नेभिगेशन
प्रवास

माफी पाएर छुटे विपक्षी नेता

नेमपेन (एएफपी)– कम्बोडियाका एक विपक्षी नेता सुन चान्थी राजकीय माफी पाएपछि जेलबाट रिहा भएका छन् । सरकारको आलोचना गरेको आरोपमा कैद भोगिरहेका उनी बुधबार छुटेका हुन् ।
चान्थी नेसन पावर पार्टीका संस्थापक हुन् । डिसेम्बर २०२४ मा सामाजिक अशान्ति भड्काएको आरोपमा उनलाई दुई वर्षका लागि जेल सजाय सुनाइएको थियो । अधिकारीहरूले सरकारका आलोचकविरुद्ध प्रायः प्रयोग गर्ने यही आरोपमा उनी कारागार परेका थिए ।
उनको मुद्दा सामाजिक सञ्जालमा गरेका पोस्टहरूसँग सम्बन्धित थियो । तीमध्ये जापानमा समर्थकहरूसँगको भेटमा कम्बोडिया सरकारको आलोचना गरेको भिडियो क्लिप पनि समावेश थियो । चान्थीलाई बुधबार बिहान पुर्साट प्रान्तको जेलबाट रिहा गरिएको हो । राजा नोरोडोम सिहामोनीले राजकीय माफी दिएपछि उनी छुटेका पार्टीका सल्लाहकार रोङ छुनले बताए । 
कम्बोडियामा राजाले प्रायः सरकारको सिफारिसमा राजकीय माफी दिने परम्परा छ । सुन चान्थीको समयअगावै रिहाइको कारण भने खुलाइएको छैन । दीर्घकालीन विपक्षी नेता तथा श्रमिक अधिकारकर्मी रोङ छुन आफैं पनि यस्तै उक्साहट आरोपमा दिइएको चार वर्षे जेल सजायविरुद्ध पुनरावेदन गरिरहेका छन् । भूमि विवादका पीडितसँग भेटघाट र प्रधानमन्त्री हुन मानेटको भियतनाम सीमाना नजिकको क्षेत्र भ्रमणबारे टिप्पणी गरेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।
रोङ छुनले आफ्नो मुद्दा खारेज गर्न र अन्य कैदमा रहेका अधिकारकर्मीहरूलाई रिहा गर्न माग गरेका छन् । मानवअधिकार समूहहरूले लामो समयदेखि कम्बोडिया सरकारले कानुनी मुद्दालाई विपक्षी आवाज दबाउने रणनीतिका रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएका छन् । हुन मानेटले २०२३ मा सत्ता सम्हालेका हुन् । उनका पिता हुन सेन करिब चार दशक शासनपछि पदबाट हटेका थिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्