नेभिगेशन
दृष्टिकोण

नयाँ बिहानीको प्रतीक्षा

जेनजी आन्दोलनले मुलुकको समग्र क्षेत्रमा प्रभाव पा-यो । सुशासन, भ्रष्टाचारको अन्त्य, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने मागलाई तत्कालीन एमाले–कांग्रेस गठबन्धनको सरकारले अत्यन्त हलुकारूपमा लियो । परिणाम उक्त मागले केपी ओलीलाई राजीनामा दिन बाध्य पा¥यो । अन्तरिम सरकार गठन भयो र फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा भयो । निर्वाचन घोषणासँगै नेपाली राजनीतिक मञ्चमा विविध दृश्य देखा पर्न थाले ।
यही क्रममा पुराना एवं नयाँ दलहरूले विविध प्रकारको जनतासमक्ष पुगेर मत मागिराखेका छन् । मत माग्नेहरूका लीला बडो रोचक छ । मधेशमा हाटलाई रमाइलो मानिन्छ । घुम्न पाइने, हेर्न पाइने, खान पाइने, खेल्न पाइने, भेटघाट गर्न पाइने आदि कारणले सबै उमेर समूहका लागि हाट मनोरञ्जनात्मक हुन्छ । मेला, सर्कस पनि यही वर्गमा पर्छन् ।
खान नमान्ने साना बालबालिकालाई मोबाइल देखाएर खुवाउने प्रयास गरेको जताततै देख्न पाइन्छ । खासगरी तराईमा बालबालिकाहरूलाई झुनझुनामार्फत ध्यानाकर्षण गर्ने चलन हुन्थ्यो । मोबाइल होस् वा झुनझुना उद्देश्य ध्यानाकर्षणको हो । बजारमा हजार आहान नै छ । जहाँ विकल्प हुन्छ, त्यहाँ छनोटका सुविधा पाइन्छ । आफ्नो आर्थिक अवस्थाअनुसारको, आफ्नो रुचिअनुसारको वस्तु खरिद गर्न पाइन्छ । प्रसंग छ, निर्वाचनको । मत माग्ने कस्ता कस्ता ?
विश्वसनीयता र प्रियतावादले यतिखेर काम गर्छ । सामानको गुण राम्रो भए, ग्राहकको विश्वास बढ्छ । तर, निर्वाचनको समयमा बजारको यो नियम लागु हुँदैन । खासगरी घोषणापत्र एवं प्रतिबद्धता पत्रमा राम्रा कुरा हुन्छन् । पढ्दा लाग्छ यो पटक देश कम्तीमा सिंगापुर या बढीमा स्वीजरल्याण्ड पक्कै हुन्छ । तर सबैभन्दा चर्चित विषय झुठपत्रको छ । जसले जति बढी मिलाएर झुठ बोल्न सक्छ त्यसको वस्तु बिकाउ हुन्छ भन्ने भ्रम आसन्न निर्वाचनको हकमा पनि लागु हुने डर छ ।
नेपालको जनसंख्याको अनुपातमा नेपाली राजनीतिक दलहरूको संख्या अत्यधिक छ । पार्टी खोल्ने अधिकार प्राप्त छ । मौलिक अधिकारको बहस एवं स्वतन्त्रताको चर्चा गर्न पाउने छुट छ । तर जनतामा पटकपटक पराजित, अनुतीर्ण भई सक्दा पनि एकादेशको कथाजस्तो हुनु राम्रो होइन । २०१५ सालको निर्वाचनमा उठेका दल एवं तिनका निर्वाचन चिह्न हाल नेपाली जनताको मनमा छैन । २०४६ सालपश्चात् नेपालमा खुलेका राजनीतिक दलहरूको विवरण निर्वाचन आयोगमा होला तर जनताका स्मृतिमा छैन । नयाँ दल पुराना हुन्छन् । फेरि नयाँ दल खुल्छन् । यो प्रक्रिया हो । तर लामो समयसम्म एउटा विचार बोकेर मूल प्रवाहको सांकेतिक महŒव बोक्नु ज्यादै महŒवपूर्ण कुरा हो । 
