नेभिगेशन
प्रदेश

खानेपानीका सात मुहान दूषित

मुगु । मुगुमकामारोङ गाउँपालिकामा खानेपानीका विभिन्न मुहानमा कोलिफर्म जीवाणु भेटिएको छ । गाउँपालिकाको वास इकाइ र सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) परियोजनाले सञ्चालन गरेको पालिकास्तरीय खानेपानी गुणस्तर परीक्षण शिविरमा १८ वटा खानेपानी आयोजनाका ३७ नमूना परीक्षण गरिएको थियो । परीक्षणका क्रममा सात वटा मुहानमा कोलिफर्म जीवाणु फेला परेको वास संयोजक मुकुन्द रावलले जानकारी दिएका छन् ।
कोलिफर्म जीवाणु सामान्यतया मानव वा जनावरको दिसामा पाइने जीवाणु हो । यो भेटिनु भनेको पानी दिसाजन्य फोहोरले दूषित भएको संकेत हो । यस्तो पानी सिधै पिउँदा झाडापखाला, हैजा, आउँ, टाइफाइड, पेट दुख्ने, बान्ता हुने जस्ता पानीजन्य रोग लाग्न सक्छन् । विशेषगरी बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिका लागि यो अझ खतरनाक हुन्छ । समयमै उपचार नभए गम्भीर अवस्थामा ज्यानसमेत जोखिममा पर्न सक्छ ।
परीक्षणका क्रममा वडा कार्यालय छायल, बर्थिङ सेन्टर छायल र नेपाल आधारभूत विद्यालयमा प्रयोग भइरहेको पानीमा समेत उच्च मात्रामा कोलिफर्म जीवाणु भेटिएको छ । केही मुहानमा अत्यधिक धमिलोपन पनि देखिएको छ । 
गाउँपालिकाले दूषित मुहानको सुधार, संरक्षण र व्यवस्थापन गर्ने जनाएको छ । साथै उपभोक्ता समिति र स्थानीय बासिन्दालाई खानेपानी र सरसफाइबारे जनचेतना कार्यक्रम सञ्चालन गरिने बताइएको छ । सुरक्षित रहनका लागि पानीको मुहान वरिपरि घेराबारा गर्ने, सफा राख्ने, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउने, क्लोरिन प्रयोग गर्ने तथा नियमितरूपमा गुणस्तर परीक्षण गर्ने उपाय अपनाउन आग्रह गरिएको छ ।
गाउँपालिकाले आगामी दिनमा यस्ता परीक्षण र सचेतनामूलक कार्यक्रम नियमितरूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्