन् ।
ग्रामीण सडक, लिंक रोड र पुल स्तरोन्नति गर्दै यातायात समय र ढुवानी लागत घटाउने लक्ष्य उनको बाचापत्रमा राखिएको छ । ग्रामीण तथा सीमावर्ती क्षेत्रमा भरपर्दो मोबाइल नेटवर्क र इन्टरनेट सेवा विस्तार गरिने उनले उल्लेख गरेका छन् ।
कृषि क्षेत्रलाई आत्मनिर्भर र आकर्षक बनाउने उद्देश्यसहित कनकाई–रतुवा सिँचाइ योजना विस्तार तथा लिफ्ट सिँचाइ प्रविधि प्रयोग गरिने उनको बाचापत्रमा समेटिएको छ । प्रत्येक पालिकामा ‘श्रम बैंक’ अवधारणा लागू गरी स्थानीय क्षेत्रमै रोजगारी व्यवस्थापन गर्ने बालेनको योजना छ ।
‘गौरादह कृषि भण्डारण केन्द्र’ स्थापना गरी कोल्ड स्टोर र ड्रायर सेवा एकै स्थानमा उपलब्ध गराउने उनको योजना छ । किसानलाई उत्पादनमा आधारित मल, बीउ र विद्युत्मा अनुदान दिने तथा कृषि उत्पादनको समर्थन मूल्य ग्यारेन्टीका लागि प्रणाली बनाउने बालेनले बताएका छन् ।
यस्तै, गौरादह कृषि क्याम्पसलाई अनुसन्धान हबका रूपमा विकास गर्ने, विश्वसनीय बीमा प्रणाली र प्रविधिमा आधारित उत्पादन प्रणालीमार्फत युवालाई कृषिमा आकर्षित गर्ने तथा स्थानीय उत्पादनको ब्रान्डिङ र बजार विस्तार गर्ने कार्यक्रम पनि उनले अघि सारेका छन् । पशुपालन प्रवर्धनका लागि भेटेरिनरी सेवा र पशु बीमा कार्यक्रमलाई व्यवस्थित गर्ने बाचापत्रमा भनिएको छ ।
पर्यटन र उद्योग क्षेत्रलाई आर्थिक वृद्धि र रोजगारीको मुख्य आधार बनाउने लक्ष्य राखिएको छ । गौरीगन्ज भन्सारलाई व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन गर्ने तथा सीमावर्ती पर्यटन विकास योजना कार्यान्वयन गर्ने शाहको प्रतिबद्धता छ ।
हाटबजारको मौलिकता जोगाउँदै आधुनिक व्यवस्थापन गरिने, वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि उद्यम प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने तथा धार्मिक स्थलहरूको संरक्षण र प्रवर्धन गरिने बाचा पनि उनले गरेका छन् । स्थानीय आदिवासी जनजाति संस्कृतिको संरक्षण र प्रवर्धन गर्दै दमकलाई पर्यटक ट्रान्जिट हबका रूपमा विकास गर्ने दीर्घकालीन योजना पनि शाहको बाचापत्रमा समेटिएको छ ।
यस्तै, वातावरण संरक्षणलाई विकाससँगै जोडी चुरे संरक्षण कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा वैज्ञानिक फोहोर व्यवस्थापन प्रणाली लागू गर्ने शाहको योजना छ । दमक–५ भित्र पर्ने वन, ताल तथा सिमसार क्षेत्र संरक्षण गरी स्वच्छ हावा र हरियालीयुक्त सहर निर्माणका लागि नीतिगत सुधार गर्ने योजना उनले बाचापत्रमा ल्याएका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्