नेभिगेशन
राजनीति
चुनावी देश दौडाहाको फेरिएको दृश्य

युवा पुस्ता जिल्ला-जिल्ला, शीर्ष आफ्नै क्षेत्रमा सीमित

काठमाडौं । जब चुनाव नजिकिन्थ्यो, शीर्ष नेताहरुको देशदौडाहा शुरु हुन्थ्यो । गाडीको लावालस्कर मात्र होइन हेलिकप्टरमा हावामा कावा खाँदै उनीहरुलाई पार्टीका उम्मेदवार जिताउन बल पु¥याउने भ्याइनभ्याई हुन्थ्यो । तर, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा माहोल अघिल्ला निर्वाचनमा जस्तो छैन । स्थापित शीर्ष नेताहरु अहिले न  देश दौडाहामा छन् न त अरु भागदौडमै । बरु उनीहरुको तुलनामा नयाँ पुस्ता र नयाँ पार्टीका नेताहरु देश दौडाहामा देखिएका छन् । 
एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुमपूर्व, सहसंयोजक माधव नेपाल  रौतहट–१ मा सीमित रहँदा कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पनि दौडाहा छन् । उनीहरु फरक–फरक जिल्ला र निर्वाचन क्षेत्र पुगेर आआफ्ना दलका उम्मेदवारको पक्षमा मत मागिरहेका छन् । 
गगन थापा बिहीबार सुर्खेत पुगे भने रवि लामिछाने गोरखा पुगे । कांग्रेस र रास्वपा नेताहरु विभिन्न जिल्ला पुगिरहेका छन् ।  
आँगनमै सीमित ओली 
जेनजी आन्दोलनपछि केपी शर्मा ओलीमाथि स्थानहद लगाइयो । उनले उपत्यका छाड्न पाएनन् । अहिले उनीमाथि त्यस्तो स्थानहद छैन । तर, ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ छाडेर अरु क्षेत्रमा गएका छैनन् । काठमाडौं आउँछन्, गुन्डुमा बस्छन्, च्यासलमा भेला भेटघाट गर्छन् र फर्केर झापाको दमक पुग्छन् । दायाँबायाँ निर्वाचन क्षेत्र गएका छैनन् । 
विगतका चुनावमा झापा–५ बाहेक  देशैभरि चुनावी आमसभा सम्बोधन गर्दै हिँड्ने ओली  आफ्नै निर्वाचन क्षेत्रको ‘आँगन’ मा सीमित भएका छन् । उनी झापाकै अरु क्षेत्रमा समेत गएका छैनन् ।
एमालेका अध्यक्ष ओलीका लागि झापा–५ सुरक्षित गढ मानिन्छ । तर, यसपटक ओली डराएका छन् । रास्वपाका उम्मेदवार बालेन शाहले आएर उम्मेदवारी दिएपछि ओली आफ्नो निर्वाचन क्षेत्रमै सीमित बनेका छन् । विगतमा देशैभर भाषण गर्दै हिँड्ने ओली यस पटक साना समूहमा छलफल र घरदैलो गरिरहेका छन् । 
आफू जित्ने दाबी गर्दै आए पनि ओली बोलीमा जस्तो व्यवहारमा ढुक्क देखिएका छैनन् । देशभर देखिएको रास्वपाको ह्वीम र झापा–५ मा काठमाडौंका पूर्वमेयर शाहले सिर्जना गरेको चुनौतीले ओलीलाई खुम्च्याएको देखिएको छ । जेनजी आन्दोलनपछि पुराना नेताप्रति देखिएको वितृष्णा र राष्ट्रिय राजनीतिमा प्रतिरक्षात्मक बनेको एमालेका अध्यक्ष नै आफ्नो क्षेत्रमा सीमित बन्दा एमालेले राष्ट्रिय माहोल सिर्जना गर्न सकेको छैन । 

प्रचण्ड सुरक्षित बन्न ‘आधार इलाका’ मा 
कुनै बेला नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मेची–महाकाली अभियान गर्दा ठुलै तरंग पैदा गरेको थियो । उसो त ०५१ बाट सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्ड शान्तिप्रक्रियामा आउनु अघिसम्म जनसरकार नै चलाएका नेता हुन् । शान्तिप्रक्रियापछि राजनीतिको मूलधारमा आएका प्रचण्ड त्यसयता राष्ट्रिय राजनीतिमा झण्डै २ दशकदेखि केन्द्रमा छन् । तर, यसपटक भने प्रचण्ड थप रक्षात्मक बनेका छन् । जेनजी आन्दोलनपछि अरु वाम घटकसँग एकता गर्दै पार्टीको नाम र चुनाव चिन्है बदलेर उनी चुनावी मैदानमा छन् । 
रोचक चाहिँ के छ भने, प्रचण्डसँग विगतको माओवादी छैन, तर उनी सुरक्षित हुन भने विगतको माओवादी आन्दोलनको आधार इलाका रुकुमपूर्व नै पुगेका छन् । रुकुमका विकट बस्तीहरूमा मत माग्न यबितेला प्रचण्ड व्यस्त छन् । नयाँ निर्वाचन क्षेत्र र भौगोलिक कठिनाइका कारण उनले  अन्य जिल्लामा समय दिन नपाएको भन्दै नेकपाका नेताहरु उनको बचाउ गर्छन् । प्रचण्डका लागि उनकै पूर्व कमाण्डर जनार्दन शर्मा नेतृत्वको समूह उनका लागि चुनौती बनिरहेको छ । त्यही कारण प्रचण्डले क्षेत्र छाडेका छैनन् । अघिल्लो चुनावमा जस्तो देश दौडामा निस्किएका छैनन् । 
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा उनले ६५ देखि ७० सिटसम्म प्रत्यक्षमै निर्वाचित हुने दाबी सुनाए । 
‘निर्वाचनको मितिसम्म पुग्दा नेकपाले अझै बढी मेहनत गरेमा नतिजा झनै राम्रो आउनसक्ने सम्भावना छ,’ उनले भने । प्रचण्डले पार्टीका चुनावी कार्यक्रम र प्रतिबद्धतापत्र हरेक वडामा पु¥याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएर आफू देश दौडाहामा ननिस्कने संकेत गरे । 

