नेभिगेशन
उपत्यका

रानाग रिन्पोचेको अगुवाइमा काठमाडौंमा छोट्रुल दुछेन शुरु

काठमाडौँ । बौद्ध धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र मानिने छोटुल दुछेनको अवसरमा काठमाडौँमा आइतवारदेखि तीनदिने विशेष धार्मिक साधना कार्यक्रम शुरु भएको छ । काठमाडौंको ह्योल्मो गुम्बामा शुरु भएको धार्मिक साधना श्रद्धेय रानाग छोक्तुल रिन्पोचे ९डोल्पो बुद्धको अगुवाइमा भएको हो । रानाग रिन्पोचे स्नोल्याण्ड रानाङ लाइट अफ एजुकेसन विद्यालयका संस्थापक पनि हुन् । 

यो धार्मिक साधनामा विशेष सिद्धि मन्त्र जप गरिँदैछ । रिद्धि–प्रतिहार्य महिनाको विशेष अवसर पारेर आयोजना भएको साधनामा गुरु रिन्पोछेको विशेष मन्त्र जप १० करोड पटक, तारा मन्त्र जप १ लाख पटक, महाकाल पूजा १० हजार पटक तथा छोग अर्पण पूजा १ लाख पटक गरिने छ । 

छोट्रुल दुछेन बौद्ध परम्परामा अत्यन्त महत्वपूर्ण र पवित्र समय हो । यो अवधिमा गरिने पुण्य कार्यको फल १० करोड गुणा बढी हुने विश्वास गरिन्छ । बुद्धले १५ दिनसम्म विभिन्न चमत्कार देखाएर अहंकारमाथि विजय प्राप्त गरेको यो समयमा मन्त्र जप, पूजापाठ र ध्यानले मनलाई एकाग्र बनाई नकारात्मक विचार घटाउँने, आत्मिक शान्ति, करुणा तथा सद्भाव प्राप्तिमा ठूलो सहयोग पुग्ने धार्मिक विश्वास रहेका छ । 

रानाग रिन्पोचेले यो पावन अवसरमा सम्पूर्ण श्रद्धालु भक्तजनलाई सहभागि भई मन शुद्ध गर्ने, शान्ति, करुणा र सद्भाव फैलाउने पुण्य कार्यमा सहकार्य गर्न हार्दिक अपिल गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्