नेभिगेशन
प्रदेश

ताल्चा–गमगढी सडकका लागि बजेट सुनिश्चित

मुगु । हिमाली जिल्ला मुगु जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको १३ वर्षपछि मात्र ताल्चा–गमगढी सडक कालोपत्रेका लागि बजेट सुनिश्चित भएको छ । कर्णाली प्रदेश सरकारले उक्त सडक खण्ड कालोपत्रे गर्न १६ करोड रुपैयाँ बजेट स्रोत सुनिश्चित गरेको जनाएको छ ।
कर्णाली प्रदेश सरकारको बहुवर्षीय योजना कार्यान्वयन प्रक्रियाअनुसार आर्थिक वर्ष २०८२÷८३ का लागि भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयबाट विनियोजित स्रोत सहमतिका आधारमा ताल्चादेखि गमगढीसम्मको सडक कालोपत्रे गर्ने निर्णय भएको हो । मन्त्रालयले गरेको निर्णयअनुसार बहुवर्षीय ठेक्का सहमति निर्देशिका २०७९ बमोजिम आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
करिब ९ किलोमिटर लामो ताल्चा–गमगढी सडक कालोपत्रेका लागि १५ करोड ९९ लाख ३८ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । प्रदेशसभा सदस्य तथा कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री जितबहादुर मल्लको पहलपछि विभिन्न प्रक्रिया पूरा भई बजेट सुनिश्चित भएको बताइएको छ ।
यसैसँगै कर्णाली प्रदेशअन्तर्गत लिखवाङ जिपसिङ झोपु (रुकुम), कमरेखोला झोपु (डोल्पा), पानीगैरी झोपु निर्माण (रुकुम पश्चिम) र धारीखोला मोटरेबल पुल (रुकुम पश्चिम) का आयोजनाहरूको पनि बजेट स्रोत सुनिश्चित गरिएको मल्लले जानकारी दिए । स्थानीयका अनुसार सडक कालोपत्रे नहुँदा हिउँदमा हिउँ र वर्षामा हिलो तथा धुलोका कारण यात्रा जोखिमपूर्ण हुने गरेको थियो। बजेट सुनिश्चित भएसँगै आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बहादुर बुढाले बजेट व्यवस्थाप्रति खुशी व्यक्त गर्दै निर्माण कार्य समयमै, गुणस्तरीय र मापदण्डअनुसार सम्पन्न गर्न सरोकारवाला निकायको विशेष ध्यान आवश्यक रहेको बताए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्