विनोद श्रेष्ठ यही फाल्गुण २१ को संसदीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट काठमाडौँ क्षेत्र नं. १० को प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेदवार हुनुहुन्छ । उहाँको पहिचान मजदूर हो । उहाँले आफ्नो पेशागत यात्रा सामान्य इलेक्ट्रिकल मजदूरका रुपमा सुरु गर्नुभएको हो । ट्रेड युनियन आन्दोलनमा सक्रिय हुँदै उहाँ जीफन्टको अध्यक्ष बनेर नेतृत्व पनि गर्नुभयो ।
जीफन्टका लोकप्रिय नेता विनोद श्रेष्ठ आवश्यक परेको बेला पार्टीगत स्वार्थभन्दा माथि उठेर सबैलाई समेट्ने मानसिकता राख्नुहुन्छ । उहाँले सुशासन र पारदर्शिता, सांस्कृतिक र प्राकृतिक सम्पदा संरक्षण, आर्थिक विकास, सामाजिक सेवा र आम नागरिकको सामाजिक सुरक्षालाई प्राथमिकता दिदै आउनु भएको छ । प्रस्तुत छ आसन्न आम निर्वाचनका सन्दर्भमा उहाँसँग गरिएको ताजा कुराकानीको महत्वपूर्ण अंशः
तपाईं एमाले पार्टीमा माले कालदेखि नै संगठित हुनुहुन्छ, आफ्नो राजनीतिक यात्रा र दलगत भूमिकालाई कसरी लिनुभएको छ ?
विद्यार्थी राजनीतिबाट सुरु भएको मेरो राजनीतिक यात्रा केन्द्रीय सदस्य तथा पोलिटब्यूरो सदस्यसम्म आइपुगेको छ । संगठन सुदृढीकरण र श्रममैत्री नीति निर्माणमा सक्रिय हुनसकेकोमा मलाई गौरव अनुभूति हुन्छ । नेकपा मालेको पाँचौं महाधिवेशनदेखि एघारौं महाधिवेशनसम्म निरन्तर महाधिवेशन व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर पाएँ । २०४६ सालको जनआन्दोलनमा ‘लडाकु दस्ता’को नेतृत्व पनि गरें । भूमिगत कालमा तत्कालीन महासचिव झलनाथ खनालको डेरा छापा मार्दा कसरी ज्यानको बाजी लगाएर मैले पार्टीका महŒवपूर्ण दस्ताबेज जोगाएँ, आज सम्झँदा आफ्नै जिउ सिरिंग हुन्छ । २०४६ सालमा प्रजातन्त्रको स्थापना भएयता निरन्तर पार्टीको स्वयंसेवक दस्ताको नेतृत्व सम्हाल्दै आएको छु ।
ट्रेड युनियन आन्दोलनले तपाईंलाई पहिचान दियो भन्ने गरिन्छ । त्यहाँ तपाईंले कस्तो भूमिका निर्वाह गर्नुभयो ?
थानकोटस्थित गोपी कपडा उद्योगमा मैले २०३७ सालदेखि मजदूरी थालेको हुँ । शोषणमा परेका मजदूरहरुको पक्षमा आवाज उठाउँदै २०३९ सालमा आन्दोलन गर्नुपर्ने भयो । मजदूरका पक्षमा १७ सूत्रीय माग राखेर गरिएको त्यस आन्दोलनले मेरो जागिर खायो तर त्यस आन्दोलनले मलाई राजनीतिक पहिचान भने दिलायो । इलाकादेखि नेतृत्व गर्दै जिल्ला कमिटी, विशेष कमिटी हुँदै नेपाल ट्रेड युनियन महासंघ जीफन्टको केन्द्रीय कमिटीमा पुगें । आन्दोलनकै क्रममा २०४२ सालमा पक्राउ परें, अधिनायकवादी सरकारले जेलमा हाल्यो । जीफन्टको आठौं महाधिवेशनबाट महासंघको अध्यक्ष बनें । श्रम–कानून, सामाजिक सुरक्षा र सम्मानजनक रोजगारीका मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन सकेकोमा गर्वको अनुभूति हुन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको महासभामा तीन–तीन पटक नेपालको प्रतिनिधित्व गर्दै आवाज उठाएको छु ।
काठमाडौंको १० नम्बर क्षेत्रमा आजसम्म तपाईंले गरेका उल्लेखनीय कामहरुका बारेमा बताउनु पर्दा के सूचीकृत गर्नुहुन्छ ?
