पर्यटन व्यवसायी वारिस धरेल हिमालयन उद्धार संघ नेपालको कार्यकारी सदस्य हुन् । बेलायतबाट बीबीए अध्ययन सकेर सन् २०११ मा नेपाल फर्किएका उनी हाल एमबीए पढिरहेका छन् । पर्यटन क्षेत्रम सक्रिय रहेर उनले प्रत्यक्षरूपमा करिब चार सयलाई रोजगारी दिएका छन् । तर, सफल पर्यटन व्यवसायीको छवि बनाएका धरेललाई प्रतिनिधिसभा सदस्य बन्ने हुटहुटी जाग्यो । डेढ दशकदेखिको व्यावसायिक करियरका बीच उनी राजनीतिमा प्रवेश गरेका छन् । फागुन २१ मा हुने निर्वाचनमा उनी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट काठमाडौं ६ का लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् । राजनीतिमा प्रवेश गर्नुको कारण, अबको राजनीतिक दिशा, देशको आर्थिक अवस्था र अन्य समसामयिक विषयमा केन्द्रित रहेर न्यून२४ दैनिकका लागि संवाददाता सुजाता थापाले धरेलसँग गरेको कुराकानीः
तपाईं सफल व्यावसायिक जीवन बिताइरहनुभएको व्यक्ति, एकाएक किन राजनीतिमा आउनुभयो ?
अहिले हाम्रो देशको यथार्थ अवस्था सबैलाई स्पष्टरूपमा थाहा छ । व्यवसाय सञ्चालन गर्ने वातावरण सहज छैन । हामी व्यवसायीहरू हरेक दिन ‘भोलि के होला?’ भन्ने अनिश्चिततामै दौडिरहनुपरेको अवस्था छ । विशेषगरी पर्यटन क्षेत्र अत्यन्त संवेदनशील क्षेत्र हो । यस क्षेत्रमा तीन महिना सिजन हुन्छ, त्यसपछि तीन महिना अफ–सिजन, फेरि सिजन र फेरि अफ–सिजनको चक्र चलिरहन्छ । भोलि विदेशी पर्यटक आउँछन् कि आउँदैनन् भन्ने निश्चित हुँदैन ।
एक जना विदेशी पर्यटकको आगमनले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा करिब आठदेखि एघार जनासम्मलाई रोजगारी दिन सक्छ । यति ठूलो प्रभाव पार्ने पर्यटन क्षेत्रले देशको अर्थतन्त्रमा महŒवपूर्ण योगदान पु¥याउन सक्छ । तर यस्तो सम्भावना हुँदाहुँदै पनि आवश्यक नीतिगत समर्थन र स्थिरता नपाउँदा यो क्षेत्र अपेक्षितरूपमा अगाडि बढ्न सकेको छैन ।
यही अवस्थालाई हेर्दा कहिलेकाहीँ लाग्छ समस्याको समाधान सायद राजनीतिबाट नै सम्भव छ । यदि हामी युवापुस्ता राजनीतिमा प्रवेश गरेर सकारात्मक परिवर्तन ल्याउन सक्यौं भने देशलाई अगाडि बढाउन सकिन्छ । त्यसैले राष्ट्र र अर्थतन्त्रलाई सुदृढ बनाउनका लागि राजनीतिलाई पनि जिम्मेवार र प्रभावकारी बनाउनु आवश्यक छ भन्ने मेरो धारणा हो ।
तपाईं सबै व्यापार व्यवसाय छाडेर राजनीतिमा लाग्नुभएको हो ?
होइन, हामी व्यापार व्यवसाय पनि गर्छौं । मैले १५ वर्षदेखि यसमा सघाइरहेको छु । राजनीति मेरो मुख्य पृष्ठभूमि होइन तर यसलाई पनि मैले आफ्नो तरिकाले गर्नेछु । जित होस् वा हार, म क्षेत्र नम्बर ६ मा स्थानीय स्तरमै बस्छु, कतै जाने होइन । तर, निरन्तररूपमा म त्यही ठाउँमा सक्रिय भएर काम गर्दै जानेछु ।
पर्यटन क्षेत्रले हाल कस्ता–कस्ता समस्या झेलिरहेको छ ?
