नेभिगेशन
प्रदेश

चिसो स्याँठबीच सुनसान रारा

मुगु  । मुलुक निर्वाचनमय छ । गाउँदेखि सहरसम्म राजनीतिक बहस, सभा र चहलपहल छ । यस्तो बेला मानिसहरूले घुमघामका योजना प्रायः थाँती राख्छन् । यात्रा प्राथमिकतामा पर्दैन । सायद यही कारण पनि हो नेपालको मुकुटजस्तै सुन्दर रारा ताल अहिले असामान्य रूपमा शान्त देखिएको छ ।
चिसो हावा चलेको छ । फागुन मध्य भइसक्दा पनि चिसो घटेको छैन । रारा  २,९७२ मिटर उचाइमा अवस्थित मुलुकको सबैभन्दा ठूलो ताल हो । १०.८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको, १६७ मिटर गहिराइ भएको यो ताल ‘धर्तीकी अप्सरा’ भनेर चिनिनु व्यर्थ होइन । तर अहिले यहाँको सौन्दर्यभन्दा बढी अनुभूति हुन्छ एकान्तको ।
हिउँद याममा हिमाली क्षेत्रको यात्रा त्यसै पनि कमै हुन्छ । कठ्यांग्रिने चिसो, कहिलेकाहीँ पर्ने हिउँ, र कठोर मौसम । यी सबैले यात्रालाई चुनौतीपूर्ण बनाउँछन् । निकै चिसो ठाउँमा घुम्न जानु एक प्रकारको दुस्साहस नै हो । तर, यही दुस्साहसभित्र लुकेको हुन्छ राराको फरक मोह ।
यो मौसममा राराको दृश्य झन् कञ्चन देखिन्छ । वरिपरिका हिमालहरू हिउँले ढाकिँदा चाँदीझैँ टल्किन्छन् । हरिया सल्ला र धुपीका वनस्पतिहरू हावासँग सुसाउँछन् । तालको नीलो पानीमा आकाशको प्रतिबिम्ब मिसिँदा लाग्छ, समय आफैं रोकिएझैं । पर्यटकको भीड नभएकाले प्रकृतिको आवाज अझ स्पष्ट सुनिन्छ ।


तर यो रिक्तताले स्थानीय व्यवसायीहरूलाई भने चिन्तित बनाएको छ । होटलहरू पाहुनाको प्रतीक्षामा छन्, घोडा व्यवसायीहरूका घोडा खाली उभिएका छन्, डुंगा चालकहरूको दिनचर्या सुस्त छ । पर्यटकका लागि घोडचढीको व्यवस्था गरेका व्यवसायी कविराज बुढा भन्छन् ‘करिब २०० घोडा छन्, आम्दानी शून्य छ ।’ 
पर्यटक फाट्टफुट्ट पनि नआएका भने होइनन् । दिनमा ४÷५ जनाभन्दा बढी हुँदैनन् । समूह समूहमा आउने पर्यटकले बाटो बिर्सिएको जस्तो देखिएको डुंगा व्यवसायी कालीबहादुर शाहीले बताए । ‘चिसो नघटुन्जेल रारामा टुरिस्ट बढ्ने देखिएन,’ उनले भने । वैशाखदेखि मंसिरसम्म चलायमान रहने पर्यटन अहिले सुस्त गतिमा छ ।
रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठ तुलनात्मक रुपमा पर्यटक आगमन जाडोमा पनि भइरहेको मान्नुपर्ने बताउँछन् । ‘रारा घुम्ने याम वर्षमा ६ महिना हो । हिजोआज चिसोमा पनि मान्छेहरु हिँडछन्,’ उनले भने, ‘माघ र फागुनमा सबै वर्ष टुरिस्ट कम हुन्छन् ।’ निकुञ्जको अभिलेखअनुसार गत साउनदेखि माघसम्मको ६ महिनामा यहाँ ९ हजार ७ सय ८१ जना पर्यटक आएका छन् । यसरी आउनेमा सार्क मुलुकका ३४ र तेस्रो मुलुकका ८८ छन् भने अन्य आन्तरिक पर्यटक छन् ।  
निर्वाचन र हिउँद, यी दुई कारणले रारा यतिबेला सुनसान भए पनि यसको आकर्षण भने घटेको छैन । बरु, भीडरहित यो समयले रारालाई अझ आत्मीय बनाएको छ । जो शान्ति, एकान्त र प्रकृतिको नजिकको अनुभूति खोज्छन्, उनका लागि हिउँदको रारा एक अद्वितीय अनुभव हुन सक्छ ।
अब केही सातापछि चैतसँगै मौसम खुल्नेछ, तापक्रम बढ्नेछ । सडक र हवाई सेवा सहज बन्दै जाँदा रारा फेरि चहलपहलले भरिनेछ । अहिले निर्वाचनमय मुलुकबीच रारा आफ्नै लयमा, आफ्नै मौनतामा रमाइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्