नेभिगेशन
प्रवास
इरानद्वारा जवाफी कारबाही गरेको दाबी

अमेरिका र इजरायलद्वारा इरानमाथि हवाई आक्रमण

मध्यपूर्वमा बढ्यो तनाव, कूटनीतिक समाधान खोज्न रुसको आग्रह

काठमाडौं । इजरायलले इरानका विभिन्न स्थानमा शनिबार हवाई आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको छ । इजरायली आक्रमणमा अमेरिकाको पनि साथ रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले पुष्टि गरेपछि विश्व राजनीतिमा गम्भीर तरंग पैदा गरेको छ । इजरायल, इरान र संयुक्त राज्य अमेरिकाबीच विकसित घटनाक्रमले क्षेत्रीय सुरक्षालाई मात्र होइन, विश्व ऊर्जा आपूर्ति र कूटनीतिक सन्तुलनलाई समेत चुनौती दिएको छ । तेहरान, तेलअभिव र वासिङ्टनबाट आएका आधिकारिक अभिव्यक्तिहरूले स्थिति अझ जटिल बन्दै गएको संकेत गरेका छन् ।
इजरायलले शनिबार बिहान तेहरानका विभिन्न स्थानमा लक्षित सैन्य कारबाही गरेको जनाएको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार राजधानी तेहरानमा शक्तिशाली विस्फोटका आवाज सुनिएका थिए । केही रिपोर्टहरूमा सर्वोच्च नेता आयातोल्लह अली खोमेनीको कार्यालय आसपास धुवाँ देखिएको उल्लेख गरिएको छ । यद्यपि आक्रमणका बेला उनी त्यहाँ थिए÷थिएनन् भन्नेबारे आधिकारिक पुष्टि भएको छैन ।
होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ५७ पुगेको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमाथि आक्रमण भएको हो । घटनामा ५३ जना विद्यालयको भग्नावशेषमा पुरिएका छन् भने ६० जना घाइते रहेको इरानको सरकारी समाचार संस्था आईआरएनएले जनाएको छ । 
इजरायली रक्षा मन्त्रालयले उक्त कारबाहीलाई पूर्वप्रतिरक्षात्मक कदम भनेको छ । इजरायली रक्षामन्त्रीले इरानबाट सम्भावित क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको जोखिमलाई ध्यानमा राख्दै रणनीतिक स्थलहरूलाई निसाना बनाइएको बताएका छन् । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले इरानतर्फबाट प्रहार हुन सक्ने क्षेप्यास्त्र रोक्न आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय अवस्थामा राखिएको जनाएको छ ।
आक्रमणपछि इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ भने इजरायलले पनि नागरिक उडानहरू स्थगित गरेको छ । क्षेत्रीय प्रभावका रूपमा इराक, कतार, संयुक्त अरब इमिरेट्सलगायतका देशहरूले समेत हवाई सुरक्षा सतर्कता बढाएका छन् ।
इरानका विदेशमन्त्री अब्बास अर्घचीले आक्रमणलाई अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघीय बडापत्रको उल्लंघन भएको बताएका छन् । साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन र इराकका समकक्षीहरूसँग टेलिफोन वार्ता गर्दै उनले यसलाई सम्पूर्ण क्षेत्रविरुद्धको आक्रमणका रूपमा चित्रण गरेका छन् ।


इस्लामिक रिभोलुसन गाड्र्स कोप्र्स (आईआरजीसी)ले बहराइनस्थित अमेरिकी नौसेनाको पाँचौं फ्लीटसहित क्षेत्रका केही अमेरिकी अड्डाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन प्रहार गरेको दाबी गरेको छ । आईआरजीसीले ‘ट्रु प्रोमिस–४’ नामक अपरेसन सुरु गरिएको जनाएको छ । यद्यपि अमेरिकी पक्षले यी दाबीहरूको स्वतन्त्र पुष्टि गरेको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा ल्याउन महŒवपूर्ण सैन्य कारबाही सुरु गरिएको बताएका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा भिडियो पोष्ट गर्दै उनले यो कारबाहीमा अमेरिकी संलग्नता पुष्टि गरेका हुन् । उनले इरानलाई आणविक सम्झौतामा फर्कन र हतियार कार्यक्रम रोकिन भनेका छन् ।
अमेरिकाले पछिल्ला हप्ताहरूमा मध्यपूर्व क्षेत्रमा लडाकू जेट र युद्धपोतहरू तैनाथ गरेको थियो । वासिङ्टनको दाबीअनुसार इरानले उच्च स्तरमा युरेनियम सम्वर्धन गरिरहेको छ र लामो दूरीका क्षेप्यास्त्र विकास गरिरहेको छ । इरान भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको बताउँदै आएको छ ।
मध्यपूर्वमा वर्तमान तनावको केन्द्रमा इरानको आणविक कार्यक्रम र त्यसलाई लिएर इजरायल तथा अमेरिकाको चासो छ । इजरायलले लामो समयदेखि इरानलाई आफ्नो अस्तित्वका लागि प्रमुख खतरा ठान्दै आएको छ । इजरायलको आरोप छ कि इरानले आणविक हतियार विकास गरेमा क्षेत्रीय शक्ति सन्तुलन भत्किनेछ ।
सन् २०१५ मा भएको आणविक सम्झौता (जेसीपीओए) पछि केही समय तनाव कम भएको देखिए पनि अमेरिकाले सम्झौताबाट बाहिरिएपछि पुनः प्रतिबन्ध र प्रतिरोधको चक्र सुरु भयो । त्यसयता इरानले युरेनियम संवर्धनको स्तर बढाएको छ । इजरायलले यसलाई प्रत्यक्ष सुरक्षा चुनौतीका रूपमा हेर्दै आएको छ ।
त्यससँगै, इरानले हमास र हिजबुल्लाहजस्ता समूहलाई समर्थन गर्दै आएको आरोप पनि इजरायलले लगाउँदै आएको छ । गाजामा जारी द्वन्द्व र लेबनान सीमामा बढ्दो झडपहरूले दुई देशबीचको परोक्ष संघर्षलाई प्रत्यक्ष टकरावतर्फ धकेलेको विश्लेषकहरू बताउँछन् ।

