नेभिगेशन
मनोरञ्जन

‘परालको आगो’ उत्तर अमेरिकामा बल्ने

काठमाडौं । कुनै समय एक्शन फिल्म निर्माण गरेका नेपाली फिल्म निर्माता सुशील पोखरेलले यतिबेला सामाजिक कथा ठूलो पर्दामा ल्याउँदैछन् । उनको फिल्म ‘परालको आगो’ सुटिङ सकिनेबित्तिकै अमेरिका र क्यानडामा वितरण गर्न एउटा कम्पनी तयार भएको छ ।
निर्माण पक्षले फिल्मको फस्ट लुक सार्वजनिक गरेको दुई दिनमा नै बिक्री भएको हो । अमेरिका र क्यानडाका लागि चलचित्र इएनटीले किनेको निर्माता पोखरेलले बताए ।
‘हाम्रो फिल्मलाई अमेरिका र क्यानडामा प्रदर्शन अधिकार बिक्री गरिसकेका छौँ,’ निर्माता पोख्रेलले भने, ‘अन्य देशमा पनि प्रदर्शनका लागि कुराकानी भइरहेको छ ।’
लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्मको छायांकन हुनुअघि नै चर्चामा  थियो । फिल्ममा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत मुख्य भूमिकामा छन् । ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठान गरेको निर्माता पोखरेलले बताए । 
सुशील देवकोटाले गुरुप्रसाद मैनालीको क्लासिक कथालाई आधुनिकीकरण गरेका छन् । 
फिल्ममा पाश्र्व संगीत किरण तुलाधर, संगीत शान्ति ठटाल, सत्य–स्वरुप, प्रकाश सपुतको रहेको छ । फिल्ममा मनबहादुर मुखिया, सुरेन्द्र राना, प्रकाश सपुतले गीत लेखेका छन् । ओएसआर डिजिटलले यसको डिजिटल अधिकार यसअघि नै लिइसकेको छ । यही कथामा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म बनाएका थिए, जसमा बसुन्धरा भुसालले पहिलो पटक अभिनय गरेकी थिइन् । उनी गौंथली बनेकी थिइन् भने टंक शर्मा चामे बनेका थिए । पछिल्लो ‘परालको आगो’मा भने चामे र गौंथलीका रुपमा सौगात मल्ल र सुहाना थापा रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्