सर्वप्रथम युवा समुदायका लागि खेलकुदको विकासका लागि काम गरेको स्मरण गर्न चाहन्छु । खेलकुदलाई व्यावसायिक बनाउन त्रिभुवन विश्वविद्यालयमा नेपालमा पहिलो पटक स्पोर्टस साइन्सको अध्यापन गराउन भूमिका खेलेको स्मरण गर्न चाहन्छु । मैले मदन भण्डारी स्पोर्टस एकेडेमीको महासचिव र अध्यक्ष भएर पनि यस क्षेत्रको खेलकुद विकासमा भूमिका खेलेको छु । हाल नेपाल स्कूल स्पोर्टस फेडेरेसनको अध्यक्षका रुपमा काम गरिरहेको छु । खेलकुदलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरसम्म विकास गर्नुपर्छ, नेपालको नाम चम्काउन खेलको माध्यम उपयोगी हुन्छ भन्ने कुरामा मेरो विश्वास छ ।
मैले १० नम्बर क्षेत्रका जनतालाई बाढी, भूकम्प, कोभिड महामारीजस्ता संकटका बेला राहत, उद्धार र पुनर्निर्माणमा इमान्दारीका साथ आफूले सकेको सहयोग गरेको छु, पार्टीका साथीहरु परिचालन गरेर घर–घरमा सहयोग पु¥याएको छु । २०४५ सालको बाढी पहिरो, २०७२ सालको विनाशकारी भूकम्पलाई म आज पनि सम्झिन्छु । उद्धार र राहतका लागि म आफ्नो टिम लिएर लक्षिणकाली, फर्पिङ, मच्छेगाउँ, थानकोट, बालागाउँ लगायतका क्षेत्रमा पुग्दा स्थानीय आमा–बा, दिदीभाइ आदि सबैले ठूलो भरोशाको आँखाले हेरेको सम्झना हुन्छ । रातदिन नभनी भग्नावशेष हटाइयो, भत्केका स्कूललगायतका संरचना ठड्याइयो, आम नागरिकलाई राहत पु¥याइयो । कोभिड महामारीका बेला त्रिभुवन पार्कमा अस्थायी शिविर खडा गरेर भोका बटुवाहरुलाई खाना खुवाउँदाको आत्मसन्तुष्टि म कहिल्यै भुल्न सक्दिनँ ।
काठमाडौं बाहिर तपाईंले कहाँ कस्तो सेवा गर्नुभयो ?
म २०८० सालको विनाशकारी भूकम्पलाई सम्झिन्छु । जीफन्टका सयौं साथीहरु लिएर म जाजरकोट पुगें । जाजरकोट र सल्यानमा दुई महिनाभन्दा बढी बसेर सयौं सुरक्षित आवास बनाइयो । ती घरहरु भूकम्प प्रभावितलाई सुम्पेर हामी फर्कियौं । यस कार्यका लागि जीफन्टका सयौं साथीहरुको सक्रियता म सम्झिरहेको छु । मैले मात्र होइन जीफन्टका सबै साथीले स्वार्थरहित सेवा गरेका छन्, एमालेका कार्यकर्ताहरुको समाजसेवा अग्रपक्तिमा छ । तर, यस्ता सबै सेवाहरुमा आशंकाको आँखाले हेरिदिंदा हामीमाथि अन्याय हुन्छ । नागरिकको सेवा ग¥यो, भोटका लागि ग¥यो भनिन्छ । जाजरकोट र सल्यानका जनताले त मलाई काठमाडौंमा आएर भोट हाल्दैनन् त ! जहाँसम्म संसद् सदस्यमा उम्मेदवार भएको कुरा छ, कोही न कोही त उठ्नैपर्छ, समाजसेवामा लागिरहेको व्यक्ति उठ्यो त राम्रै भयो नि, कि कसो ?
