काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक यो साता चार दिन बढेको छ । पहिलो दिन आइतबार २७.५९ अंकले घटेको नेप्से दोस्रो दिनदेखि लगातार उकालो लागेको हो ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक साताको पहिलो कारोबार दिन आइतबार २७.५९ अंकले घटेको थियो । आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो । गत साताको मंगलबार आठ अर्ब ३६ करोड ४४ लाख २४ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा आइतबार ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ रुपैयाँबराबरको मात्र शेयर किनबेच भयो ।
यस दिन नेप्सेमा सूचीकृत सबै समूह राताम्मे भए । सबैभन्दा धेरै व्यापार समूह ३.६१ प्रतिशतले घटे । ३४ कम्पनीको शेयर मूल्य बढ्दा २२० वटाको घट्यो भने ७ वटाको स्थिर रह्यो ।
आइतबार सालपा विकास बंैकको शेयर मूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै रिलायन्स स्पिनिङ मिल्स ९.२६, कालिका लघुवित्त ५.१७, मञ्जुश्री फाइनान्स ४.४२ र सुपरमादी हाइड्रोपावर ४.१६ प्रतिशतले बढ्यो ।
सोमबारदेखि भने बजार लगातार उकालो लागिरहेको छ । सोमबार नेप्से २.४१ अंकले बढ्यो । परिसूचक सामान्य बढे पनि कारोबार रकम भने घट्यो । आइतबार ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ रुपैयाँबराबरको शेयर किनबेच भएको बजारमा सोमबार ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँबराबर मात्र किनबेच भयो ।
नेप्सेमा सूचिकृत समूहमध्ये ६ समूह बढे भने ७ समूह घटे । सबैभन्दा धेरै विकास बैंक ०.९० प्रतिशतले बढ्यो । ११३ कम्पनीको शेयर मूल्य बढ्दा १४० वटाको घट्यो भने ९ वटाको स्थिर रह्यो । सबैभन्दा धेरै सालपा विकास बंैक ९.९९, रिलायन्स स्पिनिङ मिल्स ९.२८, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ६.१० र नेपाल एसबिआइ बंैकको ६ प्रतिशतले मूल्य बढ्यो ।
निर्वाचनप्रतिको शंशय हट्दै जाँदा मंगलबार नेप्सेमा रौनक आयो । साताको तेस्रो कारोबार दिन मंगलबार सबै उपसूचकहरू हरियोे बने । मंगलबार नेप्से २१.६२ अंकले बढेर २०६३.६० अंकमा पुग्यो । परिसूचक बढे पनि कारोबार रकम भने घट्यो । सोमबार ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको बजारमा मंगलबार ४ अर्ब २३ करोड २४ लाख रुपैयाँबराबरको किनबेच भयो ।
यस दिन नेप्सेमा सूचीकृत सबै समूह बढे । सबैभन्दा धेरै होटल तथा पर्यटन २.०७ प्रतिशतले बढ्यो । त्यस्तै, अन्य ०.३३, निर्जीवन विमा ०.५२, म्युचुअल फण्ड ०.०९, लघुवित्त ०.७९, उत्पादन तथा प्रशोधन १.७६, जीवन विमा ०.७०, लगानी ०.६१, जलविद्युत १.२७, वित्त ०.६४, विकास बंैक १.११ र बंैकिङ समूह ०.३० प्रतिशतले बढ्यो । २१३ कम्पनीको शेयर मूल्य बढ्दा ४२ वटाको घट्यो भने ९ वटाको शेयर मूल्य स्थीर रह्यो । सालपा विकास बंैकको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । रिलायन्स स्पिनिङ मिल्स ९.३१, हिमालयन पावर पार्टनर ९.१५, सागर डिस्टिलरी ८.९६ र बन्दिपुर केबलकार ८.३४ प्रतिशतले बढ्यो ।
नेप्से बुधबार पनि बढ्यो । बुधबार नेप्से १०.३० अंकले उकालो लाग्दै २६४८.९० विन्दुमा पुग्यो । परिसूचकसँगै बुधबार कारोबार रकम पनि बढ्यो । मंगलबार ४ अर्ब २३ करोड २४ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको बजारमा बुधबार ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार रुपैयाँबराबरको कारोबार भयो ।
