नेभिगेशन
प्रदेश

मतदाताको मन बदलिँदै, दलहरू दबाबमा

रौतहट । मतदान नजिकिँदै जाँदा रौतहट–४ मा यसपटकको प्रतिस्पर्धा विगतभन्दा फरक र अनिश्चित देखिएको छ । अघिल्ला निर्वाचनहरूमा दलीय गठबन्धनको सहाराले स्पष्ट ध्रुवीकरण देखिन्थ्यो । यसपटक गठबन्धन छैन । सबै दल आ–आफ्नै चुनाव चिह्नसहित मैदानमा उत्रिएका छन् । 
नयाँ दल र नयाँ एजेन्डाले मतदाताको ध्यान तानिरहेका छन् भने परम्परागत शक्तिलाई सहज जित नहुने संकेत देखिन थालेको छ । मतदाता खुला रूपमा प्रतिबद्ध नभई विकल्प खोजिरहेको आकलन गरिएको छ । स्थानीय विश्लेषकहरूका अनुसार स्थायी संगठन र विगतको मतपरिणाम मात्र पर्याप्त आधार नहुन सक्छ । 
यो त्यही क्षेत्र हो जहाँ जित सहज हुने ठानेर काठमाडौंबाट पत्रकार ऋषि धमला झरेका छन् । उनका थरी–थरीका चटकका फुटेज समाजिक सञ्जालमा भ्युअर बटुल्दैछन् । मतदानको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी उत्कर्षमा छ । उम्मेदवारहरू गाउँ–टोलमा मतदातासँग भेटघाट र घरदैलो अभियानमा व्यस्त छन् । यस क्षेत्रमा २० स्वतन्त्रसहित ३७ जना उम्मेदवार मैदानमा छन्, जसमध्ये सात जना महिला छन् । धेरै उम्मेदवार प्रतिस्पर्धामा रहे पनि मुख्य प्रतिस्पर्धा ठूला दलहरूबीच नै हुने आकलन गरिएको छ ।
देवप्रसाद तिमल्सिना लगातार तेस्रोपटक जित निकाल्ने लक्ष्यका साथ मैदानमा छन् । २०७४ मा उनले वाम गठबन्धनका उम्मेदवार डा. वंशीधर मिश्रलाई ५ हजार २२२ मतान्तरले पराजित गरेका थिए भने २०७९ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बनेर एमालेका उद्धवप्रसाद रेग्मीलाई ७ हजार ७१२ मतान्तरले हराउँदै दोस्रोपटक निर्वाचित भएका थिए । 
२०७० मा भने उनी एमालेका रामकुमार भट्टराईसँग पराजित भएका थिए । यसपटक गठबन्धन नभएकाले प्रतिस्पर्धा कडा हुने देखिएको छ । तिमल्सिनाले पार्टी रूपान्तरणको सन्देश दिँदै आफूले गर्न बाँकी काम पूरा गर्न पुनः अवसर मागिरहेका छन् ।
एमालेबाट रामजी साह उम्मेदवार छन् । उनले पार्टी संगठन बलियो रहेको दाबी गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता बनाउने बताएका छन् । बन्द रहेको श्रीराम सुगर मिल सञ्चालनमा पहल गर्ने उनको प्रतिबद्धता छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराई पनि अनुभवी नेता हुन् । २०७० मा संविधानसभा सदस्य बनेका उनले संविधान निर्माणमा भूमिका खेलेको उल्लेख गर्दै संसदमा नागरिकमैत्री कानुन निर्माणका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल परिवर्तनको एजेन्डासहित मैदानमा छन् । उनीहरू चुनाव प्रचारमा ‘आपकी बार बालेन सरकार’ भन्ने नारा प्रयोग गर्दै बालेन्द्र शाहको नाममार्फत मतदाता आकर्षित गर्ने प्रयासमा छन् । पुराना दलप्रति असन्तुष्टि बढेको दाबी गर्दै रास्वपाले आफूहरू वैकल्पिक शक्ति भएको सन्देश दिइरहेको छ ।
यसै क्षेत्रमा सञ्चारकर्मी ऋषि धमला पनि प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार छन् । घरदैलोका क्रममा खेतमा उखु बोक्ने, जेरी बनाउने, काठ चिर्ने जस्ता गतिविधि गर्दै उनी सामाजिक सञ्जालमा चर्चामा छन् । उनले क्षेत्र विकासमा बलियो नेतृत्व अभाव रहेको भन्दै आफू विजयी भए पूर्वाधार विकासमा गति दिने दाबी गरेका छन् ।
जसपा नेपालका उम्मेदवार राजकुमार दासले मधेसको हित र युवाको रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् । २०७९ को समानुपातिक मतपरिणामअनुसार कांग्रेस यस क्षेत्रमा अगाडि देखिए पनि प्रत्यक्षतर्फको प्रतिस्पर्धा खुला र अनिश्चित छ । गठबन्धनविहीन प्रतिस्पर्धा, बहुसंख्यक उम्मेदवार र मतदाताको मौन धारणा यसपटकको परिणामलाई चासोको विषय बनाएको छ । कांग्रेस, एमाले र वामपन्थी शक्तिहरू संगठनकै बलमा आशावादी रहँदा परिवर्तनको नारासहित मैदानमा उत्रिएको रास्वपाले बाजी मार्छ कि मार्दैन भन्ने प्रश्नले चुनावी माहोल झन् तातेको छ ।
१ लाख १० हजार ३१४ मतदाता रहेको यो क्षेत्रमा वृन्दावन, गढीमाई, चन्द्रपुर र गरुडा नगरपालिका पर्छ । महिलाका तुलनामा पुरुष मतदाताको संख्या अधिक छ । निर्वाचन आयोगको सूचीअनुसार यहाँ महिला मतदाता ५१ हजार ४७८ छन् भने पुरुषको संख्या ५८ हजार ८३६ छ ।
यहाँका चोक र चिया भेलाका कुराकानी सुन्दा मतदाताको मनोविज्ञान परिवर्तनतर्फ ढल्किएको संकेत देखिन्छ । युवा मतदाताको संख्या बढ्दै जानु, सामाजिक सञ्जालमार्फत फैलिएको वैकल्पिक राजनीतिक बहस र उम्मेदवारहरूको व्यक्तिगत छवि यसपटक निर्णायक बन्न सक्ने आकलन गरिएको छ । त्यसैले यो निर्वाचन परम्परागत शक्ति परीक्षण मात्र नभई नयाँ राजनीतिक धारको प्रभाव मापन गर्ने अवसरका रूपमा हेरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्