नेभिगेशन
अर्थतन्त्र

विद्युत उत्पादन बन्द गरेर मस्र्याङ्दीको मर्मत सम्भार

काठमाडौं । लमजुङस्थित ६९ मेगावाटको मस्र्याङ्दी जलविद्युत केन्द्रको मर्मत सम्भार भइरहेको छ । नेपाल विद्युत प्राधिकरणले  ५ वर्षदेखि रोकिएको केन्द्र मर्मतसम्भारको कामलाई पुनः सुरु गरेको हो । 
मर्मतका लागि २१ दिन विद्युत उत्पादन बन्द रहने केन्द्र प्रमुख कपिलदेव मानजनले बताए । लामो समयदेखि सटडाउन व्यवस्थापन हुन नसक्दा रोकिएका मर्मतसम्भारका सबै कामहरू स्वीकृति पाएपछि बल्ल अगाडि बढाएको उनको भनाइ छ । ‘फागुन २ गतेदेखि नै विद्युत उत्पादन बन्द छ । अहिले बाँध तथा विद्युतगृहका संरचनाको मर्मत सम्भारको काम धमाधम भइरहेको छ,’ उनले भने, ‘ड्याम साइटको अपस्ट्रिम क्षेत्रमा पर्ने राइट बैंक (किनार) संरक्षणको काम गरिरहेका छौं ।’ राइट बैंक संरक्षण नगर्दा त्यहाँका सिभिल संरचना नै जोखिममा पर्ने अवस्था देखिएकाले यो काम अत्यावश्यक भएको उनले बताए ।
उनका अनुसार जलविद्युत केन्द्रको कम्पन्सेटिङ पोन्डमा वर्षौंदेखि थुप्रिएको बालुवा हटाउने कार्य पनि अहिले भइरहेको छ । कम्पन्सेटिङ पोन्डमा ८ मिटरभन्दा बढी बालुवा थुप्रिएकाले आयोजनाको उत्पादन क्षमतामा ह्रास आउँदै गएकाले पनि यो काम अहिले उत्पादन नै बन्द गरेर गरिरहेको प्राधिकरणले जनाएको छ । 
यस्तै, विद्युतगृहमा तेस्रो उत्पादन युनिट, ब्रेकर तथा अन्य इलेक्ट्रोमेकानिकल उपकरणहरूको मर्मत कार्य भइरहेको छ । कम्पन्सेटिङ पोन्डमा औसत ८ मिटरभन्दा बढी बालुवा जमेकाले यो बोलुका सुरुङतर्फ पसिरहेको थियो । यो बालुवा सुरुङमा प्रवेश गर्दा दीर्घकालीन विद्युतगृहका रूपमा गम्भीर समस्या निम्त्याउन सक्ने जोखिम देखिएकाले नै अहिले लामो समय लगाएर मर्मतको काम गरिरहेको मानजनले बताए । अहिले त्यहाँबाट बालुवा हटाउने कार्यलाई तीव्रता दिइएको छ । 
जलविद्युत केन्द्रको अन्डर–स्लुइस क्षेत्रमा पनि सामान्य मर्मत कार्य प्राधिकरणकै कर्मचारीबाट भइरहेको छ । यो जलविद्युत केन्द्रको जडित क्षमता ६९ मेगावाट भएपनि सुख्खा याममा मस्र्याङ्दी नदीमा पानीको सतह कम हुँदा ३० मेगावाट हाराहारीमा मात्रै विद्युत उत्पादन हुने गर्दछ । फागुन÷चैत महिना चरम सुख्खा याम भएकाले जलविद्युत केन्द्रको संरचना तथा उपकरण मर्मतको कामका लागि यो समय छानिएको प्राधिकरणले जनाएको छ । 
‘ड्राइ सिजन अर्थात् फागुन–चैतमा जलविद्युत केन्द्रको उत्पादन सबैभन्दा कम हुने भएकाले यही समय सटडाउनका लागि उपयुक्त ठहर गरिएको हो । ६९ मेगावाट क्षमताको प्लान्टबाट यस अवधिमा औसत ३० मेगावाट मात्र उत्पादन भइरहेको थियो। नदीको बहाव पनि निकै कम थियो । बिदा र चुनावी अवधिमा उद्योगहरूको विद्युत् खपत कम हुने भएकाले भार प्रेषण केन्द्रले समेत सटडाउन व्यवस्थापन सहज बनाएकाले अहिले काम गरिरहेका छौं,’ जलविद्युत केन्द्र प्रमुख मानजनले भने । जलविद्युत केन्द्रले चाँडै मर्मत सम्भारको काम सम्पन्न गर्न २४ घन्टा ३ सिफ्टमा काम गरिरहेको छ । मर्मत कार्यका लागि केन्द्रका आफ्नै इन–हाउस कर्मचारीहरू, अन्य जलविद्युत् केन्द्रबाट बोलाइएका प्राविधिकहरू र सिभिल कामका लागि पहिले नै ठेक्का पाइसकेका पुराना ठेकेदारहरू परिचालन गरिएका छन् । विद्युत् उत्पादन मात्रै गर्दा मेसिनहरूको आयु घट्ने र दीर्घकालीन रूपमा टनेल लगायतका संरचनामा समस्या आउने भएकाले प्लान्टको आयु बढाउन यो बृहत् मर्मत अनिवार्य रहेको जलविद्युत केन्द्रको भनाइ छ । जलविद्युत केन्द्रको मर्मत अवधिभर सुख्खा याममा उत्पादन हुने ३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बिच्छेद भइरहेकाले विद्युत प्राधिकरणले अहिले कुलेखानी जलाशयलाई पूर्ण क्षमतामा चलाएर तथा भारतबाट आयातित विद्युतबाट विद्युतको माग अनुसारको आपूर्ति व्यवस्थापन गरिरहेको जनाएको छ । जलविद्युत केन्द्रले फागुन २२ गतेदेखि विद्युत उत्पादन पुनः सुरु गर्ने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्