नेभिगेशन
मनोरञ्जन

प्यारामाउन्ट सबैभन्दा ठूलो फिल्म स्टुडियो बन्दै

स्काईडान्स कम्पनीले गत वर्ष प्यारामाउन्ट कम्पनी किनेर सबैलाई चकित पारेको थियो । त्यसयता स्काईडान्सले पुनः वार्नर ब्रदर्श किन्ने प्रस्ताव राखेको थियो र त्यसमा ऊ सफल हुने सम्भावना बढेर गएको छ । वार्नरलाई किन्न यसअघि नेटफ्लिक्सले पनि निकै ठूलो जोडबल गरेको थियो । तर वार्नर किन्न स्काईडान्स सफल भयो भने मिडिया क्षेत्रमा व्यापक परिवर्तन देखिने सम्भावना बढेर गएको छ ।
त्यसो त यो सम्झौता अझै पूर्ण भइसकेको छैन । प्यारामाउन्टले अझै पनि नियामकहरूबाट स्वीकृति पाउन बाँकी छ तर यदि यो अघि बढेमा, यसले दर्शकहरूका लागि कसरी फेरबदल ल्याउन सक्छ भन्ने विश्लेषणहरू विभिन्न कोणबाट भइरहेको छ ।

स्ट्रिमिङ लागत परिवर्तन हुन सक्छ
प्यारामाउन्टले आफ्नो ‘प्यारामाउन्ट प्लस’ सेवालाई वार्नर ब्रदर्सको ‘एचबीओ म्याक्स’ सँग मिसाएर एउटा अनिवार्य जस्तै लाग्ने स्ट्रिमिङ सेवा बनाउने अपेक्षा गरिएको छ । यसले नेटफ्लिक्स, अमेजन र डिज्नीजस्ता प्रतिस्पर्धीहरूसँग डटेर सामना गर्न सक्ने सम्भावना छ । दर्शकहरूले एउटै सदस्यताबाट ‘द पिट’ जस्ता हालका चर्चित कार्यक्रमदेखि ‘कासाब्लान्का’, ‘स्टार ट्रेक’, ‘फ्रेन्ड्स’ र ‘द सोप्रानोस’ जस्ता क्लासिक कृतिको आनन्द लिन सक्नेछन् । यसले मूल्यमा कस्तो असर पार्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।
विश्लेषकहरू भन्छन्, सुरुमा एचबिओम्याक्स र प्यारामाउन्ट प्लसजस्ता दुवै सेवाका लागि भुक्तानी गरिरहेकाहरूले समग्रमा केही सस्तो डिल पाउन सक्छन् । तर समय बित्दै जाँदा, अझै आकर्षक प्रस्ताव हुनाले प्यारामाउन्टलाई मूल्य बढाउने बाटो खुल्न सक्छ । साथै, स्ट्रिमरहरू बीच कम प्रतिस्पर्धा हुनुको अर्थ ग्राहकले स्ट्रिमिङ सदस्यताका लागि समग्रमा बढी मूल्य तिर्नुपर्ने हुन सक्छ ।
टिभी विश्लेषक टम ह्यारिङ्टन भन्छन्, ‘त्यहाँ प्रतिस्पर्धा कम हुनेछ र अलि बढी शुल्क दिनुपर्ने हुनसक्छ ।’ यद्यपि, क्विल्टर चेभियटमा टेक्नोलोजी अनुसन्धानका प्रमुख बेन बारिन्जर भन्छन्, ‘कुनै पनि बढ्दो लागत नेटफ्लिक्सले तोकेको दरमा भर पर्नेछ । बजारको मूल्य निर्धारक नेटफ्लिक्स भएकाले उसले मूल्य बढायो भने मात्र अन्यले बढाउने सपना देख्नेछन् ।’ तर यी कुनै पनि परिवर्तनहरू तत्कालै भइहाल्ने देखिँदैनन् ।


कम्पनी प्राप्ति एउटा लामो प्रक्रिया हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा नियामक स्वीकृतिका लागि यो ‘पूर्ण गतिमा अघि बढ्ने’ अपेक्षा गरिएको छ । यो बेला मूल्य बढ्नु गाह्रो छ । पछि यो सम्झौताको सम्पूर्ण अध्ययनपछि कामदारहरूलाई अप्ठेरो पर्ने भए कम्पनी मर्ज रोकिने सम्भावना पनि उत्तिकै छ । क्यालिफोर्नियाका महान्यायाधिवक्ताले त ‘कडा’ अनुसन्धान गर्ने वाचा नै गरिसकेका छन् ।
त्यसैले, नियामक समयतालिका र विद्यमान वितरण सम्झौताहरूलाई हेर्दा, दर्शकहरूलाई अहिले प्रस्ताव गरिएका सेवाहरूमा कुनै ठूलो परिवर्तन आउन अझै वर्षौं लाग्न सक्छ ।

