सनातन धर्ममा मांगलिक कार्यमा ब्राह्मण पुरोहितबाट हवन (होम) गराइन्छ । हवनको उत्तरार्ध हुँदै गर्दा ‘महाबलि’ विधि आउँछ । त्यहाँ मास, अक्षता, कुंकुम, गन्ध, रक्तपुष्प र वस्त्र आदि राखेर वैदिक मन्त्रले पूजा गरी चौबाटोमा राख्नू भन्ने निर्देश छ । अचेल त्यसलाई ‘ग्रह फ्याँक्ने’, ‘ग्रह कटाउने’ विधि बनाइएको छ । पूजामा प्रत्यक्ष सहभागी भएका र हुन नसकेका घरका सबै मानिस जम्मा भएर टपरी वा बोहतामा फलामका टुक्रा, बेसार, मासको दाल र कालो कपडा आदि राखेर पूजा गरी शिरमा छोएर बाहिर लैजाने चलन छ ।
यसरी लगिएको बलिमा पैसा धेरै राख्दा बाटोमा हिँड्नेले लोभले टिप्ने र आफ्ना ग्रहदोष उसलाई सर्ने विश्वास गरिन्छ । आफ्नो ग्रहदोष अरुलाई सार्ने कस्तो लालसा ! गर्न खोजेको त धर्म हो, तर अरुप्रति दुर्भावना राख्ने काम पापकर्म भएन र ! त्यो यक्ष–भूत–प्रेत आदि (बाहिर बस्ने विश्वास गरिएको) लाई बलि दिइएको हो । देवताहरूको पूजा–आराधना गर्दा उनीहरूकै सहयोगीलाई भाग छुट्याएको हो । विधिमा एउटा छ, हामी गर्छौँ अर्कै ।
हामी मन्दिर जान्छौँ तर मन्दिरमा पनि यति हतार हुन्छ कि लाइन मिच्ने ध्याउन्नमा हुन्छौं । अरुलाई धक्कामुक्की गर्दै चोट पु¥याउँदै दर्शन गर्छौं । मन्दिरमा पुगेर पनि छलकपट ! के यसरी धर्म हुन्छ त ?
अचेल पूजासामग्री पसलमा भगवान्लाई अर्पण गर्ने हरेक वस्तु छुट्टै गुणस्तरका पाइन्छ । घ्यू, मह र तेल आदि सामग्री छुट्टै किसिमको हुन्छ । कतिपय पदार्थमा लेखिएको हुने रहेछ, ‘यो पूजाका लागि मात्र हो, खानका लागि होइन ।’ कतिपयले त पसलले राम्रा वस्तु दियो भने बढी तिर्नुपर्ला भन्ने विचारले ‘पूजाका लागि है’ भनेर दोहो¥याइरहेको पाइन्छ । दिनभरिको पूजा भए पनि ५०–१०० मिलिलिटरभन्दा बढी आवश्यक नपर्ने पञ्चामृतसमेत कमसलको चढाउँछौँ । हामीचाहिँ आफूले खान नहुने, भगवान्लाई चाहिँ चढाउन हुने !
अचेल भाँडाकुँडा, कपडालगायतका पसलमा दान गर्ने वस्तुको छुट्टै ‘सेक्सन’ हुन्छ । ‘तपाईँले आफ्नो प्रयोगका लागि लग्ने कि दान गर्न ?’, पसलेले नै सोध्छ, ‘दानका लागि भए यता छ !’ दान भनेको त आफ्नो गच्छेअनुसार पवित्र भावना राखेर गर्ने हो । मनमा लोभलालच राखेर दिइएको दानले के फल देला ।’
एकाह–सप्ताह–नवाहजस्ता पुराण आदिमा मात्र होइन, अचेल घरमा सत्यनारायणको पूजा लगाए पनि माइक र स्पिकर राखेर टोलभरिकालाई सुनाउने चलन चलेको छ । पहिले–पहिले पुराण अनुष्ठान गर्दा गाउँटोलभरि र टाढाटाढा सुनियोस् भन्ने भावना राखिन्थ्यो । अचेल समाजमा अनेक संस्कृति भएका मानिस बसेका हुन्छन् । कति विद्यार्थी घरमा परीक्षाको तयारी गरिरहेका हुन सक्छन् । बूढाबूढी बिरामी सुतिरहेका हुन सक्छन् । त्यसैले चाहेर वा नचाहेर त्यहाँँका कथा–भजन रुचिपूर्ण नहुन सक्छ । त्यसैले पूजास्थलमा आउनेले मात्र सुन्नु–बुझ्ने किसिमले बजाए भइहाल्यो । अचेल सप्ताह–नवाहमा गाइने भजन पनि सुन्नलायक कहाँ हुन्छन् र ! पहिले चर्चित भएका फिल्मी गीतको धुनमा शब्द भरिएका हुन्छन् । भजन सुन्दा फिल्मका दृश्य आँखामा झलझली आउँछन् ।
सनातन धर्मावलम्बीका जन्मदेखि मृत्युसम्मका धार्मिक साँस्कृतिक कार्यमा सालको पातको टपरी–बोहता– दुना प्रयोग हुन्छ । त्यसैलै सालको पात बुनेर कतिपयको जीविका चलेको हुन्छ । अचेल पहाडी क्षेत्रबाट आएको सालको पात बेच्नेले टपरी–दुना र बोहता पनि बनाउँछन् । पात पनि बेच्ने, टपरी पनि बेच्ने । आम्दानीका दृष्टिले यसमा लागेकालाई राम्रै हो । तर अचेल दुनाटपरी गाँसेर काम नलाग्ने पातचाहिँ पुनः बाबियाको डोरीले कसेर बेचिन्छ । बाहिर राम्रा पातले मोरिदियो । बेच्न राख्यो । ओल्टाइपल्टाइ गर्दा थाहै नहुने ! घरमा लगेर हेर्दा दुईवटा पनि टपरी नबन्ने । यो विशेषगरी सनातन धर्मावलम्बीले भोग्ने गरेको समस्या हो ।
उद्योग–व्यवसाय गरेर खानु राम्रो त हो । तर गाउँबाट आएका राम्रा मुठा फुकाएर प्रयोग गरी काम नलाग्ने मुठा पारेर झुक्याउनु कति उपयुक्त हो ? नाफा नपुगे बरु मुठामा पाँच रुपैयाँ बढाए त किन्ने मानिसको चित्त काटिदैनथ्यो । पात गाँस्ने बेलामा गाली त गर्दैनथ्यो । नभ्याउने र पात गाँस्न नजान्नेका लागि सहयोग पु¥याए पनि यो प्रवृत्तिले धर्मचाहिँ पक्कै पनि हुँदैन ।
‘आत्मनः प्रतिकूलानि परेषां न समाचरेत् ।’ अर्थात् आफूलाई अप्रिय लाग्ने कुरा अरुलाई पनि नगर्नू । कुनै कुराले आफूलाई पीडा हुन्छ भने त्यही कुरा अरुलाई किन गर्ने ? यस्तै ‘...पापाय परपीडनम्’ पनि भनिएको छ । अरुलाई पीडा दिनु पनि पाप हो, चाहे मनले होस् वा वचनले वा कर्मले । जानेर होस् वा नजानेर । त्यसैले सोचौँ, हामीले धर्म ठानेर गरिएका कर्मले ‘अधर्म’ त भइरहेको छैन !
(लेखक धिताल समाज–संस्कृतिबारे लेख्छन् ।)