नेभिगेशन
प्रदेश

रास्वपा दाङमा तीव्र असन्तुष्टि, दर्जनौँ नेता-कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा

दाङ । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि चुलिँदै जाँदा दिनहुँजसो नेता–कार्यकर्ताले पार्टी परित्याग गर्ने क्रम बढेको छ।

मंगलबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमार्फत् रास्वपाका युएई प्रवास नेपाली कमिटीका सचिव बलभद्र ओली, दाङ क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य विजय केसीलगायत दर्जनभन्दा बढी नेताहरूले पार्टी छाडेको घोषणा गरेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले पछिल्लो समय पार्टीभित्र व्यापक विचलन देखिएको आरोप लगाए। टिकट वितरणदेखि विभिन्न निर्णय प्रक्रियासम्म आर्थिक अपारदर्शिता र मनपरी ढंगले काम भएको भन्दै आफूहरू असन्तुष्ट बनेको बताएका छन्।

युएई प्रवासमा स्थापनाकालदेखि नै संगठन विस्तारमा सक्रिय रहेको उल्लेख गर्दै बलभद्र ओलीले देश परिवर्तन गर्ने विश्वाससहित नेपाल फर्किए पनि पार्टीभित्र देखिएको अवस्थाले निराश बनाएको बताए। उनले रास्वपाबाट अपेक्षित परिवर्तन सम्भव नदेखिएको दाबी गर्दै आगामी निर्वाचनमा 'राम्रो र सक्षम उम्मेदवार'लाई मतदान गर्न मतदातासँग आग्रह गरे।

दाङमा निर्वाचन जनचेतना अभियान सञ्चालन गरी रास्वपाका गलत क्रियाकलापबारे जानकारी गराउने र योग्य उम्मेदवारको पक्षमा वातावरण बनाउन अभियान अघि बढाइने उनको भनाइ छ। त्यस्तै, विजय केसीले पनि स्थापनाकालदेखि दाङ क्षेत्र नम्बर २ मा पार्टी सुदृढीकरणका लागि नेतृत्वदायी भूमिका खेलेको दाबी गर्दै पछिल्लो समय पार्टीमा 'खराब प्रवृत्तिका व्यक्तिहरू हावी' भएको आरोप लगाए। उनले देशभर नै पार्टी छाड्ने क्रम बढिरहेको दाबी गर्दै अझै धेरैले पार्टी परित्याग गर्ने संकेत गरे।

दाङमा रास्वपाभित्र देखिएको यो पछिल्लो घटनाक्रमले स्थानीय राजनीतिमा नयाँ तरंग ल्याएको छ। आगामी निर्वाचनको सन्दर्भमा यसले कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्