नेभिगेशन
दृष्टिकोण

रोजगारी र आर्थिक प्रतिफलका लागि पुष्प व्यवसाय

नेपाल जैविक विविधताका दृष्टिले अत्यन्तै धनी मुलुक हो । उष्ण तराईदेखि हिमाली क्षेत्रसम्मको विविध जलवायु, उर्वर माटो र अनुकूल वातावरणका कारण यहाँ विभिन्न प्रकारका फूल तथा वनस्पति उत्पादनको अपार सम्भावना रहेको छ । विश्वको करिब ०.१५ प्रतिशत भूभाग ओगटेको नेपालमा करिब ६,९७३ प्रजातिका फूल फुल्ने वनस्पति पाइन्छन्, जसले पुष्प व्यवसायलाई प्राकृतिक रूपमा नै बलियो आधार प्रदान गरेको छ ।
पुष्प व्यवसाय, जसलाई फ्लोरिकल्चर पनि भनिन्छ, केवल फूलखेतीमा सीमित छैन । यसले नर्सरी, कट फ्लावर, ड्राइ फ्लावर, टिस्यु कल्चर, ल्यान्डस्केपिङ, गार्डेनिङ जस्ता विविध गतिविधिलाई समेट्छ । घर, कार्यालय, सार्वजनिक स्थल सजावटदेखि विवाह, धार्मिक अनुष्ठान, स्वागत–बिदाइ, शोक तथा उत्सवका अवसरमा फूलको प्रयोगले यसको बजार निरन्तर विस्तार भइरहेको छ । सांस्कृतिक र सामाजिक जीवनसँग गहिरो सम्बन्ध रहेकोले पुष्प व्यवसायको माग स्थिर र दीर्घकालीन रहने आधार पनि बलियो देखिन्छ ।
नेपालमा पुष्प व्यवसायको सुरुवात वि.सं. २०११ तिर सामान्य स्तरबाट भए पनि यसको व्यवस्थित विकास भने वि.सं. २०४९ मा फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) स्थापना भएपछि तीव्र भएको हो । फ्यानले प्रविधि विस्तार, तालिम, बजार विकास, गुणस्तर मापदण्ड र नीतिगत वकालतमार्फत यस क्षेत्रलाई संगठित र व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । यसको परिणामस्वरूप पुष्प व्यवसाय काठमाडौं उपत्यकामा मात्र सीमित नरही अहिले ५२ जिल्लामा फैलिएको छ ।
हाल देशभर करिब २७० हेक्टर क्षेत्रमा पुष्प खेती भइरहेको छ र यस क्षेत्रमा ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । नर्सरी, कट फ्लावर उत्पादक, खुद्रा तथा थोक व्यापारीलगायत गरी १,२०० भन्दा बढी व्यवसायी सक्रिय छन् । यस व्यवसायले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५३ हजारभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ, जसले ग्रामीण तथा शहरी अर्थतन्त्र दुवैमा योगदान पु¥याएको छ ।
पछिल्लो समय सहरीकरण, जीवनशैलीमा आएको परिवर्तन र सौन्दर्यप्रतिको बढ्दो आकर्षणका कारण पुष्प व्यवसायको माग वार्षिक १०–१५ प्रतिशतका दरले वृद्धि हुँदै आएको छ । तिहार, विवाह, विभिन्न उत्सव र कार्यक्रमहरूमा फूलको प्रयोग बढ्दै जाँदा यसको बजार अझै विस्तार हुने संकेत देखिन्छ । विशेषगरी सयपत्री, मखमली, गुलाब, कार्नेसन जस्ता फूलहरूको व्यावसायिक उत्पादनले कृषकलाई राम्रो आम्दानी दिन थालेको छ ।
निर्यातको दृष्टिले पनि नेपालले सम्भावना देखाएको छ । पछिल्लो आर्थिक वर्षमा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात १०० प्रतिशतभन्दा बढीले वृद्धि भई २ करोडभन्दा माथि पुगेको छ । जापान, अमेरिका, अष्ट्रेलिया, कतार लगायतका देशमा नेपाली फूल तथा बिरुवाको माग बढ्दो क्रममा छ । यदि गुणस्तर, प्याकेजिङ र आपूर्ति व्यवस्थापनमा सुधार गर्न सकियो भने अन्तर्राष्ट्रिय बजारमा नेपालको स्थान अझ मजबुत बन्न सक्छ ।
यद्यपि, पुष्प व्यवसायले केही चुनौतीहरू पनि सामना गरिरहेको छ । बीउ, बिरुवा तथा मदर प्लान्ट आयातमा नीतिगत जटिलता, कृषि कर्जाको अभाव, प्रविधिको सीमित पहुँच, बजार व्यवस्थापनको कमजोरी तथा प्लास्टिकजन्य फूलको अवैध आयातजस्ता समस्याले व्यवसायीलाई असर पारेको छ । पछिल्लो आर्थिक वर्षमा कुल कारोबार घट्नुले पनि यस क्षेत्र संवेदनशील अवस्थामा रहेको देखाउँछ ।
कोभिड–१९ महामारीले पुष्प व्यवसायलाई ठूलो धक्का दिएको थियो, किनकि विवाह, कार्यक्रम तथा पर्यटन क्षेत्र ठप्प हुँदा फूलको माग घटेको थियो । तर त्यसपछि व्यवसाय पुनः उकासिँदै गएको छ, जुन सकारात्मक संकेत हो । साथै, वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू पुष्प व्यवसायमा आकर्षित हुनु यस क्षेत्रका लागि नयाँ अवसर हो ।
नेपालमा पुष्प व्यवसायलाई अझ सुदृढ बनाउन सरकारी नीति, निजी क्षेत्रको लगानी र प्रविधिको समन्वय आवश्यक छ । पुष्प प्रवर्धन नीति कार्यान्वयन, अनुसन्धान तथा विकास, बीउ–बिजनको सहज आपूर्ति, निर्यात प्रवर्धन र कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सके यस क्षेत्रले ठूलो छलाङ मार्न सक्छ । साथै, आधुनिक खेती प्रविधि, ग्रीनहाउस प्रणाली, ड्रिप सिँचाइ र डिजिटल मार्केटिङको प्रयोगले उत्पादकत्व र बजार पहुँच बढाउन सकिन्छ ।
नेपालको जलवायु, जैविक विविधता, सांस्कृतिक प्रयोग र बढ्दो बजार मागलाई हेर्दा पुष्प व्यवसाय एक उदाउँदो आर्थिक क्षेत्रका रूपमा स्थापित हुन सक्ने स्पष्ट आधार देखिन्छ । उचित नीति, लगानी र व्यवस्थापन भएमा यसले रोजगारी सिर्जना, निर्यात वृद्धि र ग्रामीण विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै नेपालको अर्थतन्त्रको नयाँ मेरुदण्ड बन्ने क्षमता राख्दछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
भगवानको लीला अपरम्पार

भगवानको लीला अपरम्पार

अमरताको खोजी

अमरताको खोजी

जनताको आशाको बजेट

जनताको आशाको बजेट