काभ्रे । बजारभन्दा अलि पर, शान्त ठाउँ, रमाइलो पनि उस्तै । वरिपरि गाई, भैंसी र बाख्रापालन । यो दृष्य देख्दा कुनै व्यावसायिक पशुपालक किसानको सुधारिएको पशुफार्म झैं लाग्छ । तर, यो पशुफार्म कुनै किसानको भने होइन । यो त काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर–४ मा रहेको सामुदायिक विद्यालय जनक माविको पशुविज्ञान प्रयोगशालाको रुपमा रहेको पशुफार्म हो । यहाँ अहिले सानाठूला गरी १६ वटा गाईभैंसी र २२ वटा बाख्रा पालिएका छन् ।
२०७६ सालमा यस विद्यालयमा पशुविज्ञानसम्बन्धी पढाइ सुरु भएको हो । पहिले–पहिले निमावि तहदेखि नै पूर्वव्यवसायिक शिक्षा पढाइ हुन्थ्यो । यो सँगै मावि तहमा कृषि विषय पढाइ हुन्थ्यो तर यी विषयहरु विस्थापित भए । त्यसको ठाउँमा लेखा तथा शिक्षा लगायतका विषय राखियो । त्यसपछि कृषिसँग सम्बन्धित विषयहरु ओझेलमा परे । तर, जनक माविले भने यसलाई निरन्तरता दिएको छ ।
.jpg)
पशुविज्ञान मात्र होइन, यहाँ कृषिसँग सम्बन्धित विषय पनि पढाइ हुन्छ । विद्यालयले ८ रोपनी जग्गा पनि भाडामा लिएको छ । त्यस जग्गामा मौसम अनुसारका बालीहरु लगाइन्छ । ती बालीका विषयमा विद्यार्थीलाई जानकारी दिइन्छ ।
‘विद्यार्थीलाई सैद्धान्तिक शिक्षामात्र दिएर हुँदैन, व्यावहारिक ज्ञान पनि उतिकै चाहिन्छ । सहर बजारमा दुध कहाँबाट आउँछ भनेर सोध्यो भने केहीले प्याकेटबाट भन्छन् । केहीले गाईभैंसीले दिन्छ त भन्लान् तर उनीहरुले दुध कसरी दुहिन्छ भन्ने प्रश्नको सही जवाफ दिन गाह्रो हुन्छ किनकि उनीहरुले दुध दुहेको देखेकै हुँदैन । त्यसैले हामीले सैद्धान्तिक, घोकन्ते शिक्षालाई व्यावहारिक बनाउनका लागि यसरी पशुपालन गरेका हौं । यहाँ पढेका विद्यार्थीले विद्यालय छोडेपछि पनि काम पाउनका लागि कतै धाउनु पर्दैन । हामीले केही न केही सीप सिकाएर पठाउँछौं,’ विद्यालयका संयोजक हरिहर अधिकारी भन्छन् ।
यस वर्ष भाडामा लिएको जग्गाबाट ५० मुरी धान उत्पादन भएको थियो । अहिले त्यो ठाउँमा आलु खेती गरिएको छ । त्यहाँबाट आउने पराल र घाँस वस्तुलाई खुवाइन्छ । उत्पादित दुधबाट साना–साना नानीबाबुलाई दिवा खाजाको रुपमा दुध र दहीबाट परिकार बनाइन्छ । बढी भएको दुध बेचेर विद्यालयको आम्दानीको रुपमा राखिन्छ । कार्यालय सहयोगीलाई पनि त्यही कोषबाट पारिश्रमिक उपलब्ध गराउने विद्यालयका प्रधानाध्यापक प्रदीप पोखरेलले बताए । विद्यालयमा पशुपालन र पढ्दै कमाउँदै कार्यक्रम धेरै नै प्रभावकारी देखिएको उनले बताए ।
.jpg)
