नेभिगेशन
प्रदेश

सरकारी छाप किर्ते गरी करोडौँ ठगी गर्ने महिलासहित अन्तर्राष्ट्रिय गिरोह पक्राउ

प्रहरी परिचयपत्र र प्रेस लेखेको गाडी समेत बरामद

झापा। आसन्न प्रतिनिधिसभा निर्वाचनको इपिसेन्टरका रुपमा हेरिएको झापामा सुरक्षा संवेदनशीलता अझै बढ्दै गएको छ। एकातर्फ भारतसँग १४४.०२ किलोमिटर खुला सिमाना रहेको झापाबाट सरकारी छाप तथा दस्तखत किर्ते गरी ठगी गर्ने एक नेपाली सहित अन्तर्राष्ट्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेसँगै नयाँ रहस्य खुलेको हो।

झापाको भद्रपुर नगरपालिका–८ स्थित एयरपोर्ट–घोडामारा सडकखण्डमा शंकास्पद अवस्थामा भारतीय नम्बर प्लेटका दुईवटा सवारीसाधनमा सवार एक महिलासहित सात जनालाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएको एउटा गाडीमा प्रेस लेखिएको छ। 

मंगलबार साँझ करिब ६ बजे चन्द्रगढी–काकडभिट्टा सडकखण्डमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ हेडक्वार्टर गणले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाएको थियो।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल राज्यका ४५ वर्षीय अरिन्दम धर , ३६ वर्षीय महिला दिपा भौमिक, ३५ वर्षीय सुमन सरकार, ३७ वर्षीय नुर कलाम शेख, ५२ वर्षीय अबेद अली होसैन, २० वर्षीय फारुक अज्मी तथा झापा कमल गाउँपालिका–६ का ४३ वर्षीयदेवेन्द्र सापकोटा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूबाट सरकारी कार्यालयका किर्ते कागजात, नेपाल सरकारको निशान छाप प्रयोग गरिएका प्रमाणपत्र, कर चुक्ता कागजात, भन्सार सम्बन्धी कागज, नक्कली प्रहरी परिचयपत्र, स्ट्याम्प प्याड, विभिन्न बैंक कार्ड, आधारकार्ड, भोटर कार्ड तथा मोबाइल फोनहरू बरामद गरिएको छ। साथै भारतीय नम्बर प्लेटका दुई सवारीसाधन (टोयोटा फच्र्युनर र सुजुकी बालेनो) पनि नियन्त्रणमा लिइएको छ।

अनुसन्धान क्रममा अभियुक्तहरूले संगठित रूपमा ठगी गर्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ। नोट आकारका सादा कागजका बन्डलको माथि–तल नक्कली कागजी मुद्रा राखी बीचमा खाली कागज राखेर ठूलो रकम जफत भएको झुटो कथा बनाउने, त्यसमा सरकारी कार्यालयका किर्ते पत्र तथा छाप प्रयोग गरी भिडियो र फोटो तयार पार्ने र ती सामग्री चिनजान तथा व्यापारिक पृष्ठभूमिका व्यक्तिलाई पठाएर रकम असुल गर्ने गरेको पाइएको छ।

प्रहरीका अनुसार मेचीनगर नगरपालिका–४ आमडाँगीस्थित एक स्थानमा लुकाइराखिएका २१ वटा टिनका बाक्सा र २३७ बन्डल नोट आकारका सादा कागज समेत बरामद गरिएको छ। करिब डेढ महिनाअघि उनीहरूले उक्त स्थानमा बसेर फोटो तथा भिडियो बनाएको खुलेको छ।

थप अनुसन्धानबाट उनीहरूले नेपाल–भारत सीमा क्षेत्रमा यसअघि पनि यस्तै किसिमका ठगी तथा ‘स्क्याम’ गतिविधि सञ्चालन गरी दुवै मुलुकका नागरिकलाई पीडित बनाएको आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गर्दै यस गिरोहबाट ठगीमा परेका पीडितहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ। पक्राउ परेकामाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत लिखत सम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्