तपाईंले २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ, त्यसमा के कुरालाई जोड दिनुभएको छ ?
प्रतिनिधिसभाको निर्वाचनका लागि ‘सुशासन, समृद्धि र समाजवादको आधार, काठमाडौं क्षेत्र नम्बर १० मा एमालेको जनाधार’ मूल नारा लिएर म निर्वाचनमा होमिएको छु । कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरीको समग्र विकासमा मैले देखेको सपना पूरा गर्न मैले २१ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छु । सर्वप्रथम मुलुक गतिरोधको शिकार छ, आर्थिक विकासमा गतिरोध, भौतिक सम्पन्नतामा गतिरोध, एक–आपसको विश्वासमा गतिरोध, संघीय लोकतान्त्रिक गणतन्त्रजस्तो राम्रो व्यवस्था पाएर पनि त्यसको कार्यान्वयनमा गतिरोध । सर्वत्र गतिरोध छ । वर्तमान गतिरोधलाई अन्त्य गर्न संविधानको कार्यान्वयन र आवश्यकताअनुसार संशोधन गरी देशलाई निकास दिन एक प्रतिनिधिसभा सदस्यका रुपमा मेरो सक्रिय भूमिका रहने छ । मेरो निर्वाचन क्षेत्रका जनताको सुझावअनुसार काम गर्ने र परिवर्तन ल्याउने कुरामा म प्रतिबद्ध छु । मेरो क्षेत्रमा तीन नगरपालिका सहित गाउँपालिकाहरु छन् । स्थानीय तहमा कतिपय कानूनी अड्चन छन्, जनताले अपेक्षित रुपमा सहज ढंगले सेवा पाइरहेका छैनन् । कानुन संशोधन गरेर जनतालाई सहज र सुलभ सेवा दिलाउने छु । डिजिटल सेवालाई प्रभावकारी बनाउने छु । सबै तहको शिक्षालाई इन्टरनेटको सुविधासहित प्रविधियुक्त बनाउन, युवासँग जोडिएका व्यावहारिक र व्यावसायिक कार्य सम्पन्न गर्न गराउन, सूचना प्रविधिको प्रयोग मार्फत् स्वरोजगारमूलक आम्दानीका लागि आवश्यक वातावरण बनाउन, नेपाल भाषा र तामाङ भाषा सहितका स्थानीय भाषा तथा संस्कृतिको प्रवद्र्धन गर्न, यस क्षेत्रको गौरवको रुपमा रहेको त्रिभुवन विश्वविद्यालय र कीर्तिपरका स्थानीय जनताबीच सुमधुर सम्बन्ध स्थापित गर्ने–गराउने छु । यस्तै खेल पर्यटन विकास, योग शिविरको स्थापना, तराई जोड्ने द्रूत मार्गको निर्माण, योगदानमा आधारित सार्वजनिक सुरक्षा कार्यक्रमको कार्यान्वयन लगायतका विषयमा काम गर्ने मेरो प्रतिबद्धता छ ।
अझ बढी बुझिनेगरी भन्दिनुस् न, तपाईंलाई काठमाडौं १० का जनताले किन भोट दिने ?
म ठूला कुराभन्दा स–साना कुरामा केन्द्रित छु । जस्तो दक्षिणकाली मन्दिरबाट बाहिर निस्कँदै गर्दा प्रायः मलाई एउटा कुराले चिमोट्छ । नजिकै खुवाको पसल थापेर बसेकी आमा देख्छु, हेर्नुस् त्यो खुवा, त्यहाँ आउने अधिकांश भक्तजनहरु त्यही खुवा किनेर फर्किन्छन् । खुवा बनाउनका लागि एउटी आमाको, उहाँको परिवारको कति मेहनत प¥यो होला, अनुमान गर्नुस्, तर उहाँको पहिरन हेर्नुस्, अनुहारको थकान हेर्नुस्, मेहनतको प्रतिफल नपाएको कारणले अनुहारमा सिर्जना भएको निराशाको अनुमान लगाउनुस् ! के त्यस खुवालाई ब्राण्डिङ नगर्ने ! उहाँ र उहाँजस्ता यस क्षेत्रका खुवा व्यवसायीको आर्थिक उत्थान गर्ने योजना छ मसँग ! नजिकै लप्सी हेर्नुस्, यहाँको नस्पाती नेपालभर प्रसिद्ध छ ! अर्गानिक तर्कारी उत्पादन गरेर काठमाडौं उपत्यकालाई खुवाउने सोच राखेको छु मैले !