मधेशका शीर्ष नेताकोे पनि उही हाल
ओली, प्रचण्ड मात्र होइन मधेस केन्द्रित दलका शीर्ष नेता पनि यसपटक क्षेत्रमै सीमित छन् । यसपटक ठूला आमसभा भन्दा पनि टोल–टोलमा पुगेर मतदाता फकाउने रणनीतिमा उनीहरु लागेका छन् । नयाँ दलहरुको उदयले यसपटक मधेस केन्द्रित राजनीतिक दलको चुनावी अभियान फिक्का देखिएको छ । मधेसमा रास्वापले बढाएको सक्रियता र विशेष महाधिवेशनबाट नेतृत्व बदलेको कांग्रेसको सभापति थापा नै चुनाव लड्न मधेस झरेपछि मधेसमा कांग्रेस र रास्वपाको अभियान तीव्र बनेको छ । विगतमा मधेसकै जिल्लामा बलियो संगठन भएका दलहरुले कांग्रेस र रास्वपाको अभियानलाई टक्कर दिन सकेका छैनन् । 
मधेसमा बलियो उपस्थिति रहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउत मधेशका विभिन्न जिल्ला पुगे, तर खासै माहोल सिर्जना गर्न सकेका छैनन् । यसपटक दुवैलाई आआफ्नै निर्वाचन क्षेत्रमा मत जोगाउन चुनौती छ । उनीहरु क्षेत्रमा सीमित भएको सन्देश नजाओस् भन्नेमा सचेत देखिए पनि मूलतः आफ्नै क्षेत्र उनीहरुको प्राथमिकतामा देखिन्छ । 
जनमत पार्टीका अध्यक्ष राउत यसपटक पनि सप्तरी–२ बाटै उम्मेदवार  छन् । यो उनको आफ्नै गृह क्षेत्र हो । जहाँबाट उनले ०७९को निर्वाचनमा उपेन्द्र यादवलाई भारी मतान्तरले पराजित गरेका थिए । तर, उनी आफ्नो क्षेत्रमा ढुक्क भएर अरु क्षेत्रमा निस्कन सकेका छैनन् । 
उपेन्द्र यादवले भने यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन् । लामो समयदेखि सप्तरी–२ बाट चुनाव लड्दै आएका यादव यसपटक सप्तरी–३ बाट चुनाव लड्दै छन् । सप्तरी–२ मा सीके राउतको बलियो प्रभाव देखिएपछि र सुरक्षित सिटको खोजीमा यादव क्षेत्र परिवर्तन गरे  पनि उनी ढुक्क देखिएका छैनन् । 

देश दौडाहाका फरक दृश्य
ओली र प्रचण्डजस्तै अरु दलका नेता पनि क्षेत्रमा पक्का सुरक्षित भने छैनन् । तर, उनीहरु क्षेत्रमा चुनौती रहे पनि देश दौडाहामा छन् । यसअघि जित्दै आएको काठमाडौं–४ छाडेर सर्लाही–४ पुगेका कांग्रेस सभापति थापा विभिन्न जिल्ला पुगिरहेका छन् । 
कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा चुनावी कमाण्डर छन् । उनले मंगलबार मात्रै मोरङ, सुनसरी र सप्तरी तीन जिल्लाको ६ निर्वाचन क्षेत्रमा  सम्बोधन गरे ।  कांग्रेसले बिहीबार कर्णाली प्रदेशको केन्द्र सुर्खेतमा प्रदेशस्तरीय सभा ग¥यो । जहाँ सभापति गगन थापाले सम्बोधन गरे । बिहीबार गण्डकी प्रदेशस्तरीय सभा पोखरामा हुँदैछ । त्यसपछि थापा बागलुङ जाने तालिका छ । 
धेरै क्षेत्रमा पुग्नेमा रास्वपाका शीर्ष नेता अगाडि देखिन्छन् । चितवन–२ मा उम्मेदवार रहेका रास्वपा सभापति रवि लामिछाने र झापा–५ मा ओलीसँगै प्रतिस्पर्धामा रहेका बालेन शाह विभिन्न जिल्ला पुगिरहेका छन् । 
त्यस्तै, काठमाडौं–३ मा पहिलो पटक चुनाव लडेका उज्यालो पार्टी नेपालका अधयक्ष कुलमान घिसिङ पनि विभिन्न जिल्ला पुगिरहेका छन् । कोशी प्रदेशमा प्रभाव देखिएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पनि आफ्नोमात्रै क्षेत्रमा सीमित छैनन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि आफ्नो क्षेत्रबाहेक अरु विभिन्न जिल्लामा पुगिरहेका छन् । अघिल्ला निर्वाचनमा ‘किङ मेकर’ को भूमिकामा रहेका शीर्ष नेताहरू यस पटक ‘क्षेत्रीय उम्मेदवार’ को रुपमा देखिँदा पछिल्लो पुस्ताका नेताहरु भने देशदौडाहामा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्