नेप्सेमा सूचिकृत समूहमध्ये १० समूह बढे भने ३ समूह घटे । सबैभन्दा धेरै जीवन विमा १.७९ प्रतिशतले बढ्यो । १५७ कम्पनीको शेयर मूल्य बढ्दा ९० वटाको घट्यो भने १३ वटाको स्थीर रह्यो । दुईवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
सालपा विकास बंैक र रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य १० प्रतिशतले बढेको हो । विन नेपाल लघुवित्त ९.६६, सुपर माई हाइड्रोपावर ९.१८ र अपर लोहोर खोला हाइड्रोपावर ४.१५ प्रतिशतले बढ्यो ।
मुलुक निर्वाचनको संघारमा रहँदा पुँजीबजारले सावधानीबीच सकारात्मक लय समातेको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ६.०३ प्रतिशतले उकालो लाग्दै २६५४.९३ अंकमा पुगेको छ । लगातार चौथो दिनको वृद्धिले छोटो अवधिमा बजारमा सुधारोन्मुख मनोविज्ञान देखिएको संकेत गरे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेर ४ अर्ब १७ करोड ४६ लाख रुपैयाँमा सीमित भयो ।
सूचक बढ्दा पनि रकम घट्नुले लगानीकर्ता अझै पूर्ण रूपमा विश्वस्त नभएको देखिएको छ । बुधबार ४ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । बिहीबारको कारोबार संरचनाले मूल्यवृद्धि भए पनि सहभागिता अपेक्षित रूपमा फराकिलो नभएको देखाउँछ । बजार जानकारहरूका अनुसार सूचकको उकालो मुख्यतः केही ठूला तथा प्रभावशाली कम्पनीको मूल्य वृद्धिबाट प्रेरित हुन सक्छ ।
उपसमूहगत रूपमा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्डबाहेकका अधिकांश समूह हरियाली देखिए । निर्जीवन बीमा उपसमूह सबैभन्दा धेरै १.०९ प्रतिशतले बढ्यो, जसले बीमा क्षेत्रमा पुनः चासो बढेको संकेत गरेको छ । बैंकिङ, विकास बैंक र जलविद्युतजस्ता प्रमुख समूहमा देखिएको सुधारले बजारको आधार विस्तार हुँदै गएको आभास दिलाए पनि घटेका उपसमूहहरूको उपस्थितिले मिश्रित असर कायमै राखेको छ ।
बिहीबार १३८ कम्पनीको शेयर मूल्य बढेको छ । सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने रिलायन्स स्पिनिङ मिल्स ९.२६ प्रतिशतले बढ्यो । यी दुवै कम्पनी हालै आइपीओ ल्याएर दोस्रो बजार कारोबारमा आएका हुन् ।
त्यस्तै ११८ कम्पनीको शेयर मूल्य घट्यो भने ७ कम्पनीको स्थिर रह्यो । बढेका र घटेका कम्पनीको अनुपात हेर्दा बजारमा चयनात्मक रणनीति हावी रहेको देखिन्छ । लगानीकर्ताले जोखिम र प्रतिफलको सन्तुलन मिलाउँदै सीमित कम्पनीमा केन्द्रित लगानी गरिरहेको सूचकको संकेत छ ।
बिहीबार कारोबार रकमका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको ३२ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । त्यसैगरी आँखु खोला जलविद्युत कम्पनीको २१ करोड १३ लाख, एसवाई प्यानल १५ करोड ५१ लाख र ङादी ग्रुप पावरको १४ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भयो ।
लगातार चार दिनको वृद्धिले बजारमा प्राविधिक रूपमा ‘रिबाउन्ड’ को परिदृश्य बलियो बनाएको छ । अघिल्ला सत्रहरूमा देखिएको दबाबपछि बजार ओभरसोल्ड अवस्थाबाट फर्किएको हुन सक्ने अनुमान गरिएको छ ।
तथापि, कारोबार रकम घट्नुले कारोबारी सतर्क रहेको संकेत बजारले गरेको छ । चुनाव नजिकिँदै जाँदा नीतिगत अनिश्चितता, ब्याजदरको दिशा र तरलताको अवस्थाले बजारको मनोविज्ञानमा प्रभाव पारिरहेको छ । धेरै लगानीकर्ता ‘पर्ख र हेर’ रणनीतिमा देखिएका छन्, जसले सूचक बढ्दा पनि रकममा अपेक्षित विस्तार हुन नसकेको बुझिन्छ ।