अन्तर्राष्ट्रिय जगतका गम्भीर चिन्ता 
इरानमाथि इजरायली आक्रमण र इरानको जवाफी आक्रमणबाट विश्व समुदाय स्तब्ध छ । विभिन्न क्षेत्रमा गम्भीर चासो र चिन्ता व्यक्त भएको छ । द्वन्द्वले घातक अवस्था निम्त्याउने जोखिम उच्च बनाएको भन्दै चिन्ता भएको हो ।
रुसले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको आलोचना गरेको छ । आक्रमणले यस क्षेत्रलाई मानवीय, आर्थिक र यसलाई अस्वीकार गर्न नसकिने रेडियोलोजिकल विपत्तिको संघारमा पु¥याएको तर्क गरेको छ । मस्कोले संयमता अपनाउन र कूटनीतिक समाधान खोज्न आग्रह गरेको छ । रुस र इरानबीच पछिल्ला वर्षहरूमा रक्षा सहकार्य मजबुत भएको छ ।
चीनले ’सैन्य कारबाही तत्काल रोक्न’ आग्रह गरेको छ र चिनियाँ विदेश मन्त्रालयले इरानको राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।
अमेरिकी सैन्य अखडाको आश्रय रहेको कतारले आफ्नो भूमिमा इरानी क्षेप्यास्त्र आक्रमणको निन्दा गरेको छ र चेतावनी दिएको छ । ‘यस आक्रमणको जवाफ दिने उसको पूर्ण अधिकार सुरक्षित छ,’ कतारले भनेको छ । युरोपेली संघ (इयू) की प्रमुख उर्सुला भोन डेर लेयनले अमेरिकाले इरानका आणविक क्षेत्रहरू ‘निसाना’ रहेको संकेत गरेपछि आणविक सुरक्षा सुनिश्चित गर्नु ‘महŒवपूर्ण’ भएको बताएकी छन् । 