पर्यटन क्षेत्रका मुख्य समस्याहरू अहिले विशेषगरी पूर्वाधारसँग सम्बन्धित छन् । अन्तर्राष्ट्रिय उडान व्यवस्थापन, हवाई सेवा तथा अन्य यातायात प्रणालीमा विभिन्न प्रतिबन्ध र असुविधा देखिन्छन् । सडक पूर्वाधारको अवस्था कमजोर छ कतिपय गन्तव्यसम्म पुग्ने बाटो व्यवस्थित छैन । विदेशी पर्यटकहरूले करिब १३००–१४०० अमेरिकी डलर खर्च गरेर नेपाल भ्रमणमा आउँछन् तर उनीहरूलाई अपेक्षित स्तरको सेवा, सुविधा र पूर्वाधार उपलब्ध गराउन सकिएको छैन । विमानस्थलको अवस्था सन्तोषजनक छैन, सडक सुरक्षाको अवस्था कमजोर छ र कतिपय स्थानमा विदेशी पर्यटकले पर्याप्त सुरक्षाको अनुभूति गर्न सकिरहेका छैनन् । यस्तो अवस्थामा ‘किन नेपाल आउने ?’ भन्ने प्रश्न स्वाभाविकरूपमा उठ्छ ।
भिसा प्रक्रिया पनि सहज र सरल छैन । कोभिड–१९ जस्ता संकटको सन्दर्भमा पनि सरकारले पर्यटनजस्तो महŒवपूर्ण र संवेदनशील क्षेत्रलाई अपेक्षित प्राथमिकता दिन सकेन यो क्षेत्रलाई संरक्षण र प्रवर्धन गर्न सब्सिडी, कर छुट ट्याक्स इन्सेन्टिभ, राहत प्याकेज तथा दीर्घकालीन नीति आवश्यक थियो । पर्यटन अर्थतन्त्रको महŒवपूर्ण आधार भएकाले यस्तो संवेदनशील क्षेत्रमा विशेष संरक्षण, सहुलियत र प्रोत्साहनका कार्यक्रमहरू लागू गर्नुपर्छ । यस क्षेत्रमा समयमै नीतिगत सुधार, कर प्रोत्साहन र अनुदानको व्यवस्था गरिए मात्र दिगोरूपमा विकास सम्भव हुन्छ ।
सांसद बनेर यी सबै समस्या एकसाथ समाधान गर्न सकिन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?
मेरो उम्मेदवारीको मुख्य उद्देश्य परिवर्तन नै हो । लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै रोजगारी सिर्जना गरिरहेको व्यक्तिका रूपमा मैले अझ बढी रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ भन्ने विश्वास लिएको छु । युवाहरू विदेश पलायन भइरहेका छन् यस अवस्थालाई रोक्न देशमै सम्भावना र अवसर विस्तार गर्न आवश्यक छ । व्यावसायिक क्षेत्रमा काम गर्दै आएको अनुभवका आधारमा आज हामीजस्ता सक्रिय र कार्यानुभव भएका व्यक्तिहरू नेतृत्व तहमा नआए देशको अवस्था सुधार गर्न गाह्रो हुन्छ भन्ने महसुस गरेको छु ।
पुरानो सोच र परम्परागत अभ्यासले मात्र अपेक्षित परिवर्तन ल्याउन सकेको देखिँदैन । परिवर्तन एकै दिनमा सम्भव हुँदैन तर सुरुवात त गर्नैपर्छ । देशमा सुधार गर्नुपर्ने धेरै क्षेत्र छन् । त्यसैले हामीजस्ता काम गरेर अनुभव हासिल गरेका युवापुस्ता अघि सरेर जिम्मेवारी लिनुपर्छ भन्ने सोचका साथ मैले उम्मेदवारी दिएको हुँ । म अहिले ३६ वर्षको भएँ, यो उमेरमा देशका लागि केही गर्ने स्पष्ट सोच, ऊर्जा र प्रतिबद्धता लिएर अगाडि बढेको छु । सक्षम र प्रतिबद्ध युवा राजनीतिमा प्रवेश गर्छन् भने देशलाई सही दिशामा अघि बढाउन सकिन्छ भन्ने मेरो विश्वास हो ।
तपाईं पर्यटन र अर्थतन्त्रसँग जोडिएको व्यक्ति हुनुहुन्छ, कस्ता आर्थिक मुद्दा र एजेण्डा उज्यालो नेपाल पार्टीका प्राथमिकतामा छन् ?
अहिले म पर्यटन क्षेत्रमा काम गर्दै आएको अनुभवका आधारमा भन्न चाहन्छु कि यो एकदमै अस्थिर क्षेत्र हो । यसलाई सुरक्षित र दिगो बनाउन आवश्यक छ । यसका लागि अनुदान, कर छुट, ट्याक्स इन्सेन्टिभ र विदेशी लगानी प्रोत्साहनजस्ता नीतिहरू लागू गर्नुपर्छ ।
सुरक्षा र दिगोपनका दृष्टिले पर्यटन सेक्टरलाई स्पष्ट र मजबुत नीतिगत संरचना आवश्यक छ । बैंकिङ वा अन्य वित्तीय क्षेत्रमा जस्तो गहिरो समझ आवश्यक हुन्छ, कुनै समस्या आयो भने समाधानमा समय लाग्छ । पर्यटन जस्तो संवेदनशील क्षेत्रमा यो अझ महŒवपूर्ण हुन्छ । उद्यमी र लगानीकर्तालाई आकर्षित गर्न सहज र स्पष्ट नीति वातावरण निर्माण गर्नुपर्छ । लगानीकर्ताले आफ्नो लगानी सुरक्षित, लाभदायक र दीर्घकालीन देख्न सके मात्र उनीहरू आउँछन् । त्यसका लागि सहजीकरण, लगानी प्रोत्साहन, स्पष्ट नियम र पूर्वाधारको सुधार आवश्यक छ । संक्षेपमा भन्नुपर्दा, पर्यटन सेक्टरको विकासका लागि नीति, लगानी वातावरण र संस्थागत सहजीकरणको सुनिश्चितता अनिवार्य छ ।
तपाईंले उज्यालो नेपाल पार्टी रोज्नुको कारण के हो ?
