नेभिगेशन
अर्थतन्त्र

पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ आयात वृद्धि

भद्रपुर । पूर्वी नाका झापाको काँकडभिट्टाहुँदै पेट्रोलियम पदार्थको आयात पोहोरका तुलनामा बढेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्तसम्ममा ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएको हो । 
मेची भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार आव २०८१÷८२ को सोही अवधिको तुलनामा ६० करोड २० लाख १० हजार रुपैयाँले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व ६.७० प्रतिशतले बढेको जानकारी उनले दिए । 
भन्सारको तथ्यांकअनुसार चालु आवको सात महिनामा पेट्रोलियम पदार्थ आयातबाट ५ अर्ब ६३ करोड ४५ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । उक्त अवधिमा ५ अर्ब ५३ करोड ४१ लाख रुपैयाँ मूल्य पर्ने ६२ हजार ९३२ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी ३ अर्ब ८१ करोड २८ लाख मूल्य पर्ने ४० हजार ३५२ किलोलिटर डिजेल आयात भएको छ ।
सात महिनाको अवधिमा १ अर्ब ४६ करोड ३१ लाखको १४ हजार ९९९ मेट्रिक टन एलपी ग्यास, ४३ करोड ५८ लाखको ४ हजार ७३६ किलोलिटर एटिएफ र ११ करोड ३० लाख रुपैयाँको १ हजार २१२ किलोलिटर मट्टितेल आयात भएको सूचना अधिकारी हुमागाईंले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्