दक्षिणकाली मन्दिरमा गएर पूजा सबैले गर्छन् । तर, त्यहाँ गएर गोत्र पूजा गर्नसके सम्पूर्ण गोत्रकै कल्याण हुनेछ । त्यहाँका पुजारी, गुरु पुरोहितहरुको भनाइ पनि यही छ । गोत्र पूजा भनेको एकैसाथ सयौं हजारौं भक्तहरुको मेला हो । म त्यहाँ गोत्र पूजाका लागि व्यवस्था गर्नेछु । एकातिर धार्मिक उत्थान हुनेछ, सद्भावको विकास हुनेछ र साथमा यस क्षेत्रका व्यापारी व्यवसायीको पनि आर्थिक विकास हुनेछ ।
नेवारी साहित्य महोत्सव मेरो अर्को सपना हो । यस क्षेत्रमा बसोवास गर्ने सबै जातजाति, धर्म, संस्कृति मान्ने नागरिकहरुको पहिचान अभिवृद्धि गर्ने गराउने काममा मेरो सक्रियता रहने छ । जहाँसम्म नेवारी समुदायको कुरा छ, मेरो योजना छ, वार्षिक रुपमा नेवारी साहित्य महोत्सव गर्ने । यही क्षेत्रमा रहेको त्रिभुवन विश्वविद्यालयले कतिलाई नेवारी भाषामा अनेक व्यक्तिलाई पीएचडी गराएको छ । उहाँहरुको फाइण्डिङमा बहस चलाउने । नेपाल भाषामा रचिएका गीत कविता सुन्ने सुनाउने । यस सभ्यतालाई अझ समृद्ध बनाउन उपायहरुको खोजी गर्ने । महोत्सवमा भोजनको परिकारले नेपाललाई पहिचान दिने नेवारी खानाका परिकारहरु, अनेक प्रतियोगिताहरु गर्ने । सारा काठमाडौं ओइरिन्छ मुखभरि पानी उमार्दै ।
यस क्षेत्रमा नेपालकै पुरानो र सबैभन्दा प्रसिद्ध त्रिभुवन विश्वविद्यालय छ, त्यहाँ होस्टेलमा बसेर देश विदेशका भिन्नभिन्न संस्कृतिका विद्यार्थीहरु पढ्छन् । उनीहरुलाई यस क्षेत्रका सामुदायिक विद्यालयमा भोलुन्टियर शिक्षक बनाउने । हप्तामा दुई चार पिरियड पढाउने ! फरक टिचर, फरक स्वाद, विशेष ज्ञान । उहाँहरुलाई रिकग्निसन प्राप्त हुन्छ, स्थानीय विद्यार्थीहरुको नेपाल बुझ्ने दृष्टिकोण फराकिलो हुन्छ ।
मैले १० नम्बर निर्वाचन क्षेत्रमा ‘घरघरमा रेष्टुरेन्ट’ को अवधारणा ल्याएको छु । घर–घरमा रहेका जेन्जी भाइबहिनीको सहयोगमा यहाँका आमा–दिदीहरुले घरमै बारा, चटामरी, यमरी आदि परिकार बनाएर अनलाइन व्यापार चलाउनुहुने छ । पूरै काठमाडौंलाई यस क्षेत्रका आमा दिदीहरुले आफ्नो हातको जादुको स्वाद चखाउन सक्नुहुन्छ । छोराछोरीले इन्टरनेटबाट उहाँले बनाएका परिकारहरु ग्राहकको घरसम्म पु¥याउन सघाउँछन् । वेबसाइटमा हातमा स्वादिलो परिकार बनाउने जादुहुने आमा, दिदी, बहिनीको क्षमता देखाउने विवरण हुन्छ । त्यही हेर्दै ग्राहकले खानाको अर्डर गर्नेछन् ।
