नेभिगेशन
राजनीति

उम्मेदवार चिनौंः रवि लामिछाने

पत्रकारिताबाट सत्ता–राजनीतिसम्मको असाधारण यात्रा
नेपाली सार्वजनिक जीवनमा रवि लामिछाने एउटा यस्ता पात्र हुन्, जसले टेलिभिजनको स्टुडियोबाट सुरु गरेको यात्रालाई छोटो समयमै राष्ट्रिय राजनीतिको केन्द्रसम्म पु¥याए । जनताको पीडा बोल्ने पत्रकार, नेतृत्वलाई प्रश्न गर्ने आवाज हुँदै राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेका रविको जीवन यात्रा बहुआयामिक, विवादास्पद र उत्तिकै प्रभावशाली देखिन्छ । 
प्रारम्भ ः पत्रकारिताबाट पहिचान
टेलिभिजन पत्रकारितामार्फत उनले आम जनताको आवाजलाई सशक्त रूपमा प्रस्तुत गरे । विशेषगरी सिधा कुरा जनतासँग कार्यक्रमले उनलाई देशव्यापी लोकप्रियता दिलायो । प्रशासनिक ढिलासुस्ती, सामाजिक अन्याय र राजनीतिक विकृतिमाथि उनले उठाएका प्रश्नले उनलाई “जनताको प्रतिनिधि पत्रकार” को रूपमा स्थापित ग¥यो । 
नयाँ बाटो ः मिडियाबाट राजनीति
टेलिभिजन यात्रामा उनले न्यूज २४ टेलिभिजन छाडेर आफ्नै लगानीमा ग्यालेक्सी ४ के स्थापना गरे । त्यहाँ पनि जनजीविकाका मुद्दामा केन्द्रित कार्यक्रममार्फत उनले लोकप्रियता अझ बढाए । २०७९ असारमा उनले टेलिभिजन छाडेर औपचारिक रूपमा राजनीति रोजे । ७ असारमा घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उनको राजनीतिक यात्राको निर्णायक मोड बन्यो । नयाँ पार्टीले छोटो समयमै देशव्यापी संगठन निर्माण ग¥यो र जनतामा वैकल्पिक शक्तिको रूपमा उभियो । 
चुनावी सफलता र सत्ता प्रवेश 
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २० सिटमा जित हासिल गर्दै चौथो ठूलो शक्ति बन्न सफल भयो । रवि आफैले पनि चितवन २ बाट भारी मतान्तर सहित जित हासिल गरे । त्यसपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनले उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी पाए । उपप्रधान सहित गृहमन्त्री भएकै बेला नागरिकता विवादका कारण उनको सांसद र मन्त्री पद गुम्यो । उपनिर्वाचनमा फेरि बिजयी भई आफ्नो जनाधार कायम राखे । पार्टी स्थापनाको पाँच महिनामै यस्तो परिणाम ल्याउनु नेपाली राजनीतिमा असाधारण उपलब्धि मानियो । 
लोकप्रियता, विवाद र चुनौती
रवि लामिछानेको यात्रा केवल सफलताले भरिएको छैन—विवादले पनि उत्तिकै पछ्याएको छ । नागरिकता प्रकरणदेखि सहकारी रकम दुरुपयोग आरोपसम्म उनले कानुनी र राजनीतिक दबाब सामना गरिरहेका छन् । सत्ता प्रवेश र गृहमन्त्री पदको भूमिकाले समर्थक र आलोचक दुवैको ध्यान ताने । सहकारी काण्डमा उनको नाम जोडिँदा “किन मात्र रवि?” भन्ने बहस सार्वजनिक रूपमै उठ्ने गरेको छ । 
राजनीतिक विश्लेषणः उदय र सम्भावना
रवि लामिछानेको उदय पुराना दलप्रतिको जनअसन्तोषको प्रत्यक्ष परिणाम हो । उनले प्रतिनिधित्व गरेको राजनीतिक शैली भावनात्मक समर्थन, प्रत्यक्ष संवाद र जनसरोकारमा आधारित थियो । आज उनको यात्रा नेपाली राजनीतिमा एउटा महत्वपूर्ण केस स्टडी बनेको छ । टेलिभिजनको पर्दामा प्रश्न सोध्ने व्यक्ति आज नेपाली राजनीतिको मियो बनेर उभिएका छन् । अब ईतिहासले उनलाई कस्तो नेता बनाउँछ भन्ने निर्णय उनले गर्ने कामले तय गर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्