अनेकौं दुःख कष्टका बाबजुद विचार लिएर मूल प्रवाह बनेको दल नेपाली कांग्रेस नै हो । कम्युनिष्ट पार्टीको उल्लेख गर्न सकिन्छ तर एउटै दल, मूल प्रवाहका सन्दर्भमा नेपालमा कम्युनिष्ट पार्टीका पसल थुप्रै छन् । नेमकिपा एकताका पश्चिम सुदूरपश्चिमतिर बलियो मानिन्थ्यो तर हाल भक्तपुरको एउटा क्षेत्रमा निर्वाचित प्रतिनिधिमा खुम्चिएको छ । उम्मेदवारहरू देशभरि नै उठिराखेका छन् । यो एउटा उदाहरण हो ।
मूल प्रवाहका रूपमा सूर्य छाप कम्युनिष्टको नाउँमा देखिए तापनि भाद्र २३ गते एमालेका अध्यक्ष केपीको गठबन्धन नेतृत्वको सरकारले गरेको नरसंहारको परिणाम यही फागुन २१ गते प्रष्ट नै हुनेछ । संक्षेपमा दलहरू खुल्नैपर्छ तर दलहरूले संसद्मा पाएको प्रतिशतको आधारमा राष्ट्रिय हुने मापदण्ड बनाएर मुख्य दलहरूको सीमाबारे छलफल चलाउन आवश्यक छ । तर, नकारात्मक सोच एवं प्रतिबन्धात्मक दृष्टिकोणबाट होइन ।
नेपाली दलहरू
नेपालमा २०७९ सालमा प्रतिनिधिसभाको निर्वाचन भयो । यसले पाएको जनमत, गठबन्धनसहित र रहितका आधारमा दलहरूले संख्याका आधारमा ठूलो सानोको संज्ञा पाए । अब २०८२ मा नेपाली जनमत कता जाने हो त्यो अहम् प्रश्न छ ।
निश्चय पनि यो निर्वाचनले गम्भीर प्रभाव पार्ने नै छ तर एउटा आम निर्वाचनले मुलुकलाई नै समाप्त पार्ने सम्भावना अति न्यून छ । हाम्रो सन्दर्भमा । एउटा व्यक्ति नभए पार्टी नै नरहनेर पार्टी नै नरहे मुलुक नै नरहने भाष्य निरंकुशता एवं अवसरवादले बनाएको छ । कुनै व्यक्ति वा पार्टी नहुँदैमा मुलुक समाप्त हुँदैन जसले हेक्का राखे हुन्छ । यसै सन्दर्भमा नेपाली जनताले आफ्नो मत प्रस्तुत गर्नेछन् ।
नेपाली कांग्रेसः २०७९ सालको प्रतिनिधिसभामा नेपाली कांग्रेस प्रत्यक्ष एवं समानुपातिक गरी ठूलो दल भयो । समानुपातिकमा मत कम भयो । तर शेरबहादुरको गलत प्रवृत्तिले कांग्रेस जहिले पनि चटक एवं ढोकसामा पर्दै गयो । पत्नी मोह, गुटगत स्वार्थले गर्दा नेपालकै इतिहासमा अक्षम प्रधानमन्त्री एवं पार्टी सभापतिका रूपमा शेरबहादुरको नाम अंकित भएको छ । भाद्र २३ गतेको नरसंहारको विरोध गर्न नसक्नु लोकतन्त्रकै हत्या हो । तर गगन नेतृत्वको कांग्रेस भाद्र २३ प्रति क्षमायाचना गर्दै जनताबीच गएको छ । आशा जगाएको छ ।
नेपाली कम्युनिष्ट पार्टीः गठबन्धनमार्फत प्रत्यक्ष एवं समानुपातिक गरी ३३ सिट प्राप्त तत्कालीन प्रचण्ड नेतृत्वको माओवादीले सत्ता लिप्सा मात्र देखायो । सत्ता निमित्त बुढानीलकण्ठ, बालकोट घुम्दाघुम्दै प्रचण्ड फस्न पुगे । आम जनतामा वितृष्णा छ । नेपाली कम्युनिष्ट पार्टी नाउँबाट मञ्चासीन हुँदा मञ्च नै भत्किने गरी नेताहरूको जमघट भएका छन् । थोरै सप्रिन्छ कि भन्ने आशा छ, के हुन्छ हेरौं ?