नर्वेका विदेशमन्त्री एस्पेन बार्थ इडेले इरानमाथि इजरायलको आक्रमणले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको तर्क गर्दै पूर्वयोजनामा भएको आक्रमणले अनपेक्षित खतरा निम्त्याएको बताएका छन् । 
भारतको विदेश मन्त्रालयले सबै राज्यहरूको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिनुपर्नेमा जोड दिँदै वार्ता र कूटनीतिलाई पछ्याउनुपर्ने जनाएको छ । 
बेलायत, फ्रान्स र जर्मनीले संयुक्त रूपमा इरानको जवाफी आक्रमणको निन्दा गरेका छन् भने बेलायत सरकारले पनि स्थिति ‘व्यापक क्षेत्रीय द्वन्द्व’ मा परिणत हुन सक्ने चिन्ता व्यक्त गरेको छ । ती देशहरूले उनीहरूमध्ये कसैले पनि अमेरिका–इजरायल कारबाहीमा भने भाग लिएका थिएनन् ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले ‘खतरनाक’ तनाव रोक्न आग्रह गर्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को तत्काल बैठक बोलाएका छन् । 
लेबनानका प्रधानमन्त्री नवाफ सलामले आफ्नो देशलाई युद्धमा नतान्ने बताएका छन् । इरानका अन्तिम राजाका छोरा तथा तेहरानको वर्तमान् सत्ताका प्रखर आलोचक रेजा पहलवीले आक्रमणपछि अन्तिम जित नजिक रहेको दाबी गरेका छन् । ‘हामी सबै मिलेर इरानलाई फिर्ता लिन र पुनर्निर्माण गर्न सक्छौं,’ अमेरिकामा निर्वासित जीवन बिताइरहेका पहलवीले भने ।  
इजिप्टको विदेश मन्त्रालयले अरब राष्ट्रहरूको एकता र क्षेत्रीय अखण्डताको सुनिश्चितताका लागि जोड दिएको छ । टर्कीको विदेश मन्त्रालयले द्वन्द्वले ‘यस क्षेत्रको भविष्य र विश्वव्यापी स्थिरतालाई खतरामा पारेको’ भन्दै ‘सबै पक्षलाई तुरुन्त शत्रुता रोक्न’ आग्रह गरेको छ ।
जोर्डनको सरकारले तनाव कम गर्न आग्रह गरेको छ र चेतावनी दिएको छ कि यसले ‘आफ्नो सबै शक्तिका साथ’ राज्यको हितको रक्षा गर्नेछ । 
प्यालेस्टिनी लडाकू समूह र इरानको सहयोगी हमासले तेहरानमाथि अमेरिका र इजरायलको ‘आक्रमण’ को निन्दा गरेको छ र यसलाई ‘सम्पूर्ण क्षेत्रमा प्रत्यक्ष आक्रमण’ भनेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने इरानमाथि भएको आक्रमणले इरानी जनताका लागि तेहरानमा रहेको ‘आतंकवादी शासन’लाई सत्ताच्युत गर्ने अवसर सिर्जना गरेको बताएका छन् । 
आक्रमणपछि अफ्रिकी संघले ‘संयम, तत्काल तनाव कम गर्न र निरन्तर संवाद’ गर्न आह्वान गरेको छ र द्वन्द्वले महादेशका मानिसहरूलाई हानि पुर्याउने खतरा रहेको चेतावनी दिएको छ।
भारतले आफ्ना नागरिकलाई सावधानी अपनाउन आग्रह गर्दै आवश्यक परे सुरक्षित स्थानतर्फ जान सल्लाह दिएको छ । खाडी राष्ट्रहरूमा रहेका लाखौं आप्रवासी कामदारहरूका कारण दक्षिण एसियाली देशहरू पनि प्रत्यक्ष रूपमा प्रभावित हुनसक्ने देखिन्छ ।
संयुक्त राष्ट्रसंघले पनि सबै पक्षलाई संयमता अपनाउन र तत्काल वार्तामा फर्कन आह्वान गरेको छ । अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तेलको मूल्यमा उतारचढाव देखिएको छ, किनकि मध्यपूर्व विश्व ऊर्जा आपूर्तिको प्रमुख केन्द्र हो ।
विश्लेषकहरूका अनुसार यदि प्रत्याक्रमण र जवाफी कारबाहीको शृंखला बढ्दै गयो भने यो सीमित सैन्य कारबाही व्यापक क्षेत्रीय युद्धमा रूपान्तरित हुनसक्छ । विशेषगरी होर्मुज जलडमरूमध्य आसपासको अस्थिरताले विश्व व्यापारमा गम्भीर असर पार्न सक्छ ।
हालसम्म हताहतको आधिकारिक विवरण पूर्ण रूपमा सार्वजनिक भएको छैन । तर नागरिक संरचना, सैन्य अड्डा र सरकारी प्रतिष्ठानहरू लक्षित गरिएकाले क्षतिको दायरा ठूलो हुनसक्ने अनुमान गरिएको छ ।
उडान प्रभावित, सावधानी अपनाउन आग्रह
नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको पछिल्लो अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको उल्लेख गर्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई सावधानीका उपाय अपनाउन अनुरोध गरेको छ ।
परराष्ट्र मन्त्रालयले ‘एडभाइजरी’ जारी गर्दै इजरायल र इरानका सम्बन्धित निकायहरूले जारी गरेका सुरक्षासम्बन्धी निर्देशन तथा सूचना कडाइका साथ पालना गर्न आग्रह गरेको छ । एडभाइजरीमा भनिएको छ, ‘सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस् र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् । सम्बन्धित निकायको पूर्वस्वीकृतिबिना अनावश्यक यात्रा नगर्नुहोस् । काठमाडौंस्थित परराष्ट्र मन्त्रालय, तेल अविवस्थित नेपाली राजदूतावास तथा दोहास्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस् ।’


इजरायल वा इरान भ्रमण गर्ने योजना बनाइरहनुभएका नेपाली नागरिकलाई हालको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ । अन्य मध्यपूर्वी देशहरूमा बसोबास तथा कार्यरत नेपाली नागरिकलाई त्यहाँको अवस्थाबारे निरन्तर जानकारी लिँदै सम्बन्धित देशका निकायले जारी गरेका सावधानीका उपाय पालना गर्न मन्त्रालयको अनुरोध छ ।
संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न अनुरोध गरेको छ । मध्यपूर्वको बदलिँदो परिस्थितिलाई ध्यान दिँदै  सावधानी अपनाउन अनुरोध गरेको हो ।
दूतावासले शनिबार  ‘ट्राभल एडभाइजरी’ जारी गर्दै यूएई सरकारले जारी गरेका सुरक्षा मार्गदर्शन एवं सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ । आपत्कालीन सुझाव, सल्लाह वा सहयोगका लागि अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सम्पर्कमा रहन अनुरोध गरिएको छ । 
हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका  उडान रद्द भएका छन् ।
सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो र रातिका सबै उडान रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए । 
‘सारजहा, दोहा, दुबै, कुबेतसिटी, अबुधाबी, कतार र कतार विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन्,’ उनले भने, ‘उडानहरू कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने छ । यसैगरी, यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्