तर्कारी र फलफूल उत्पादनमा दक्षिणकालीदेखि इन्द्रदहसम्म, भनौं पूरै १० नम्बर क्षेत्र उर्वर छ । उत्पादन गरेर यस क्षत्रका कृषकले काठमाडौंलाई पालि पनि रहनुभएको छ । तर समस्या के छ भने, हामीले ब्राण्डिङ गर्न सकेका छैनौं । अर्गानिक उत्पादन भनेर हामीले ब्राण्डिङ गर्नुपर्छ । परम्परागत रैथाने जातका फलफूलदेखि आधुनिक आयातित एभाकार्डो, क्यूबी आदिका लागि अर्गानिक ब्राण्डिङ गरेर डिपार्टमेन्ट स्टोरसम्म पु¥याउनुपर्छ । ग्राहकलाई अर्गानिक त्यसमाथि १० नम्बर क्षेत्रकै तर्कारी र फलफूल पाएसम्म अन्त आँखा नलगाउने बनाउनुपर्छ । त्यो भिजन बोकेको छु मैले । कृषक तथा मजदूरको समृद्धि नै यस क्षेत्रको समृद्धि हो, नेपालको समृद्धि हो ।
दक्षिणकालीदेखि इन्द्रदहसम्म ट्रेकिङ ट्रेल चलाउने मेरो योजना छ । म मदन भण्डारी स्पोर्ट एकेडेमीको अध्यक्ष हुँदा दुई वर्ष म्याराथुन हाइकिङ चलेको पनि हो । हप्तामा एक पटक तरतरी पसिना निकाल्ने गरी काठमाडौंबासीलाई हिँडाउनै पर्छ । शरीरमा जमेको बोसोले काठमाडौंबासीलाई प्रेसर, सुगर, हर्टअट्याक आदिले तर्साइरहन्छ । यस ट्रेललाई व्यवस्थित गर्न आवश्यक छ । यस ट्रेकिङ ट्रेलमा नेपालका चर्चित व्यक्ति, सेब्रिटीहरुलाई हिँडाएर यसको ब्राण्डिङ गर्नु आवश्यक छ । २१ फागुनको निर्वाचनमा यस विनोद श्रेष्ठलाई १० नम्बर क्षेत्रका जनताले माया गर्नु नै हुनेछ । मायामा केही तलमाथि भए पनि राजधानीबासीको स्वास्थ्यका लागि यो काम चाहिं विनोदले गर्छगर्छ !
देशको अवस्था, बूढाबूढी पुस्ताको अशक्तता, छोराछोरीको विदेश वहिर्गमनजस्ता कुराले मुलुक युवारहित हुँदैछ, यस सम्बन्धमा तपाईंको कुनै योजना छ कि ?
जनशक्ति पलायन मुलुकका लागि गम्भीर समस्या भएर आएको छ । रेमिट्यान्सको लोभ तत्कालका लागि मात्र हो, दीर्घकालीन समाधान भनेको मुलुकको आर्थिक समृद्धि नै हो । तर, म एक्लैले देश समृद्ध बनाउन सक्दिनँ, मैले सक्ने एउटा कुरा भने अवश्य गर्नेछु । १० नम्बर निर्वाचन क्षेत्रका हरेक टोलटोलमा स्वास्थ्य स्वयंसेविका वा सेवकको व्यवस्था गर्नेछु । उनीहरुले टोलका व्यक्तिको नियमित स्वास्थ्य जाँच गर्नेछन् घरघरमै गएर । नियमित स्वास्थ्य तथ्यांक अपडेट गर्नेछन् । बिरामीलाई पानी ख्वाउने छन् । यसबाट एकसाथ दुइटा काम हुनेछ – ज्येष्ठ नागरिकले सहायक पाउने छन्, युवाले रोजगारी ।