मैले उज्यालो नेपाल पार्टी रोज्नुको कारण मेरा लागि ठूलो प्रभाव राख्ने व्यक्ति कुलमान घिसिङ हुनुहुन्छ । उहाँले मेरो व्यावसायिक यात्रा तथा व्यक्तिगत जीवनमा ठूलो सहयोग गर्नुभएको छ । मेरो व्यक्तिगत जीवन र व्यवसायमा आएका चुनौती पार गर्दा उहाँको मार्गदर्शन र प्रभाव अत्यन्त महŒवपूर्ण रह्यो । उहाँले नेतृत्व दिएको भूमिका स्वीकार्दै म अगाडि बढेको हुँ ।
उहाँ केही समयअघि रास्वपा पार्टीसँग पनि संलग्न हुनुभयो, पछि रास्वपाबाट अलग हुनुभयो, यसले उज्यालो पार्टीको राजनीतिक जीवनलाई कति प्रभावित बनायो ?
त्यो एउटा अध्याय हो । र, अब त्यो सकिसक्यो । मैले अब त्यसलाई पूरा मान्दै बाँकी समय चुनावमा केन्द्रित हुने निर्णय गरेको छु । चुनाव सकिएपछि बाँकी पाँच वर्षको अवधि कस्तो परिणाम आउँछ, कुन सिटमा निर्वाचित हुन्छु त्यसपछि योजना बनाउने र नयाँ अध्याय सुरु गर्ने अवसर प्राप्त हुन्छ । अब पूर्णरूपमा अगाडि बढेर म र यो पार्टीका सबै सदस्यहरूले भविष्यको जीवनलाई समग्ररूपमा अघि बढाउनुपर्छ र त्यसलाई सफल बनाउनुपर्छ । पाँच वर्षको नयाँ योजना पनि मैले सुरु गरिसकेको छु, समय आएको छ ।
मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
मतदाताको नयाँ अनुहार र नयाँ नेतृत्वलाई धेरै समर्थन छ । तर, मतदातालाई अझै थाहा छैन कि को उम्मेदवार हो । धेरैले लहडमा मात्रै समर्थन गर्छन् । उम्मेदवारका बारेमा बुझ्नुपर्ने हो तर उनीहरू बुझ्न चाहँदैनन् । परिवर्तन चाहने मतदाताले पनि वास्तविकरूपमा परिवर्तन ल्याउन सक्षम र सही उम्मेदवारलाई समर्थन गर्नुपर्छ । केवल पार्टीको झण्डा वा आफ्नो व्यक्तिगत अहंकारका आधारमा होइन । मतदाताले आफ्नो नेतृत्व गर्ने व्यक्ति वा उम्मेदवारका बारेमा पत्याउने आधार नै नजान्ने हो भने, ‘को मान्छे ? के गर्ने मान्छे ?’ भन्ने अनिश्चितता रहिरहन्छ । त्यसैले मतदाताले आफ्नो ध्यान राखेर, सही जानकारी बटुलेर र जिम्मेवार भएर उम्मेदवार छान्नुपर्छ । केवल फोटो वा प्रचार सामग्रीको प्रभावमा भोट हाल्नु उचित होइन । सही उम्मेदवारको पहिचान गर्नु नै मतदाताको जिम्मेवारी हो ।
अन्त्यमा, जेनजी आन्दोलनपछि मुलुक नयाँ हिसाबले अघि बढिरहेको छ, यस विषयमा तपाईंको धारणा के छ ?
मलाई त्यो बिल्कुलै ट्रिगरिङ पोइन्ट थियो किनभने जुनसुकै अवस्था भए पनि पहिलो कुरा त कसैलाई मार्न पाइँदैन । विशेषगरी बच्चा त झन् छुनै हुँदैन । उनीहरू हाम्रो देशका भविष्य हुन् । भदौ २३ गते म पनि रातभर सुत्न सकिन । बाटोमा गएर नारा पनि लगाएँ, केही पनि तोडिनँ तर गलतलाई गलत भन्न आवश्यक हुन्छ । त्यो घटनापछि मैले ठानें ‘इनफ इज इनफ’ । अब पुग्यो । धेरै कुरा रोकिराख्न मिल्दैन । आफूलाई अघि बढाउनुपर्छ । हामीजस्ता व्यक्ति अघि गएनौं भने देशको अवस्था अझ बिग्रिन्छ । जेनजी आन्दोलन मेरा लागि साँच्चै एकदमै ट्रिगरिङ पोइन्ट भयो ।