नेभिगेशन
अर्थतन्त्र

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१औं वर्षमा प्रवेश गरेको छ । बैकले ग्राहकवर्ग, शेयरधनी, नियामक निकाय, साझेदार संस्था तथा कर्मचारीहरूको निरन्तर विश्वास र सहयोगका आधारमा वित्तीय क्षेत्रमा सशक्त उपस्थिति जनाउँदै चार दशक लामो यात्रा पार गरेको हो ।
ऐतिहासिक अवसरमा बैंक परिवारले सम्पूर्ण हितकारीप्रति हार्दिक आभार व्यक्त गरेको छ । ४०औं वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले सफल यात्रामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै ग्राहक अनुभवलाई सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशामा बैंक अग्रसर रहने प्रतिबद्धता जनाए । ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारासहित ग्राहक सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवा विस्तार गरिरहने पाण्डेले बताए ।
वार्षिकोत्सवको अवसर पारेर बैंकले वित्तीय साक्षरतामा आधारित चित्र पुस्तक प्रकाशन परम्परालाई निरन्तरता दिएको छ । विगत ८ वर्षदेखि जारी उक्त अभियानअन्तर्गत यस वर्ष ‘३ आर सुन्दर संसार’ नामक आठौं संस्करण सार्वजनिक गरिएको बैंकले जनाएको छ ।
वातावरणीय प्रदूषण, प्राकृतिक स्रोतको संरक्षण र ग्लोबल वार्मिङजस्ता विषय समेटिएको चित्रकथा सरल, रमाइलो र ज्ञानवर्धक शैलीमा प्रस्तुत गरिएको छ । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वातावरण संरक्षणलाई प्राथमिकता दिँदै बालबालिकामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको बैंकको भनाइ छ ।
यसैबीच, वार्षिकोत्सव दिवसमा बैंकले नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । बैंकले देशभर २६९ शाखा, २५७ एटीएम, ६५ एक्सटेन्सन काउन्टर र ६० शाखारहित बैंकिङ काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्