अब रेमिट्यान्सको लोभ गरेर देश बन्दैन । युवालाई देशमै रोजगारी दिनुपर्छ, विदेश जानुपर्ने बाध्यतालाई समाधान गर्नुपर्छ । खासगरी जेनजी समुदायका लागि मैले सोचेको छु । पहिलो कुरा यो उनीहरुको पढ्नेलेख्ने उमेर हो । तर, किताबी पढाइ मात्र पर्याप्त छैन । साइडबाई साइड युवाहरुले आर्थिक लाभ लिने काम पनि गर्नु आवश्यक छ । यसका लागि सीप चाहिन्छ । मैले युवालाई टुरिस्ट गाइडको तालिम दिने, यस क्षेत्रका हरेक मन्दिर, गुम्बा, संस्कृति, चाडबाडका बारेमा स्वदेशी विदेशीलाई मजाले बताउनसक्ने बनाउने सोच राखेको छु । साथमा घरघरमा रेष्टुरेन्ट योजनामा जेनजी समूहले परिवारलाई आइटीमा पनि सघाउनुहुने छ । थानकोटदेखि इन्द्रदहसम्मको ट्रेकिङ ट्रेलका मोड मोडमा उभिएर यात्रुलाई उनहरुले नै नेपाल चिनाउने हो । उनीहरुलाई साझा वेबसाइटमा समेट्ने, यात्रुहरुले उनीहरुलाई फोन गरेर वा अनलाइन सम्पर्क गरेर सेवाका लागि अनुरोध गर्नेछन् ।
जेनजी समुदाय भन्नासाथ विद्यालय र कलेजका विद्यार्थीको स्मरण हुन्छ । उनीहरुको प्रगतिका लागि सामुदायिक विद्यालयको प्रगति अनिवार्य छ । साथमा निजी विद्यालयको प्रगतिको कामना पनि हामीले गर्नुपर्छ । दुर्भाग्य के छ भने मुलुकलाई आवश्यक यी दुवै निकायबीच मित्रवत सम्बन्धभन्दा कटुता, प्रतिस्पद्र्धा र यो ठूलो र यो सानुको भावना छ । यसलाई हटाउने मसँग योजना छ । अब यस क्षेत्रको एक निजी विद्यालयले एक सरकारी विद्यालयलाई प्रायोजन गर्छ, आफ्नो ग्राउण्डमा बोलाएर खेल खेलाउँछ, अतिरिक्त क्रियाकलापमा भाइचारा देखाउँछ । सामुदायिक विद्यालयको चउरमा निजी विद्यालयका विद्यार्थी उफ्रिरहेका हुन्छन् । दुई विद्यालयको मेलमिलाप दुनियाले देख्ने छ ।
अन्त्यमा केही भन्नु छ कि ?
हामी कसैले भावनामा बग्नुहुन्न । यथार्थवादी बन्नुपर्छ । राजनीतिक दल चाहिन्छ, तर दलीय स्वार्थका कारण मुलुकलाई प्रतिकूल प्रभाव पर्नुहुन्न । परेको बेला दलीय स्वार्थभन्दा माथि उठ्ने हिम्मत हामी पुराना दलका उम्मेदवारहरुमा हुनुपर्छ । मैले जीफन्टको नेतृत्व गरिरहँदा बारम्बार सबैलाई समेट्न दलीय स्वार्थभन्दा माथि उठेर काम गरेको छु । आज पुराना दल र त्यसका उम्मेदवारको विरोधमा जुन बोली एक पक्षले बोलिरहेको छ, त्यो घातक छ । पुराना दल र त्यसका नेता–कार्यकर्ताको अनुभव देश निर्माणका लागि अनिवार्य छ । पुराना दलहरुले पनि जेनजी युवाको भावना समेट्दै आफूमा सुधार ल्याउनुपर्छ । त्यसैले आदरणीय मतदाताहरु, यहाँहरु भावनामा नबहकिनुहोला । यस मुलुकलाई पञ्चायती एकदलीयता र केन्द्रीयता, अनि राजतन्त्रको सामन्ती चंगुलबाट तपाईंलाई मुक्त गर्ने एमालेजस्ता पुराना दलका उम्मेदवार जो समय सापेक्ष परिवर्तित भएर आएका छन्, उनीहरुलाई नै भोट दिनुहोला । अनजानको गल्ती सुधार्न सकिन्छ, तर जानीजानी गरिएको भूलले मुलुक समाप्त बनाउँछ ।