सिनेमा हलका लागि राहत
हलिउडका सिनेमा हल सञ्चालक र अन्य व्यक्तिहरू नेटफ्लिक्सले खरिद गर्ला भनेर डराएका थिए । त्यसको अर्थ गत वर्षका ‘सिनर्स’, ‘द माइनक्राफ्ट मुभी’ र ‘वान ब्याटल आफ्टर एनोदर’ जस्ता प्रख्यात फिल्मलाई सिधै नेटफ्लिक्समा रिलिज गर्ने सम्भावना हुन्थ्यो । तर प्यारामाउन्ट र वार्नर ब्रदर्स अझै पनि आफ्ना फिल्महरूको आम्दानी बढाउन टिकट बिक्रीमा भर पर्नु जरुरी छ । हाग्र्रेभ्स लान्सडाउन कम्पनीका म्याट ब्रिट्जम्यान भन्छन्, ‘यसको अर्थ थोरै फिल्महरू मात्र सिधै स्ट्रिमिङमा पठाइनेछ ।’
यसको अर्थ, पहिला फिल्महरू सिनेमा हलमा रिलिज हुनेछन्, अनि मात्र स्ट्रिमिङ गरिने छन् । टम ह्यारिङ्टन पनि प्यारामाउन्टले खरिद गर्नु सिनेमाका लागि सम्भवतः ‘राम्रो नतिजा’ हो भन्छन् । तर उनी चेतावनी दिँदै भन्छन्, ‘ठूला कम्पनीहरू एकअर्कामा गाभिँदै जाँदा फिल्महरू कम बन्नेछन् । यसअघि पनि  डिज्नेले फक्स किनेपछि फिल्म निर्माणको संख्या स्वात्तै घटेको थियो ।
प्यारामाउन्ट पहिले नै खर्च कटौतीको मोडमा छ । डेभिड एलिसनले आफ्नो कम्पनी स्काईडान्ससँग मर्ज गर्दा खर्च कटौतीको नाममा कयौं राम्रा प्रोजेक्टहरूलाई पनि थाँति राखेका थिए । 
त्यसमाथि अब वार्नर स्टुडियो किन्ने हो भने किन्नलाई लिइएको ऋण कुनै न कुनै बेला त अवश्य तिर्नुपर्छ । फिल्म उद्योगका व्यापार विश्लेषक कम्पनी क्विल्टर चेभियटका बेन बारिन्जर भन्छन्, ‘धेरै ऋण हुनुको अर्थ तपाईंसँग बढी तिर्नुपर्ने भार छ र यसको अर्थ फिल्म निर्माणका लागि खर्च गर्न तपाईंसँग निकै कम रकम हुनसक्छ ।’
ट्रम्प–मैत्री सीएनएन ?
यदि प्यारामाउन्ट–स्काईडान्सले वार्नर ब्रदर्श किन्ने सम्झौता अघि बढ्यो भने, यसले अमेरिकाको अर्को प्रमुख समाचार नेटवर्क सीएनएनलाई एलिसन परिवारको नियन्त्रणमा राख्नेछ । एलिसन परिवार ह्वाइट हाउससँग निकै नजिकको सम्बन्ध राख्छ । यसले अमेरिकाका डेमोक््रयाट र त्यसप्रति नरम भाव राख्ने मिडिया पक्षधरहरूमा अहिले नै त्रास पैदा गरेको छ । अब त झन् ट्रम्प प्रशासनविरुद्ध अपनाउनुपर्ने कडा मिजाजलाई थप सतर्क र नरम बनाउनेछ ।
यसअघि सीबीएस न्यूज नेटवर्कमा भएका परिवर्तनले पनि ट्रम्पप्रति नरम धारणा बनाउन बाध्य भएका थिए । एलिसन परिवारले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नेटवर्कमा हुने परिवर्तनहरूबारे पहिले नै छलफल गरिसकेको जनाइएको छ । 
त्यसो त केही विश्लेषकहरू सीएनएन रातारात फक्स न्यूज बन्नेमा शंका व्यक्त गर्छन् । फ्रीडम अफ द प्रेस फाउन्डेसनका प्रमुख अधिवक्ता सेथ स्टर्न भन्छन्, ‘तर कभरेज नरम हुन सक्छ, ट्रम्प प्रशासनको आलोचना घट्न सक्छ र विशेष गरी आलोचनात्मक मानिने प्रस्तोताहरूलाई निकालिन सक्छ ।’
न्यूयोर्क विश्वविद्यालयका मिडिया प्रोफेसर रोडनी बेन्सनले यो सम्झौतालाई ‘चिन्ताजनक’ मानेका छन् । यो सम्झौताले अमेरिकाका ठूला मिडिया कम्पनीहरूलाई अनुदारवादीहरूको हातमा थप केन्द्रित गर्ने उनको बुझाइ छ । ‘यो वैचारिक परिवर्तन मात्र होइन, यो लोकतन्त्र र विधिको शासनका लागि खतरा हो,’ उनको भनाइ छ । 

युट्युब ठूलो अवरोधक
वित्तीय दबाब झेलिरहेका दुई पुराना मिडिया आउटलेटहरूको मर्जर कत्तिको सफल होला भन्ने कुरा अझै एउटा खुला प्रश्न छ । त्यो किनभने स्ट्रिमिङ सेवाहरूको लागि ‘प्रमुख’ खतरा एकअर्का होइनन् । बरु युट्युब हो । युट्युबका आधा जति शीर्ष ट्रेन्डिङ भिडियोहरू अब लामो अन्तर्वार्ता र गेम शोहरू सहित परम्परागत टिभी जस्तै देखिन्छन्, जसले यसलाई विज्ञापन–आधारित टिभी सेवाहरूको सिधा प्रतिस्पर्धीको रूपमा उभ्याएको छ ।
साथै, छोटा भिडियोहरूले परम्परागत मिडियाको दर्शक संख्या घटाएको छ । प्रतिस्पर्धी हुनु भनेको एकअर्कासँग प्रतिस्पर्धी हुनु मात्र होइन, यो त छोटाछोटा  भिडियोसँग प्रतिस्पर्धी पनि हुनु हो । उनीहरू त्यही दिशामा गइरहेको प्रस्ट देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन