नेभिगेशन
अर्थतन्त्र

साम्बाका लागि जुट्यो एक करोडभन्दा बढी रकम

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि २४ घण्टामै एक करोड रुपैयाँभन्दा बढी सहयोग जुटेको छ । आफ्ना लागि आवश्यक खर्च जुटेको उनले मंगलबार बताएकी हुन् । 
भण्डारीले फेसबुक पोस्टमार्फत आफ्नो उपचारका लागि देश–विदेशबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको भन्दै सबै समर्थकप्रति आभार व्यक्त गरेकी छन् । उनले पछिल्लो २४ घण्टामा पाएको साथ, विश्वास र मायाले आफूलाई थप बलियो बनाएकोसमेत उल्लेख गरेकी छन् । 
उनले सोमबार फेसबुकमा पोस्ट लेख्दै आफ्नो घुँडाको एसीएल शल्यक्रिया गर्नुपर्ने भएकाले सहयोगको अपिल गरेकी थिइन् । अपिल गरेको २४ घण्टाभित्र आवश्यक रकम उपलब्ध भएको हो । उनले आफ्नो उपचारका लागि नेपाली बैंक खातामा एक करोडभन्दा बढी तथा विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्यूजिल्याण्ड डलर) संकलन भइसकेको जानकारी दिएकी छन् । 
यस सहयोगले उपचार खर्चका साथै कतारमा उपचार अवधिमा लाग्ने आवास र यातायात खर्चसमेत पुग्ने देखिएकाले मंगलबारदेखि दुवै खातामा रकम संकलन रोक्न अनुरोधसमेत गरेकी छन् । 
भण्डारीले आफू आबद्ध क्लबले पनि शल्यक्रिया तथा पुनःस्थापनाका लागि बीमा रकम निकासा गरी थप सहयोग गरिरहेको जानकारीसमेत दिएकी छन् । छिट्टै शल्यक्रियाको मिति तय भएर उपचार प्रक्रिया अघि बढ्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान भण्डारी करिब दुई महिनादेखि घुँडामा चोटको कारण मैदान बाहिर छिन् । चोटका कारण शारीरिकसँगै मानसिकरूपमा पनि थकित भएको उल्लेख गर्दै उनले समर्थकहरूको साथले पुनः उठ्ने साहस दिएको बताएकी छन् । ‘अझ मजबुत भएर मैदानमा फर्किने र पुनः राष्ट्रिय जर्सी लगाएर देशका लागि खेल्ने छु,’ उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्