नेभिगेशन
अर्थतन्त्र

पेट्रोलियम पदार्थको मूल्य यथावत्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । भारतीय आयल निगमबाट मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै यथावत् राखिएको निगमले जनाएको छ ।
निगमका अनुसार भारतबाट पेट्रोलमा २ रुपैयाँ ९ पैसा, डिजेलमा २ रुपैयाँ ४७ पैसा र ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको थियो । तर, हाललाई साविककै मूल्य कायम गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाल चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल १५४ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल १३९ रुपैयाँ ५० पैसामा बिक्री वितरण भइरहेको छ । त्यस्तै सुर्खेत र दाङमा पेट्रोल १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल १४१ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल १५७ रुपैयाँ तथा डिजेल तथा मट्टितेल १४२ रुपैयाँमा बिक्री भइरहेको निगमले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्