राष्ट्रिय स्वतन्त्र पार्टीः २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्रता पार्टी महŒवपूर्ण दलका रूपमा देखाप¥यो । प्रत्यक्ष एवं समानुपातिक गरी २३ सिट प्राप्त भयो । यो पार्टीलाई  कम्युनिष्टहरूले नराम्ररी प्रयोग गरे । गृहमन्त्री यो पार्टीका ठूलो त्रुटिका रूपमा रहे । कांग्रेस एवं केपी एमालेले यो पार्टीलाई समाप्त पार्न खोजे तापनि युवाहरूबीचको लोकप्रियताले यसलाई हाल पनि मुलुकको आउँदो दिनमा सशक्त पार्टीका रूपमा स्थापित गर्ने अनुमान छ । रवि एवं बालेनको सहयात्राले हाल यो पार्टी सबैभन्दा चर्चित पार्टी बन्न गएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीः राजतन्त्र एवं हिन्दु धर्मको पक्षमा यो पार्टी उभिएको छ । थोरै परिवर्तन भएको छ, तर २०४७ सालको संविधानको मर्म कुल्चिने, दलमाथि प्रतिबन्ध लगाउने, प्रतिनिधिसभा भंग गर्ने आदि क्रियाकलाप गरेको व्यक्ति नै फेरि आजसम्मका रूपमा रहने मनसाय यो दलका निमित्त घाँडो भएको छ । ज्ञानेन्द्र एवं केपी प्रवृत्ति निरंकुश प्रवृत्ति नै हो । तसर्थ प्रतिगमनको प्रतीक राजतन्त्र बोकेर यो दल धेरै पर जान सक्दैन ।
जनमत एवं नागरिक उन्मुक्ति पार्टीः तत्कालीन परिस्थितिमा स्थानीय परिवेशको पूर्ण फाइदा उठाएर जनमतले पूर्वी मधेशका केही जिल्ला र नाउपाले पश्चिममा केही सिटमा विजयी भए । जति तीव्र गतिमा अघि बढे त्यही तीव्र गतिमा हाल पछारिएका छन् । जनमत एवं नाउपा विभाजित भएका छन् । प्रतिनिधिसभामा सिट प्राप्त हुने कुरामा शंका नै छ । 
जसपा नेपालः मधेश केन्द्रित दलहरूलाई मधेशवादी दल भन्ने गरिएको छ । अन्य दलहरू जस्तै सत्ता एवं शक्तिका निमित्त जे पनि गर्न तयार यो दल पनि नेपाली जनमानसमा अत्यन्त अलोकप्रिय छ । तर सिट पाई नै राखेका छन् । सरकारमा जानका लागि सम्पूर्ण कुरा बिर्सने गरेको जसपा नेपाल पनि विभाजित भइसकेको छ । गठबन्धनले थोरै राहत सबैलाई दिएको छ । यस दललाई पनि । तर अबको निर्वाचनमा गठबन्धन हुने सम्भावना न्यून नै छ । हेरौं यसको अवस्था पनि कस्तो हुनेछ ।
लोसपाः यो पनि जसपा जस्तै हो तर अब लोसपा नै छैन जसपा नेपालमा समाहित भएको छ । चिन्तन प्रवृत्ति र प्रकृति उस्तै छ ।
स्वतन्त्र उम्मेदवारः केही स्वतन्त्र उम्मेदवारहरू पनि छन् तर हाल उल्लेखनीय देखा परेका छैनन् । महावीर पुन व्यक्ति असल हुन्, हेरौं के हुन्छ ।
