नेभिगेशन
मनोरञ्जन

‘कल्की २’ छायांकन सुरु

काठमाडौ । भारतीय फिल्म उद्योगमा चर्चित विज्ञानकथामा आधारित ‘कल्की २८९८ एडी’ को अभूतपूर्व सफलतापछि यसको दोस्रो भाग ‘कल्की २’ आउने भएको छ । यसका लागि छायांकन सुरु भएको छ । 

हैदराबादमा सुरु भएको छायांकनमा ८३ वर्षीय अभिनेता अमिताभ बच्चन जुटेका छन् । सुटिङबाहेकका फोटा सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले जानकारी साझा गरेका हुन् । नाग अश्विनको निर्देशनमा निर्माण भइरहेको शृंखलाले भारतीय सिनेमालाई विश्वस्तरमा नयाँ उचाइ दिएको बलिउड समीक्षहरूको भनाइ छ । यसपटकको सबैभन्दा ठूलो आकर्षण भनेको महानायक अमिताभ बच्चन र दिग्गज अभिनेता कमल हसन लामो समयको अन्तरालपछि पर्दामा एकसाथ देखिनु हो । यी दुई हस्तीको पुनर्मिलनले दर्शकमा निकै ठूलो कौतुहलता र उत्साह जगाएको छ ।
पहिलो भागमा अमिताभ बच्चनले अश्वत्थामाको भूमिकामा आफ्नो दमदार अभिनय र ऊर्जाले सबैलाई मन्त्रमुग्ध पारेका थिए भने कमल हसनले नकारात्मक भूमिका ‘सुप्रिम यास्किन’का रूपमा छोटो तर प्रभावशाली उपस्थिति जनाएका थिए । तर, दुवैजना पर्दामा एउटै दृश्यमा एकसाथ देखिएका थिएनन् । दोस्रो भागमा यी दुई पात्रहरूबीचको टकराव र रहस्यमय सम्बन्धलाई अझ गहराइमा देखाइने जनाइएको छ । पहिलो भागको अन्त्यमा छोडिएका अनुत्तरित प्रश्नहरू र भविष्यको संसारको बाँकी कथा यस भागमा खुल्नेछन् । बलिउड महानायक बच्चन र दक्षिण भारतीय स्टार कमल हसन ‘गिरफ्तार’ आएको ४० वर्षपछि पुनः एउटै फिल्ममा प्रभावशाली भूमिकामा देखिएका हुन् । 
फिल्मको पहिलो भागले हिन्दु पौराणिक कथा र आधुनिक प्रविधिको फ्युजनलाई निकै सुन्दर ढंगले प्रस्तुत गरेको थियो । भगवान् विष्णुको अन्तिम अवतार ‘कल्की’ को आगमनको पृष्ठभूमिमा बुनिएको यो कथाले बक्स अफिसमा कमाइका धेरै कीर्तिमानहरू तोडेको थियो । ६ अर्ब बजेटको फिल्मले १२ अर्ब हाराहारी कमाइ गरेको थियो । प्रभास र दीपिका पादुकोणको अभिनयले पनि कथालाई जीवन्त बनाएको थियो । दोस्रो भागमा प्रविधि, भिजुअल इफेक्ट र कथाको विस्तार अझै भव्य हुने निर्माण पक्षले बताएको छ ।
विशेष गरी काशी, कम्प्लेक्स र शम्भलाको बाँकी यात्रा अनि कलियुगको अन्त्यको सुरुवाती संकेतहरूलाई यसपटक पर्दामा उतारिनेछ । कमल हसनको चरित्रले लिने नयाँ मोड र अमिताभ बच्चनसँगको उनको संवादलाई फिल्मको सबैभन्दा बलियो पक्ष मानिएको छ । बलिउड र दक्षिण भारतीय चलचित्रका यी दुई खम्बाहरूलाई एउटै फ्रेममा देख्न पाउनु दर्शकका लागि मात्र नभई सम्पूर्ण सिनेमा क्षेत्रकै लागि एउटा ऐतिहासिक क्षण हुने निश्चित छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्