वरिपरिका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या निकै कम छ तर यी कार्यक्रमले गर्दा जनक माविमा विद्यार्थीको अभाव छैन । अहिले यहाँ कक्षा १ देखि १२ सम्म १ हजार १५६ विद्यार्थी अध्ययनरत छन् । उनीहरु यस विद्यालयको वातावरणप्रति निकै नै खुसी देखिएका छन् । ‘हामीले यहाँबाट पढ्दै सिक्दै गर्न पाएका छौं,’ कक्षा ८ का विद्यार्थी अंकित काफ्ले भन्छन् ।
यहाँ पालिएका बाख्रा विद्यार्थीलाई ६ महिनाका लागि दिने र त्यसले जन्माएका पाठापाठीमध्ये एउटा विद्यालयलाई बुझाएपछि माउ भने विद्यार्थीले नै लिन पाउने व्यवस्था छ । गाईवस्तु भने आवश्यकताअनुसार बिक्री गरिन्छ । यी पशुको हेरचाह गर्न हेरालुहरु र पशु चिकित्सकहरु पनि राखिएको छ । यी सबै विषयमा विद्यार्थीले व्यावहारिक सीप पनि सिक्न पाएका छन् ।
६५ रोपनीमा फैलिएको विद्यालय परिसरमा पुष्पखेती पनि गरिएको छ । यसले पनि विद्यालयको आम्दानी केही वृद्धि भएको छ । विद्यालयमा आवासीय व्यवस्था पनि छ । जहाँ हाल ६० जना विद्यार्थी बस्छन् । काभ्रेका अतिरिक्त बाहिरी जिल्लाका ३० विद्यार्थी यहाँ अध्ययनरत छन् । वैशाखबाट माछापालन पनि गर्ने तयारी रहेको शिक्षक एवं विद्यालयका संयोजक अधिकारी बताउँछन् । उनका अनुसार मौरीपालन भने त्यति सफल हुन सकेको छैन ।
२०२९ सालमा स्थापना भएको यस विद्यालयमा २०४० सालदेखि मावि तहको पढाइ सुरु भएको हो भने २०४१ सालदेखि एसएलसी सुरु भएको हो । हाल यहाँ नेपाली र अंग्रेजी दुवै माध्यमबाट अध्यापन भइरहेको छ । नृत्य र खेलकुदका छुट्टै कक्षा सञ्चालनमा छन् भने सूचना प्रविधि प्रयोगशाला पनि छ । सबै कक्षाकोठामा इन्टरनेट सुविधा छ भने सुविधासम्पन्न कक्षाकोठा छन् । यहाँ २०६६ सालदेखि स्नातक तहसम्मको पनि पढाइ सञ्चालन भइरहेको छ ।
.jpg)
हाल सञ्चालन भइरहेको पढ्दै कमाउँदै कार्यक्रमका लागि विद्यालयले जनक उद्यम कोष खडा गरेको छ । यहाँ २२ लाख ५० हजारको अक्षयकोषबाट २ प्रतिशत ब्याजमा एक जना विद्यार्थीबराबर ५० हजारसम्मको ऋण दिइने गरिएको प्रधानाध्यापक पोखरेल बताउँछन् । उनका अनुसार यसरी ऋण लिने विद्यार्थीको संख्या यहाँ ९ जना रहेको छ । यसबाट केहीले कालिजपालन गरिरहेका छन् । यसरी लिएको ऋण भने एक वर्षमा फिर्ता गर्नुपर्ने पनि उनले जानकारी दिए ।
विद्यालयमा हाल इजरायल सरकारको आर्थिक सहयोग र काठमाडौं विश्वविद्यालयको समन्वयमा पाइलट प्रोजेक्ट सञ्चालनको तयारीमा छ । जसबाट विद्यालयमा उत्पादन भएको फोहोरलाई प्रशोधन गरिने र यहाँबाट आएको मललाई खेतबारीमा प्रयोग गरिने गरि काम अघि बढेको छ ।
नेपाल टेलिकमको सहयोगमा एक वर्षदेखि १२ वटा कम्प्युटरसहितको ई–लाइब्रेरी पनि सञ्चालनमा छ । यसले विद्यालयलाई प्रविधिमैत्री बनाउन थप सहयोग गरेको छ । ‘सामुदायिक विद्यालय भन्नेबित्तिकै धेरैले नाक खुम्च्याउँछन् तर जनक माविको नाम सुन्नेबितिकै त्यो भ्रम टुट्छ,’ अभिभावक भन्छन् ।