श्रम संस्कृति पार्टी एवं नेपाल उज्यालो पार्टीः कुनै एक ठाउँमा भएको सफलता समाज राज्यको प्रत्येक क्षेत्रमा समानरूपमा लागु हुन सक्दैन । तर कसैकसैलाई सर्वज्ञको भ्रम हुन्छ । शक्ति सामूहिकतामै छ । विभाजनमा हुँदैन । यी कुराहरू सकारात्मक परिपेक्ष्यका हुन् । बालेन एउटा दलमा गए । आफै दल खोलेर मुलुकभरिबाट मत पाएर प्रधानमन्त्री हुने सपना देख्न पाइन्छ । गर्ने त्यही नै हो । तर प्रत्येक अवस्थामा यो लागु हुन सक्दैन । हाल हर्क एवम् कुलमानलाई जनताले कस्तो रेस्पोन्स गर्ने हो ? त्यो हेर्न बाँकी छ । तर निरंकुुश भ्रष्टाचारी एवं दमनकारी प्रवृत्तिविरुद्ध हर्क कुलमान बालेन एवं रविको संयुक्तता आवश्यक थियो । भोलिलाई पनि हुने नै छ ।
नेकपा एमालेः केपी एमालेका सर्वेसर्वा हुन् । नेता विधान, संगठन विचार नीति सबै उनी नै हुन् । पार्टी चलाउन नसक्ने, सरकार चलाउन नसक्ने तर भ्रम दिन सक्ने सीपमा केपी सिपालु छन् । नेकपाको निर्माणदेखि शेरबहादुरलाई ढोकासामा पार्न सफल जस्तो केपी देखिए । तर शेरबहादुर जस्तै आफ्नो राजनीतिक जीवनको अन्ततिर केपी पतनोमुख छैनन् । तर सत्य स्वीकार गर्न सक्ने क्षमता कुनै तानाशाहमा हुनै सक्दैन । केपीमा पनि यही लागु हुन्छ । लास र दास, बा भन्ने भनाइको वास्तविकता त्यही नै हो । स्वास्थ्य लाभको कामना गर्दा पनि ‘तेरो कामना चाहिँदैन’ भन्नेले आफैं प्रधानमन्त्री हुँदा ७६ जनाको नरसंहार हुँदा पनि ‘दुःखी छु, नैतिक जिम्मेवारी लिन्छु’ भन्न नसक्नु निरंकुशताको पराकाष्ठा हो । केपी एमालेमा त्यही दम्भ र अभिमान उच्च छ । तर पतन भए तापनि केपी प्रवृत्तिले आफ्नो त्रुटि स्विकार गर्ने छैन ।
निष्कर्ष
राणा शासनविरुद्ध केही काण्डहरू भए तापनि २००७ सालपश्चात् नेपाली जनताले अनवरत संघर्ष गर्दै आएको विषय एउटै हो– त्यो हो निरंकुशता । राजनीतिक स्थायित्व, आर्थिक प्रगति, लोकतन्त्रको चाहना हुँदाहुँदै पनि नेपाल जनता त्रिभुवनदेखि ज्ञानेन्द्रको पालासम्म कुनै न कुनै रूपमा निरंकुशताविरुद्ध स्वतन्त्रताका लागि संघर्ष गर्दै आएका छन् । २०४६÷०४७ साल पश्चात् २०८२ सम्म पनि नेपाली जनता दलहरूको सत्ता एवं शक्ति प्राप्ति निमित्त गरेका कुकृत्यहरू एवं सामन्ती निरंकुशताविरुद्ध संघर्षरत नै छन् । २०८२ साल भाद्र २३ गते त्यसको ज्वलन्त उदाहरण हो । तसर्थ यसपटक नेपाली जनताले ७६ व्यक्तिको नरसंहार गर्ने प्रवृत्ति, कार्यकर्ता लगायत सबैलाई लास–दास ठान्ने प्रवृत्ति, आफू नै सबैथोक भन्ने प्रवृत्ति, धन, सत्ता, शक्ति निमित्त जे पनि गर्नुपर्छ भन्ने मनोवृत्तिविरुद्ध सच्चिएको परिवर्तन, सुशासन र भ्रष्टाचार अन्त्यका पक्षमा नेपाली जनताको मत जानेछ ।
लेखक राजनीतिशास्त्री समाजका अध्यक्ष हुन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
फागुन २१: दलहरूको अग्निपरीक्षा

फागुन २१: दलहरूको अग्निपरीक्षा

घोषणापत्रमा जनजातिका मुद्दा

घोषणापत्रमा जनजातिका मुद्दा

धर्म र अधर्म

धर्म र अधर्म