नेभिगेशन
प्रदेश

निर्वाचन सुरक्षाका लागि संयुक्त गस्ती र सीमाना सिल

विराटनगर । निर्वाचन अवधिमा अन्तर्देशीय सीमामा विशेष सतर्कता अपनाइने भएको छ । कोशी प्रदेशका भारत र चीनसँग जोडिएका नाकामा कडाइ गरिने भएको हो । 
आगामी साता हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित रूपमा सम्पन्न गराउन कोशी प्रदेशमा व्यापक सुरक्षा तयारी तीव्र पारिएको छ । प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार भारतसँग जोडिएको करिब ४२८ किलोमिटर खुला सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायबीच संयुक्त गस्ती सञ्चालन गर्ने सहमति भएको छ । निर्वाचन अवधिमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न समन्वयात्मक सुरक्षा योजना कार्यान्वयन गरिने उनले जानकारी दिए ।
उनका अनुसार फागुन १८ गतेदेखि अर्थात् मतदान हुनुभन्दा ७२ घण्टा अगाडिबाट मतदान सम्पन्न भएको राति १२ बजेसम्म नेपाल–भारत सीमाना सिल गर्ने निर्णय गरिएको छ । खुला सीमाको दुरुपयोग गरी आपराधिक गतिविधि हुन नदिन यस्तो कदम चालिएको जनाइएको छ ।
कोशी प्रदेशको चीनसँग जोडिएको करिब २५८ किलोमिटर सीमामा विशेष समस्या नरहे पनि आवश्यक सतर्कता अपनाइने प्रहरीको भनाइ छ । तर झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर जिल्लासँग जोडिएका भारतीय सीमाक्षेत्रमा विशेष निगरानी तथा संयुक्त गस्ती बढाइनेछ ।
निर्वाचन सुरक्षासम्बन्धी रणनीति तय गर्न विराटनगरमा बसेको नेपाल–भारत जिल्ला सीमा समन्वय बैठकले पनि ७२ घण्टा सीमाना सिल गर्ने र संयुक्त गस्ती परिचालन गर्ने विषयमा सहमति जनाएको छ । बैठकमा नेपालतर्फबाट मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरूको उपस्थिति थियो । भारततर्फबाट बिहार राज्यका अररिया, किशनगंज र सुपौल जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट तथा सुरक्षा अधिकारीहरू सहभागी भएका थिए ।
बैठकले तस्करी नियन्त्रण, मानव बेचबिखन नियन्त्रण, हतियार ओसारपसार रोकथाम तथा नक्कली नोट कारोबार नियन्त्रणमा समेत दुवै देशका सुरक्षा निकायबीच घनिष्ठ सहकार्य गर्ने निर्णय गरेको छ ।
सुरक्षा निकायले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सीमावर्ती क्षेत्रमा निगरानी कडा पार्दै आवश्यक जनशक्ति परिचालन गरिसकेको जनाएको छ । खुला सीमाको संवेदनशीलतालाई मध्यनजर गर्दै तयार गरिएको संयुक्त सुरक्षा रणनीतिले निर्वाचन अवधिमा सम्भावित जोखिम न्यूनीकरणमा महŒवपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्