नेभिगेशन
प्रदेश

प्रचारको गर्मीसँगै आचारसंहिता उल्लंघन

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मोरङमा चुनावी प्रचारप्रसार चर्किंदै गएको छ । प्रचारको तीव्रतासँगै निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्न थालेपछि सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् । आचारसंहिताअनुसार उम्मेदवारले प्रचारमा प्रयोग गर्ने सवारीसाधनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट पूर्वअनुमति लिनुपर्छ । तर, जिल्लामा अधिकांश उम्मेदवारले हालसम्म अनुमति नलिएको पाइएको छ ।
अनुमति नलिई सवारीसाधन प्रयोग गर्नुका साथै डीजे साउण्ड सिस्टम, लाउडस्पिकर बजाउने, मोटरसाइकल तथा चारचक्के गाडीको ¥याली निकाल्ने र रोड शो आयोजना गर्ने गतिविधि बढेको देखिएको छ । कोशी प्रदेशको राजधानी विराटनगरमै माइकिङ, तोरण टाँग्ने, झण्डा प्रयोग गर्ने तथा सिटी रिक्सामा स्पिकर जडान गरी प्रचार गर्ने कार्य खुलेआम भइरहेको देखिएको छ । केन्द्रीय सुरक्षा समितिले उम्मेदवारलाई रूफटप (छानामाथि उभिएर) सवारीसाधन प्रयोग नगर्न निर्देशन दिएको भए पनि कतिपयले उक्त निर्देशनको बेवास्ता गरेको पाइएको छ ।
गाउँगाउँमा उम्मेदवारका प्रचार समितिले १५÷२० वटा सिटी रिक्सामा झण्डा राखेर ¥याली गर्ने, गाडीमा ठूला साउण्ड बक्स राखेर चुनावी गीत बजाउनेजस्ता गतिविधि गरिरहेका छन् । यसले ध्वनि प्रदूषण बढ्नुका साथै सर्वसाधारणको दैनिकी प्रभावित भएको गुनासो बढेको छ । बजार क्षेत्र, विद्यालय आसपास तथा आवासीय बस्तीमा समेत उच्च ध्वनिका कारण असहजता भएको नागरिकको भनाइ छ । निर्वाचन आयोगले पनि देखेको नदेखे झैं गरिदिँदा मनपरी गर्नेको मनोबल बढेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङका सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले प्रचारप्रसारका लागि सवारीसाधन अनुमतिको प्रक्रिया धेरै उम्मेदवारले पूरा नगरेको बताए । ‘निर्वाचन हुँदै आएको यतिका वर्ष भयो, तर यसपटक अनुमति लिनेतर्फ अपेक्षित गम्भीरता देखिएको छैन,’ उनले भने । आचारसंहिताको पालना गर्न सबै उम्मेदवार र दललाई आग्रह गर्दै उनले अटेर गरे कारबाही थालिने स्पष्ट पारे ।
निर्वाचन आचारसंहिता अनुगमन समिति मोरङले पनि उल्लंघनका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले आचारसंहिता विपरीतका गतिविधि तत्काल रोक्न चेतावनी दिए । ‘उल्लंघन नरोकिए सुरक्षाकर्मी परिचालन गरी सवारीसाधन नियन्त्रणमा लिइनेछ,’ उनले भने । उनका अनुसार डिजे, लाउडस्पिकरको अत्यधिक प्रयोग, अव्यवस्थित ¥याली तथा झण्डा–ब्यानरको दुरुपयोगले निर्वाचनको मर्यादा मात्र होइन, सार्वजनिक शान्ति र सुव्यवस्थामा समेत असर पु¥याएको छ ।
निर्वाचन आयोगले निर्वाचनलाई मितव्ययी, पारदर्शी र शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने लक्ष्य लिएको छ, जसका लागि स्वच्छ र स्वस्थ प्रतिस्पर्धा, आचारसंहिताको पूर्णपालना अनिवार्य छ । सरोकारवालाले प्रदेश राजधानी सहरमै आचासंहिता उल्लंघन भइरहँदा नियन्त्रण र कारबाही प्रभावकारी बनाउन अनुगमन संयन्त्रलाई सक्रिय र कडाइका साथ परिचालन गर्नुपर्ने माग गरेका छन् । अन्यथा उल्लंघनका घटनाले निर्वाचन प्रक्रियाको विश्वसनीयतामाथि नै प्रश्न उठ्न सक्ने चेतावनी उनीहरूको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्