नेभिगेशन
अर्थतन्त्र

क्रिस्टियानो रोनाल्डोले क्लब अल्मेरिया किने


स्पेनको दोस्रो श्रेणीको क्लब अल्मेरियामा क्रिस्टियानो रोनाल्डोले २५ प्रतिशत हिस्सा किनेका छन् । ला लिगाबाट २०२३–२४ मा घटुवा भएको अल्मेरिया छ वर्षभन्दा बढी समयदेखि साउदी मालिकहरूको नियन्त्रणमा थियो ।
पोर्चुगाली खेलाडीको प्रतिनिधित्व गर्ने एउटा परामर्श कम्पनीका अनुसार क्रिस्टियानो रोनाल्डोले स्पेनी दोस्रो डिभिजन फुटबल क्लब अल्मेरियामा हिस्सा किनेका छन् । ब्रन्सविक ग्रुपले बिहीबार जारी वक्तव्यमा रोनाल्डोले साउदी अरेबियाली मालिक रहेको क्लबको २५ प्रतिशत शेयर किनेको जनाएको छ ।
४१ वर्षीय रोनाल्डो २०२२ को अन्त्यतिर अल–नासरका लागि खेल्न साउदी अरेबिया सरेका थिए । ‘मैदानभन्दा बाहिर रहेर पनि फुटबलमा योगदान गर्ने मेरो लामो समयदेखिको चाहना हो । यूडी अल्मेरिया बलियो आधार र स्पष्ट विकास सम्भावना भएको स्पेनी क्लब हो,’ रोनाल्डोले वक्तव्य जारी गर्दै भनेका छन् ।
रोनाल्डो पाँच पटकका बालोन ड’ओर विजेता हुन् । उनले रियल म्याड्रिडमा नौ वर्ष बिताएका थिए र क्लबका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् पनि हुन् । उनले आफ्नो सीआर७ स्पोट्र्स इन्भेस्टमेन्ट्स सहायक कम्पनीमार्फत अल्मेरियामा हिस्सा किनेको बताइएको छ ।
अल्मेरिया छ वर्षभन्दा बढी समयदेखि साउदी अरेबियाली मालिकहरूको नियन्त्रणमा छ । साउदी व्यवसायी मोहम्मद अल–खरेइजी २०२५ मा टर्कीको अलालशिख क्लब किनेपछि नयाँ मालिक तथा अध्यक्ष बनेका थिए । उनी साउदी अरेबियाको जनरल इन्टरटेनमेन्ट अथोरिटीका प्रमुख पनि हुन् ।
‘क्रिस्टियानोले हाम्रो क्लबमा लगानी गर्न रोजेकोमा हामी अत्यन्त खुशी छौं,’ वक्तव्यमा अल–खरेइजीले भनेका छन्, ‘उहाँलाई स्पेनिस लिगहरू राम्रोसँग थाहा छ र यहाँ हामीले टोली तथा एकेडेमी दुवै पक्षमा निर्माण गरिरहेको सम्भावनालाई उहाँले बुझ्नुहुन्छ ।’
यो क्लब किन्दा कति रकम खर्च गरियो भन्नेबारे सार्वजनिक गरिएको छैन । अल्मेरिया हाल स्पेनको दोस्रो डिभिजनमा तेस्रो स्थानमा छ । उनीहरू २०२३–२४ मा ला लिगाबाट घटुवा भएका थिए ।
अक्टोबरमा, पछिल्लो ब्लूमबर्ग बिलिनेयर्स सूचकांकअनुसार रोनाल्डो अर्बपति दर्जा प्राप्त गर्ने पहिलो फुटबलर बनेको घोषणा गरिएको थियो । उनको कुल सम्पत्ति अनुमानित १.४ अर्ब अमेरिकी डलर आँकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्