नेभिगेशन
खेलकुद

‘ए’ डिभिजन लिग आयोजनामा सहमति

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ मिति घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच मंगलबार भएको छलफलपछि डिभिजन लिग आगामी ३० चैतदेखि सुरु गर्न सहमति भएको हो ।
एन्फा र क्लबहरूको बैठकले यो वर्ष राष्ट्रिय लिग गर्ने ‘ए’ डिभिजन लिग नगर्ने सहमति गरेका थिए । उक्त  सहमतिअनुसार लिग आगामी पुस ३ मा हुने भएको थियो । राष्ट्रिय लिग अहिले भइरहेको छ ।
३३ महिनादेखि हुन नसकेको ‘ए’ डिभिजन लिगको निश्चितता, खेलाडी अक्षय कोषको विस्तृत विवरण, ९ वर्षदेखि खेलाडीले पाउन बाँकी पुरस्कार रकम उपलब्ध गराउनुपर्नेलगायतका माग राखेर खेलाडी आन्दोलित भएपछि एन्फा दबाबमा परेको हो । नेपाल खेलाडी संघका अध्यक्ष विक्रम लामाको नेतृत्वमा केही खेलाडी आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स पुगेका थिए ।
एन्फाले फुटबल संघ लगाएर परिसरमै खेलाडीलाई रोकेपछि उनीहरूले  तालाबन्दी गर्दै माग सुनुवाइ गर्न दबाब बढाएका थिए । फुटबलमा चरम राजनीति भएको भन्दै खेलाडीले विरोध जनाएका थिए । एन्फा कार्यालयमा लगाइएको ताला एन्फा महासचिव किरण राईसँगको छलफलपछि मंगलबार खेलाडी संघले खोलेपछि संवादको वातावरण बनेको हो । ताला खोलिदिएपछि भएको छलफलमा ‘ए’ डिभिजन लिग यही ३० चैतबाट सञ्चालन गर्ने सहमति भएको एन्फाले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
साथै खेलाडी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम एन्फाले जम्मा गर्ने प्रतिबद्धता जनाएको छ । त्यसैगरी खेलाडीहरूको सेवा–सुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम पनि यही चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्