नेभिगेशन
प्रदेश

‘प्रतिष्पर्धा नीति र योजनाको हुनुपर्छ’

काठमाडौं । कांग्रेसले निर्वाचनमा आफ्नो जिम्मेवारी पूरा गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ । पार्टी सभापति गगन थापाले बिहीबार सुर्खेतमा आयोजित चुनावी सभामा निर्वाचन सफल बनाउन कांग्रेसले सरकारलाई साथ दिने र देश सही बाटोमा अघि बढाउने अठोटमा कुनै सम्झौता नगर्ने बताए । 
‘निर्वाचन सफल बनाउन कांग्रेस पूर्ण रूपमा सरकारको साथ दिनेछ र संविधानलाई सही मार्गमा अघि बढाउने हाम्रो अठोटमा एक इन्च पनि तलमाथि हुने छैन,’ उनले भने ।
भदौ २३–२४ का घटनाले मुलुकको राजनीतिमा गहिरो प्रभाव पारेको स्मरण गर्दै उनले आसन्न चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई विचार र दृष्टिकोणबीचको प्रतिस्पर्धा पनि हुनुपर्ने बताए । उनले भने, ‘अबको चुनाव केवल व्यक्तिवादी आरोप–प्रत्यारोपको होइन, नीति, योजना र दृष्टिकोणको प्रतिस्पर्धा बन्नुपर्छ ।’
उनले विगतमा संविधान निर्माणपछि पाँच वर्ष राजनीतिक अस्थिरताले नागरिकमा असन्तुष्टि बढाएको भन्दै अबको पाँच वर्ष सुधार, परिवर्तन र सुशासनका लागि निर्णायक हुने बताए । ‘पाँच वर्षलाई परिवर्तन, सुधार र उत्पादनशील लगानीको समय बनाऔं, देश बनाउन सपना चाहिन्छ, तर त्यो सपना पूरा गर्न क्षमता र प्रतिबद्धता पनि चाहिन्छ,’ उनले भने ।
पार्टीको प्रतिज्ञापत्र केवल कागजी दस्तावेज नभई कार्ययोजना भएको र प्रगति प्रत्येक महिना सार्वजनिक गरिने उनले उद्घोष गरे । ‘भ्रष्टाचार काण्डमा निष्पक्ष छानबिन हुनेछ र आफ्नै दलका व्यक्ति भए पनि कारबाहीबाट कोही छुट्ने छैन,’ उनले भने ।
थापाले कर्णालीजस्ता पिछडिएका क्षेत्रको विकासमा असमानता, शिक्षा–स्वास्थ्य पहुँचको कमी, कृषि र भूमि व्यवस्थापनको समस्या तथा बजेट कार्यान्वयन ढिलाइलाई सुधार्न आवश्यक रहेको औंल्याए । उनले चुनावी बहसलाई गाली–गलौज र भाइरल क्लिपमा सीमित नगरी नीति, योजना र कार्ययोजनामा केन्द्रित हुनुपर्ने जोड दिए । (सम्बोधनको पूर्णपाठ पृष्ठ २ मा)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्