नेभिगेशन
अर्थतन्त्र

पैसा नतिर्ने मेडिकल र डेन्टल कलेजलाई कारबाहीको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बक्यौता रकम बुझाउन मेडिकल तथा डेन्टल कलेजलाई निर्देशन दिएको छ । काउन्सिलले बक्यौता रकम नतिर्ने मेडिकल तथा डेन्टल कलेजविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ । काउन्सिलका रजिस्ट्रार डा. सतीशकुमार देवले स्नातक तथा स्नातकोत्तर तहमा अध्यापन गराउने विभिन्न कलेज तथा प्रतिष्ठानलाई २१ दिनभित्र सबै बक्यौता अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको जानकारी गराउनुभयो । उनले लामो समयदेखि रकम बुझाउन बाँकी रहेको रकम तिर्न पटक–पटक आग्रह गर्दा पनि सम्बन्धित संस्थाले बेवास्ता गरेको बताए । निर्धारित समयसीमाभित्र बक्यौता रकम नबुझाएमा ती कलेजमा अध्ययनरत विद्यार्थीको परीक्षण दर्ता प्रव्रिmया रोक्का गरिने रजिस्ट्रार देवको भनाइ छ । उनले ती कलेजमा अध्ययन गरेका विदेशी नागरिक चिकित्सक तथा शिक्षकको दर्ता प्रक्रिया पनि स्थगित गरिने जानकारी दिए ।
रजिस्ट्रार देवका अनुसार २१ दिनभित्र बक्यौता नतिरेका संस्थाको नामसहित बक्यौता विवरण सार्वजनिक गरिने निर्णय पूर्ण बैठकबाट गरिएको उल्लेख गरे । नियामक निकायको निर्देशनलाई कार्यान्वयन गर्दै शैक्षिक संस्थाले समयमै बक्यौता चुक्ता गर्नुपर्ने उनको भनाइ छ । उनले कलेजले तोकिएको समयभित्र रकम बुझाएर शैक्षिक तथा प्रशासनिक प्रक्रियामा अवरोध नआउने गरी सहयोग गर्न सम्बन्धित सबै संस्थासँग आग्रह गरे ।
नेपालमा सरकारी र सार्वजनिक गरेर २९ वटा मेडिकल कलेज नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् भने काउन्सिलमा दर्ता डेन्टल कलेजको संख्या १२ देखि १५ को बीचमा रहेको जनाइएको छ । दुवै गरी नेपालमा कुल ४० वटा मेडिकल र डेन्टल कलेज छन्, तीनमा अधिकांशले विविध कारण देखाउँदै बाँकी बक्यौता तिर्न आलटाल गर्दै आएका छन् । काउन्सिल स्रोतका अनुसार दल तथा नेताका अनुचित प्रभावमा काउन्सिललाई पैसा तिर्न दबाब नदिने वातावरण बनाउन विचौलिया उपयोग हुने गरेको थियो । तर निर्वाचनपछि गठित नयाँ सरकारले बाँकी बक्यौता उठाउन तदारुकता देखाएसँगै काउन्सिल पनि सक्रिय बनेको छ ।
काउन्सिलले गत साता जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘नेपालमा स्नातक तथा स्नातकोत्तर तहको अध्यापन गराउने प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरूले विद्यार्थी भर्नाबापत नेपाल मेडिकल काउन्सिलमा बुझाउनुपर्ने रकमको बाँकी बक्यौता रकम बुझाउन नेपाल मेडिकल काउन्सिलबाट पटक–पटक ताकेता गर्दा समेत केही प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरूले बाँकी बक्यौता रकम नबुझाउनु भएको हुँदा’ सूचना जारी गरिएको छ । काउन्सिलले जारी गरेको सूचनामा २१ दिनभित्र अर्थात् २०८३ वैशाख १८ सम्म बाँकी बक्यौता बुझाउन अनुरोध गरेको छ । सूचनामा भनिएको छ, ‘निर्धारित समयावधिभित्र बाँकी बक्यौता रकम नबुझाउने प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरूको काउन्सिलबाट गर्दै आएको विद्यार्थीहरुको परीक्षण दर्ता र विदेशी नागरिक चिकित्सक शिक्षकहरूको दर्ता रोक्का गर्ने साथै समयमा बाँकी बक्यौता रकम नबुझाउने प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरूको नाम तथा बुझाउन बाँकी बक्यौता रकमसहितको विवरण सार्वजनिक गरिनेछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्